कोरोना भाईरस : चुनौती एक, अवसर अनेक

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

सन्दर्भ :– समय छटपटी र उकुसमुकुसबाट गुज्रिरहेको छ । सामान्य बेलामा महिनौँ दिन बिदा हुँदा त्यसको प्रति मिनेट उपयोग गर्न अधिकाँश मान्छे जोडिन्थे । भ्रमण होस् वा भेटघाट बिदामा यहाँ वा त्यहाँ जाने योजना बन्थ्यो । घरमै हुनेले पनि रचनात्मक कामका योजना निर्माणमा समय बिताउँथे । हालको अवस्था त्यस्तो छैन । लगभग तीन महिना पहिले चीनको वुहान शहरबाट उब्जिएको कोरोना भाईरस (कोभिड–१९) ले यस अवधिमा दुई सय भन्दा बढी राष्ट्रमा आतंक  फैलाउन सफल भएको छ । झण्डै आधा लाख भन्दा माथिको सङ्ख्यामा यही भाईरसको कारणले ज्यान गुमाउने र दश लाख भन्दा माथि संक्रमित भएको तथा संक्रमितको पाँच प्रतिशत संख्या उच्च जोखिममा भएको तथ्याड्ढ बाहिर आएको छ । नेपाल पनि यो भाईरसको आतंकबाट मुक्त छैन । यद्यपी हालसम्म यसकै कारणले कसैको पनि जीवन गएको पुष्टि भएको छैन । यो हावाबाट सर्ने खासगरी फोक्सोमा प्रभाव पार्ने प्राणघातक भाईरस भनिएको छ ।

दुनियाँको सर्वाधिक चासो र गम्भीरता बनेको यो रोगको औषधि वा खोप आजसम्म बनेको छैन । सामान्य ज्वरो हुनु, खोकी लाग्नु, छाती दुख्नु जस्ता लक्षणबाट शुरु हुने र यो भाईरसबाट जोगिन घरमै बस्ने र सरसफाइमा ध्यान दिने, खासगरी हात साबुन पानीले मिचिमिची धुन र खोक्दा वा हाच्छिउँ गर्दा मुख नाकको सुरक्षाको लागि मास्क प्रयोग गर्नुपर्ने सुझाव स्वास्थ्य विज्ञहरूले गरेका छन् । देश लक डाउनको अवस्थामा छ । यस्तो अवस्थामा अधिकाँश कृषक तथा व्यवसायी वा व्यापारी त ब्यस्त नै छन् । उनीहरूलाई लक डाउनको सदुपयोगको हतार पनि छ । खासगरी शिक्षक, विद्यार्थी तथा कर्मचारी भने यो अवधिमा छटपटीमा गुज्रिरहेका छन् । अरुलाई आदेश दिन र सुझाव दिने काम नै सजिलो र चर्चा योग्य भएकोले हाल धेरैको सुझाव सल्लाह, अनलाईन मिडियामा पढ्न देख्न पाईन्छ । यो आलेख पनि ती नै सुझावको सेरोफेरोमा केन्द्रित रहेको छ ।

चुनौती :– कोरोना भाईरस नै हाल सर्वाधिक चुनौती बनेको छ । विश्वव्यापी महामारी बनेको यो रोगको उपचार छैन । मात्र प्रवेश नै रोक्ने सजगता र सतर्कता बाहिर प्रचारमा आएका छन् । बाह्य संसर्ग तथा अन्य व्यक्तिसँगको भेटघाटबाट टाढा रहन अर्थात् सोसल डिस्टेन्स कायम गर्नुपर्ने यो अवस्था गम्भीर चुनौती भन्नुपर्छ । यो शहर बजार मात्र हैन गाउँघर कुनै  पनि स्थानमा पुगेको छ । मानिसको सबै दिनचर्या तहसनहस भएको छ । अफिसहरू लक डाउनमा छन् । यातायात बन्द छ । अन्यन्त जरुरी वा बिरामीलाई मात्र उपलब्ध हुने सेवा भनिए पनि उनीहरूले थप पीडा सामना गर्नु परेको स्थिति छ । शिक्षण संस्थाहरू बन्द छन् । चैत्र ६ गतेबाट शुरु हुने एसईई ५ गते साँझ सबै तयारी गरी भोलिपल्ट कापी र प्रश्न मात्र दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना नभएसम्मका लागि स्थगित गर्न बाध्य भयो ।

