शिक्षामा नयाँ युगको सुरुवात

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२६ असार २०७७, शुक्रबार
धावा साङ लामा

संसार परिवर्तनशील छ । विज्ञान तथा प्रविधिको तीब्र विकासले हरेक क्षेत्रमा नयाँ नयाँ ज्ञान तथा प्रविधिको विकास तथा विस्तार भईरहेका छन् । शिक्षाको इतिहास देखि वर्तमानसम्म आईपुग्दा शिक्षाको माध्यम, विधि, प्रविधि, पद्धतिमा पनि आमूल परिवर्तन भएका छन् । प्राचिन कालमा मानिसहरुले स्वतन्त्र रुपमा प्रकृति र व्यवहारबाट थर्नडाइकको प्रयत्न र भूलको सिद्धान्त जस्तै गरी सिकाइ गर्दै आएका थिए । प्रकृतिका घटना र परिघटनाहरुलाई नजिकबाट नियाल्दै सो अनुसार हुने परिवर्तन र त्यसको असरलाई विश्लेषण गर्दै र जीवनयापनको क्रममा आइपर्ने हरेक व्यावहारिक क्रियाकलापहरुलाई प्रयत्न गर्ने र सुधार गर्दै लैजाने क्रममा विभिन्न ज्ञान सीपहरु हासिल गरेका थिए । बिस्तारै पितृकुल, गुरुकुल, ऋषिकुल, गुम्बा, मदरसा आदिहरुबाट शिक्षा प्रदान गर्ने परिपाटीको विकास भयो ।

यसलाई अझ व्यवस्थित बनाउनको लागि औपचारिक रुपमा नै व्यवस्थित ढङ्गले शिक्षा प्रदान गर्ने विद्यालयहरु स्थापना भए । हालसम्म मुलभूत रुपमा यही प्रक्रियाबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आएकोमा अब भने शिक्षामा नयाँ युगको सुरुवात भएको छ । भनिन्छ हरेक घटनाले नयाँ पाठ सिकाउँछ । हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ अर्थात कोरोना भाइरसको कारण हरेक मानिसहरुको दैनिक जीवन लथालिङ्ग एवम् भताभुङ्ग भएको छ । अझ भविश्यमा के हुने भन्ने निश्चित मार्ग प्रशस्त भईसकेको छैन । यथास्थितिमा नै रहने हो भने शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द भएको अवस्थामा विद्यार्थीहरुको भविश्य झन् अन्धकारतर्फ उन्मुख भएको छ । त्यसैले समय र परिस्थिति बमोजिम देखापरेका चुनौतिहरुलाई अवसरमा बदल्नको लागि हाम्रा दुर्बल पक्षहरुलाई सुधार गर्दै सबल पक्षमा रुपान्तरण गर्न जरुरी देखिएको छ । शिक्षा प्रणालीलाई यथास्थितिबाट माथि उठाउन अब नयाँ युगको सुरुवात गर्नैपर्छ ।

सूचना प्रविधिको विकास तथा विस्तारको उपलव्धिलाई शिक्षामा पूर्ण रुपमा उपयोग गर्ने अवसरमा आएको छ । विद्यार्थीहरुले स्वतन्त्र रुपमा आफ्नो रुची, चाहना र आवश्यकता अनुसारका विषयवस्तुहरु सरल र सहज रुपमा सूचना प्रविधिको प्रयोग गरी हासिल गर्न सक्ने व्यवस्था गर्नुपर्दछ । पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तुहरुको आधारमा विभिन्न किसिमका शिक्षण सामग्रीहरु जस्तै : अडियो, भिडियो, स्लाइड, फिल्म, नाटक, पजल, खेल, प्रश्नोत्तर आदि निर्माण गरी आधिकारिक संयन्त्रबाट अनुमोदन गरेर निश्चित वेवसाइटहरु मार्फत विद्यार्थीहरुलाई निशुल्क उपलव्ध हुने व्यवस्था गर्न सकिन्छ ।

यसबाट वास्तविक विद्यार्थीहरुले संसारको जुनसुकै कुनामा बसेता पनि गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्न सक्नेछन् भने मेधावी विद्यार्थीहरुलाई ज्ञानको क्षेत्रमा व्यापक विस्तार गर्न मद्दत मिल्नेछ । उनीहरुलाई निश्चित परीक्षाद्वारा अपग्रेड गर्न आधिकारिक स्वचालित पद्धतिको विकास गर्नुपर्दछ। स्वेच्छिक रुपमा नयाँ नयाँ ज्ञान हासिल गर्न चाहना भएका व्यक्तिहरुले पनि यसबाट फाइदा लिन सक्नेछन् ।