त्यस्तै प्राविधिक शिक्षाको चलिरहेको परीक्षा पनि रोकियो । विश्व विद्यालयको स्नातक तहको र स्नातकोत्तर तहको परीक्षा कार्यक्रम सबै लथालिड्ड भयो । परीक्षा रोकिनु मात्र नभै यसले पारेको परीक्षार्थीहरूको मनोबैज्ञानिक प्रभाव गम्भीर चुनौती बनेको छ । विद्यालय तहको परीक्षा समाप्त भए तापनि आधा करोडभन्दा बढी विद्यार्थी नतिजा प्राप्तीको छटपटीमा दिन बिताईरहेका छन् । परीक्षा नै बाँकी भएका एकाध संस्थागत विद्यालय तर्फका विद्यार्थीको अवस्था झनै पीडादायी र उकुसमुकुस बनेको छ । सबै परीक्षाको अनिश्चितता रहेको यो अवस्थामा लक डाउन खुल्ने र उक्त परीक्षाहरू तत्कालै सञ्चालन हुने स्थिति नजिक छैन । त्यस्तै विद्यालयहरूमा यो शैक्षिक सत्रको विधिपूर्वक अन्त्य र अर्को प्रारम्भको योजना निर्माणको समय हो । तर सबै स्कूल तथा कलेजहरू बन्द छन् । शैक्षिक गतिविधि लगभग ठप्प छ । भर्ना अभियान लगायत आगामी शैक्षिक सत्रका योजना निर्माणका कार्यक्रम स्थगित भएका छन् । यसरी समग्र शैक्षिक क्षेत्र तहसनहस नै बनिरहेको स्थिति छ । कर्मचारी वर्गको सेवामूलक कामहरू सबै रोकिएका छन् । घरमा बसेर समय कटाउन सकस भएको देखिन्छ । एक दुई दिन हैन, कति पर्न सक्छ, सबै अन्यौलमा छन् । उद्योग कलकारखाना प्रायः बन्द छन् । उत्पादन शून्य छ ।

आयात गरिएका सामाग्रीले कहिलेसम्म धान्ने हो, निश्चित छैन । बजारमा मौका छोप्ने तस्कर तथा कालाबजारीहरू विभिन्न रुप र समूहमा देखा परिरहेका छन् । नागरिक समाजको शोषण अत्यधिक गरिएको छ । सरकार स्वयंमा कोरोना भाईरसबाट स्वाभाविक आतंकभित्र जकडिएको छ । लक डाउनको निर्णय बाहेक सरकारी उपस्थिति देखाउन सरकारलाई हम्मे परेको बुझिन्छ । उराठलाग्दो दृश्यबीच जनताका त्रसित र भयपूर्ण मनोभाव छरपस्ट भैरहेका छन् । यी अवस्था नेपालमा मात्र नभई विश्वव्यापी बनेको र मात्रात्मक रुपमा कतै घटी वा बढी देखिएको पाईन्छ । नेपालकै हकमा कोरोना भाईरसकै कारणले आजसम्म कसैको मृत्यु भएको पुष्टि भएको छैन । संक्रमित संख्यासमेत अत्यन्त न्यून ६ जना मात्र भनिएकोले थोरै भए पनि राहत मिलेको छ । कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, विकास निर्माण जस्ता सबै क्षेत्र प्रभावित भएकोले आर्थिक मन्दीको ठूलो आशंका गरिनुलाई अन्यथा भन्न सकिँदैन ।

अवसर :– हरेक सिक्काको दुई पाटा भने जस्तै यो विश्वव्यापी महामारी कोरोना भाईरस (कोभिड–१९) को कारणले अनेक सम्भावनाका अवसरहरू जन्मिएका छन् । प्रत्येक समस्याले नयाँ अवसरको जन्म दिने तथ्य यहाँ पनि लागू भएको छ । चुनौतीसँगै उत्पन्न अवसरको समुचित व्यवस्थापनले आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वाश गर्न सकिन्छ । जसरी नेपालमा २०७२ साल बैशाख १२ गतेको भूकम्पले उत्पन्न डरलाग्दो चुनौतीसँगै पुनर्निर्माणको अवसर प्रदान गरेकोलाई स्मरणीय मान्न सकिन्छ । त्यस्तै कोरोना भाईरसको कारणले उत्पन्न समस्याहरूसँगै विभिन्न कोणहरूबाट अनेक अवसरको व्याख्या र प्रस्पूmटन भैरहेको वर्तमान अवस्थामा ती सकारात्मक पक्षलाई विकासमा रुपान्तरण गर्ने महत्वपूर्ण अनुकूलतामा ग्रहण गरेर नयाँ उपलब्धिहरू हासिल गर्न हामी सक्षम हुने अपेक्षा राख्दछौँ ।

१) व्यक्तिगत स्वास्थ्यको सावधानी :– आजसम्म भए गरेका सावधानीभन्दा भिन्न र महत्वपूर्ण सजगता तथा सावधानी यही कोरोना भाईरसकै कारणले बढिरहेको छ । जथाभावी विना काम हिँड्ने, जे जस्तो अवस्थामा पनि खाने पिउने र जुनसुकै स्थितिका सामग्री प्रयोग गर्ने हाम्रा नराम्रा बानीहरूलाई रुपान्तरणको अवसर प्रदान भएको छ । कम्तिमा साबुन पानीले हात धुन सिकाएको छ । जतिखेर पनि हात मिलाउने, अँगालो हाल्ने तथा टाँसिएर बस्ने जस्ता क्रियाकलापबाट टाढा राखी सामाजिक दूरीसहितको मर्यादित र अनुशासित बन्न यसैले सिकाएको छ । जीवन नै नभए सम्पत्ति तथा मित्रहरूको सरोकार रहँदैन । व्यक्तिगत सरसफाइबाट कोरोना भाईरस मात्र नभई अन्य विषालु भाईरसहरू र ब्याक्टेरियाबाट मानिसले आतंकित बन्न पर्दैन । व्यक्तिगत स्वास्थ्यको सरसफाइ, खानपिन, उठ्बस, हिँडडु्ल तथा अन्य मानवीय क्रियाकलापले मान्छेको दिनचर्यामा व्यापक सुधार हुने निश्चित छ । यसले गर्दा स्वस्थ व्यक्ति, स्वस्थ समाज अनि स्वस्थ राष्ट्र निर्माणको ढोका खुलेको छ । स्वास्थ्य नै सर्वोत्तम सम्पत्ति हो । यसको हेलचेक्र्याईँ गर्नु हुन्न भन्ने तथ्य उजागर भएको छ । भविष्यमा स्वस्थ नागरिकको भिन्न पहिचानसहितको विश्वव्यापी अभियान साकार बन्ने अपेक्षा गर्न सकिन्छ ।

२) प्रविधिको पहुँच र हस्तक्षेपमा बृद्धि :– एक्लै बसेर घरका कोठाभित्रबाट पढ्ने, सिक्ने, सिकाउने, अफिसको कामकाज गर्ने, परीक्षाको तयारी गर्ने, खेलहरू खेल्ने जस्ता कामहरू प्रविधिको प्रयोगबाट व्यापक बृद्धि भएको हालको अवस्थालाई अर्को महत्वपूर्ण अवसर भन्नै पर्दछ । कम्प्युटर, ल्यापटप तथा मोबाईल फोनको प्रयोग र पहुँचमा व्यापक बृद्धि भएको छ । मल्टिमिडियाको प्रयोग, स्काइपका संवाद तथा जुम क्लाउड कन्फरेन्स लगायतका विभिन्न विधिबाट अनलाईन शिक्षण, मिटिड्डसमेतका कामहरूलाई उच्च प्रविधिको विकासले थप सरलता प्रदान गरेको छ । व्यक्तिदेखि समूह हुँदै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्मका सरकारी तथा गैर सरकारी कामकाजहरूमा प्रविधिको बढ्दो हस्तक्षेप तथा अत्याधुनिक शैली विगतमा कहिल्यै नपुगेको उचाइमा बढिरहेको छ । यो प्रकृतिको प्रविधिको पहुँच र हस्तक्षेपले भविष्यमा भिन्न महत्व राख्ने तथ्य स्पष्ट छ । शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य लगायत सरकारी तथा गैर सरकारी अफिसियल एवं प्रशासनिक कामहरू जुन सम्पादन गर्नै पर्ने अवस्थाकालाई यी प्राविधिक संयन्त्रबाट सहजतापूर्वक सम्पन्न गरिँदैछन् । शारीरिक श्रमबाहेकका प्रविधिको माध्यमबाट सम्भव भएसम्मका सबै क्रियाकलापमा भएको हस्तक्षेपबाट यस युगको प्रतिनिधित्व भएको छ । तसर्थ प्रविधिको पहुँच र हस्तक्षेप घर–घरमा, गाउँगाउँमा तथा दुनियाँको प्रत्येक कुनामा विस्तार हुनुलाई महत्वपूर्ण अवसरको रुपमा लिनु पर्दछ ।