सूचना प्रविधिको उपयोग गरी भर्चुअल कक्षा सञ्चालन गर्ने, अनलाइन कक्षाहरु सञ्चालन गर्ने तर्फ अहिले व्यापक रुपमा छलफल, वहस र विचारविमर्शहरु भईरहेका छन् । शिक्षासँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ, संस्थाहरु, शिक्षक महासङ्घ लगाएतका शिक्षकका पेसागत सङ्घ, सङ्गठनहरुले इन्टरनेटको माध्यमबाट जुम, गुगल मिट आदिको उपयोग गरी अनलाईन शिक्षा सम्बन्धी शिक्षकहरुलाई आधारभूत तालिम सञ्चालन गरिरहेका छन् ।

प्रारम्भिक चरणमा शिक्षकहरुलाई तालिमद्वारा दक्ष बनाई सो ज्ञान सीपलाई विद्यार्थीहरु माझ पु¥याउन पूर्व तयारी भईरहेका छन् । केही संस्थाहरुले त विद्यार्थीहरुको लागि पनि अनलाईन र भर्चुअल कक्षा पनि प्रारम्भ गरेका छन् । भर्चुअल कक्षा तथा अनलाइन कक्षाको लागि हाम्रो जस्तो विकासोन्मुख देशमा विविध समस्या रहेको भनी केही व्यक्तिहरुले यसको आलोचना समेत गर्न भ्याएका छन् । वास्तविक रुपमा कुनै पनि कुराको शत प्रतिशत प्रभाव हुँदैन भन्ने विश्वव्यापी मान्यतालाई स्वीकार गर्ने हो भने हामीले पनि हाम्रो देशमा यो सम्भव छ भन्न सकिन्छ । हुन सक्छ यसको लागि व्यापक तयारी र व्यवस्थापनको आवश्यक छ तथापि हामीले सुरुवात भने गर्नैपर्छ । नेपालमा विगतको दशक देखि सञ्चारको क्षेत्रमा व्यापक रुपमा विकास भएको हुनाले प्रायजसो युवापुस्ताहरुको हातमा एण्ड्रोइड मोबाइल फोन छ ।

नेपालमा डी टी एच प्रविधि भित्रिएसँगै डिस होम मार्फत टेलिभिजनको पहुँच पनि कुना काप्चासम्म पुग्न सम्भव भएको छ । भलै अहिले हाम्रो देशमा अधिकांशले इन्टरनेट र टेलिभिजनलाई सामाजिक सञ्जाल तथा मनोरञ्जनको क्षेत्रमा उपयोग भएको भएता पनि त्यसलाई नै योजनावद्ध रुपमा शिक्षण सहजीकरण प्रक्रियासँग जोड्नुपर्दछ । विद्यालयको लागि जस्तो ठुलठुलो भौतिक पूर्वाधारहरु बिना पनि टेलिभिजन वा अनलाईनको मार्फत विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न सकिन्छ । दार्चुलामा रहेका विद्यार्थीहरुले पनि काठमाडौं वा अन्य सहरहरुमा रहेका शिक्षकहरुबाट आवश्यक ज्ञान सीप हासिल गर्न सम्भव हुन्छ । सोलुमा रहेका शिक्षकले पोखराका विद्यार्थीहरुलाई अध्यापन गर्न सकिन्छ । विद्यार्थीहरुलाई पनि शिक्षा हासिल गर्ने विभिन्न विकल्पहरु उपलव्ध हुनेछन् । यसबाट केहीलाई लाग्न सक्छ त्यसो भए पछि धेरै शिक्षकहरुले पेसाबाट अवकाश लिनुपर्ने बाध्यता आइपर्ला नि ⁄ तर त्यस्तो हुँदैन ।

बदलिदो परिस्थितिमा शिक्षकहरुको भूमिका भने फरक फरक हुन सक्दछन् । शिक्षकहरु सहजकर्ताको अनुगमनकर्ता, मूल्याङ्कनकर्ता, समन्वयकर्ता, अनुसन्धानकर्ता आदिको रुपमा देशका विभिन्न स्थानहरुमा छरिएर आ–आफ्नो जिम्मेवारी पूरा गर्न सक्दछन् । त्यसकारण यो अवसर हो, शिक्षा प्रणालीमा नयाँ युगको सुरुवात गर्ने। सबैले समस्याको पहाडलाई मात्र दृष्टिगत नगरी पहाडको शिखरमा पुग्न सफल भए पछिको आनन्द र शिखरबाट वरिपरि अवलोकन गर्दाको स्वर्गीय आनन्द तर्फ पनि बिचारविमर्श गर्नुपर्ने देखिन्छ । आ–आफ्नो तर्फबाट मिहिनेत र प्रयासको थालनी र निरन्तरता दिने हो भने यो असम्भव पनि छैन ।

(लामा पाटन माध्यमिक विद्यालय पाटनढोका, ललितपुरका शिक्षक हुन् ।)

प्रतिकृया दिनुहोस्