३) स्वच्छ वातावरणसहितको पृथ्वी :– यो अर्को उपलब्धिमूलक अवसर बनेको छ । लक डाउनले सडक प्रायः शून्य छन् । धूलो, धुवाँ देखिन्न । पेट्रोलियम पदार्थको अनावश्यक र डरलाग्दो उपयोगले वातावरणमा पारेको नकारात्मकता तथा प्रदूषणयुक्त पृथ्वीको अनुहार बदलिएको देखिन्छ । शहर बजारको कोलाहल, धूलो, धूवाँ तथा आवाज लगायतबाट उत्पन्न प्रदुषण न्यून हुनु भनेको समग्र वातावरण स्वच्छ र सफा हुनु हो । आकाश सफा छ । प्रदूषणको मात्रा घटिसकेको छ । जीवजन्तु तथा पशुपन्छी धर्तीको रमणीयतामा विचरण हुन लागेका छन् । यो कोरोना भाईरसको महामारीबाट उत्पन्न वातावरणीय अवस्था हो । यसले मानव जाती मात्र नभई समग्र प्राणी जगतको स्वच्छ हावामा बाँच्ने अधिकारको थप सुनिश्चितता गरेको छ । स्वच्छ पृथ्वी स्वयंमा दीर्घजीविको आधार हो । स्वच्छता र प्रदूषणरहित वातावरणको कारणले रोगव्याधहरू कमी भई सबै प्राणीहरू लामो अवधिसम्म बाँच्न सक्छन् । यो महत्वपूर्ण अवसरलाई हामीले भूल्न सक्दैनौँ ।

४) खोज, आविष्कार तथा अनुसन्धानमा नयाँ पहल :– समस्याले समाधान सँगै जन्माउँछ भन्ने हामीले सुनेकै हो । पृथ्वीमा मानव जाती लगायत सम्पूर्ण प्राणी जगतमा सम्भाव्य रोग, खतरा तथा समस्या, आदि बारे समाधान गर्न थप नयाँ खोज, आविष्कार तथा अनुसन्धान जरुरी पर्दछ । हाल कोरोना भाईरसबाट सृजित समस्या समाधानको लागि धेरै जना यस तर्फ आकर्षित भएका छन् । यथास्थितिमा रमाउने हैन, नितान्त नौलो, अनौठा तथ्यहरू पहिल्याउने, आविष्कार गर्ने, सम्भाव्य हमला, आक्रमण रोक्ने र डरलाग्दा रोगहरूको उपचार गर्ने वैज्ञानिक स्वभावलाई यो भाईरसले मार्ग प्रशस्त गरेको छ । विज्ञान र प्रविधिको क्षेत्रमा, अनुसन्धान र आविष्कारको क्षेत्रमा, विभिन्न विषयगत वैज्ञानिक, चिकित्सक तथा विज्ञ व्यक्तिहरूको गम्भीर ध्यानाकर्षण गराउन यही कोरोनाले हाल अहं भूमिका खेलिरहेको छ । अत्याधुनिक वस्तुहरूको आविष्कार गर्न यो सुनौलो अवसर बन्न सक्छ । मान्छेले नयाँ चिन्तन, नयाँ सोच, नयाँ जाँगर देखाउने यो थप मौका हो । देश र दुनियाँकै बारेमा विगतमा कल्पनासम्म नगरिएको प्रविधि यस युगले पृथ्वीलाई हस्तान्तरण गर्न सक्ने स्थिति पैदा हुनुमा यस्तै महामारी र प्राकृतिक प्रकोपका संकटहरू कारक बन्न सक्छन् ।

५) अर्थ व्यवस्थाको नौलो संरचना निर्माण :– प्राकृतिक र गैर प्राकृतिक साधनस्रोतको उपयोगबाट समग्र अर्थ व्यवस्थामा भिन्न संरचना निर्माण गर्नुपर्ने अवस्थालाई अर्थविद्हरूले स्वीकार्दै आएका छन्

। विश्व नै लक डाउनको स्थितिले विद्यमान अर्थ व्यवस्थामा पारेको नकारात्मक असरले व्यापक आर्थिक मन्दीको त्रासमा रहेका अर्थविद्हरू सम्भाव्य आर्थिक दूरावस्थाको आतंक र भयलाई हल गर्न नयाँ सोच र नयाँ शैलीमा अर्थ व्यवस्थाको भिन्न संरचना खोजिरहेका छन् । यस पृथ्वीमा भएका तमाम प्राकृतिक स्रोत र ऊर्जा तथा साधनहरूको उपयोग अत्याधुनिक प्रविधिमार्फत् चमत्कारपूर्ण शैलीमा रुपान्तरित हुने अपेक्षा गर्न सकिन्छ । कृषि तथा औद्योगिक वस्तुको उत्पादनमा बृद्धि गर्न नयाँ उपाय खोज्न जरुरी भएको छ । वस्तु र सेवाको उत्पादन र वितरणलाई व्यवस्थित र समयानुकूल बनाई सबै खाले अभावको अन्त्य गर्न वैज्ञानिक विधि खोज्नै पर्दछ । अर्थविद्हरू वर्तमान संकटबाट सृजित आर्थिक मन्दीलाई नयाँ ढड्डले हल गरी थप उपलब्धि प्रदानको लागि विशेष आर्थिक संरचना निर्माणमा व्यस्त भई सक्नुलाई अर्को महत्वपूर्ण अवसर मान्न सकिन्छ ।

अन्त्यमा, उल्लेखित धारणा तथा विचारहरू मात्रले विद्यमान कोरोना भाईरस (कोभिड–१९) बाट उत्पन्न समस्या र अवसरहरूलाई समेट्न सम्भव छैन । यो त विषय उठान मात्र गरिएको हो । समस्या भयावह हुन सक्छ । संकटहरू अझै गहिरिन सक्छ । दुनियाँको लागि दोश्रो विश्वयुद्धपछि हालसम्मकै सबैभन्दा डरलाग्दो नरसंहारको सम्भावना बोकेको यो भाईरसप्रति विश्व स्वास्थ्य संगठनको गम्भीर चिन्ताले कहालीलाग्दो चुनौती स्वीकार गर्नै पर्दछ । यस चुनौतीसँगसँगै उब्जिएका अनेक अवसरलाई नजर अन्दाज गर्न मिल्दैन ।

सामाजिक सद्भावसहितको विपद् कालमा मानवीय सहयोगका हातहरू बढिरहेका छन् । विभिन्न पेशा, जातजाती, धर्म, भाषा, भूगोलका सबै मानव जाती आज एकै स्थानबाट कोरोना भाईरस विरुद्ध लडिरहेको अवस्थाले संसार एउटै घर र दुनियाँका सबै मान्छ एउटै परिवारका सदस्यहरूमा रुपान्तरण हुनु पनि अर्को महत्वपूर्ण मान्नु पर्दछ । प्रत्येक समस्यासँग सामना गर्नु पर्दा मानवीय एकता जरुरी पर्ने सत्य जग जाहेर छ । भोलिको सिड्डो पृथ्वीको अलग पहिचान र व्यापक सम्भाव्यता यो संकटले उजागर गरेको छ । हाम्रो राष्ट्रको मात्र सवाल होईन, यो विश्वकै चासो र गम्भीरता बनेको विषयले अकल्पनीय तथ्यहरू सतहमा छरपस्ट बनाएको छ । मानवीय मूल्य मान्यता, नैतिकता, सहयोग सद्भावको अभाव भैरहेको वर्तमानमा यही कोरोना भाईरसकै कारणले उक्त अभावहरूको अन्त्य गर्दै घमण्ड, भ्रष्टता अनि शासकीय दम्भले उन्मत्त बन्दै गरेकालाई सही मार्गमा ल्याउन यो अवस्था सक्षम बन्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्