कथा: दिदी बहिनीको सपना

Avatar photo

Byएजुकेशन पाटी

२ असार २०७७, मंगलवार

२०७५ सालको जेठ महिनाको सुरुवातको दिनमा १२ वर्षका दुई जुम्ल्याहा बालिका प्रेशा ढकाल र प्रेमा ढकाल काठमाडौंमा रहेको आफ्नो विद्यालयको पढाइ सकाएर घरतिर फर्कदै थिए । उनीहरुको अनुहारमा चमक थियो । जिज्ञासा पनि त्यत्तिकै । प्रेमा तिमीलाई थाह छ अव त नेपाल छिटै विकास हुन्छ रे । यहाँ कलकारखाना, उद्योगधन्दा पनि खोल्छन् रे । गाउँ र शहरको विकास पनि हुन्छ रे । पढ्न र जागिरको लागि पनि कोही पनि विदेशीनु पर्दैन रे नि । गाउँ, प्रदेश र संघीय गरी सरकार पनि तीनवटा हुन्छन् रे । प्रत्येक प्रदेशमा सुविधा सम्पन्न अस्पताल, विश्वविद्यालय पनि खुल्छन् रे । पढ्न र उपचारको लागि भनेर शहर छिर्ने दिनका पनि अन्त्य हुन्छ रे ।

“ए तिमीले कसरी थाह पायौ यतिका धेरै कुराहरु,” प्रेमाले सोधिन् ।

आज हाम्रो कक्षामा हामीलाई सामाजिक पढाउने गुरु आमाले बताउनु भएको नि । ए अरु के के बताउनु भयो त ? उहाँले भन्नु भएको हाम्रो देश धनी भएर पनि गरीब छ रे । किन नि ? हाम्रो देशमा हावा, पानी, माटो यहा“को जातजाती, भेषभूषा, प्रकृति, खनिज, बालीनाली, फलफूल आदिको कारणले गर्दा देश नेपाल भरिपूर्ण छ रे तर पनि यी प्राकृतिक सम्पदाको उचित प्रयोग हुन सकेको छैन रे । यतिका कुराहरु हुँदा पनि किन हाम्रो देशलाई गरीब भनेको रहेछ त ?

थाह छैन तिमीलाई हाम्रो देशमा पक्कि सडक, पुल, विश्वविद्यालय, अस्पताल, विद्यालय शिक्षा, आधुनिक सामग्रीको प्रयोग आदिको समुचित प्रयोग छैन रे । प्रति व्यक्ति आय पनि कम छ रे ।

ए अनि त्यो प्रतिव्यक्ति आय भनेको के हो नि ?

एक जना व्यक्तिले वर्षभरिमा कति आम्दानी गर्न सक्छ भनेको ?

अनि हाम्रो देश नेपाल कसरी विकास हुन्छ नि ?

गुरु आमाले भन्नु भएको गाउँ–गाउँमा सिंहदरवार पुग्छ नि त ?

के हो सिंहदरवार भनेको ?

ए थाह छैन तिमीलाई । सुन : नेपाल सरकार सिंहदरवार भित्र बसेर काम गर्छ । सानो कामको लागि पनि सर्वसाधरणलाई सिंहदरवारसम्म पुग्नु पर्ने थियो । सिंहदरवारसम्म पुग्नको लागि सवैको पहुँच हुँदैन । अब त सिंहदरवारको काम त गाउँ वा नगरको वडाबाट नै सञ्चालन हुन्छ रे त । राजाको ठाउँमा राष्ट्रपति, देशको कार्यकारी शक्ति प्रधानमन्त्रीको हातमा हुँदोरहेछ । कति धेरै परिवर्तन भएको रहेछ हगि । हो त नि ।

देशमा त ठूलो परिवर्तन भएको रहेछ नि त ।

हो नि । आन्दोलन अग्रजले गरिदिए । अव त हामीलाई कुनै कठिनाई पर्दैन होला है ।

होला । राम्रै कुरा सौचौ न । अव्दुल कलामले भनेका छन सानो सपना देख्नु त अपराध हो । मानिस महत्वकांक्षी हुनुपर्छ । कमजोर उद्देश्य राख्नु मानिसको भविष्य सुन्दर हुन सक्दैन ।

को कलाम ? भारतका भू.पू. राष्ट्रपति ? हो कति सरल र लगनशील रहेछन् है ?

यसरी नै दुई दिदी बहिनी आफ्नो विद्यालयसम्म कहिले हिडेर कहिले सार्वजनिक गाडीमा पुग्ने गर्दथे ।

एक दिनको कुरो हो दुई दिदी बहिनी विद्यालयतर्फ जाँदै थिए पौने दश बजिसकेको थियो, विद्यालयको लागि समय ढिलो भइसकेको थियो । हतारिदै घरबाट सडकमा निस्किए । तर सडक त पुरा खाली गरिएको रहेछ । कसैलाई पनि सडकमा जान दिइएको रहेनछ । हतारिदै ट्राफिक प्रहरी भएको ठाउँमा गएर सोधे–किन अंकल गाडी सडकमा नभएको ?

सवारी छ, ट्राफिक प्रहरीले जवाफ दिए । कसको ? राष्ट्रपतिको । हाम्रो गुरु आमाले त भन्नुभएको थियो : अब ठूलो सानो कोही हुँदैन सवै समान । यति भनेर ट्राफिक आफ्नो ड्युटीमा लागे । १०ः१५ मा ट्राफिक मोटर साइकल, सुरक्षामा खटिएका गाडीहरु राष्ट्रपतिको गाडी पछि मात्र राष्ट्रपतिको सवारी भयो । त्यस गाडी पछि पनि सुरक्षाको गाडी । राष्ट्रपतिको सवारी पछि मात्र वाटो खुल्यो तर के गर्ने । उनीहरुको विद्यालय पुग्ने समय ढिला भइसकेको थियो ।

उनीहरु दोधारमा परे । ठीक त्यही समयमा सार्वजनिक गाडी आइपुग्यो । बस चढे तर पनि मनमा शान्ति थिएन । विद्यालयमा पुग्दा त धेरैलाई स्पष्टीकरण दिनुपर्ने हुन्छ । १५ मिनेटमा बस उनीहरुको विद्यालय नजिकको स्टेशनमा पुगेर रोकियो । विद्यालय पुग्दा आधा घण्टा ढिलो भइसकेकोले विद्यालय सुरक्षा गार्डले भित्र छिर्न दिनुभएन । धेरै अनुरोध गरे । अन्तमा उहाँले विद्यालय प्रधानाध्यापकलाई जानकारी गराउनुभयो ।

प्रधानाध्यापक आफै प्रवेशद्वारसम्म आएर उनीहरुको ढिलाको कारण वुझेपछि राष्ट्रपतिको कारणले उनीहरको ढिला भएको यकिन गरेपछि मात्र कक्षमा जाने अनुमति दिनुभयो । उनीहरु हतारिदै आ आफ्नो कक्षाको ढोकामा पुगे र कक्षा शिक्षकसँग भित्रको पस्नको लागि अनुमति मागे । आधा घण्टा ढिलो गरी आउने विद्यार्थीलाई सहजै कक्षामा राख्नको लागि शिक्षकको जागिरको लागि त्यति सहज थिएन । यथार्थ बुझिसकेपछि शिक्षकले भित्र जानको लागि अनुमति दिनुभयो । बल्ल तल्ल कक्षामा पस्ने अनुमति पाएपछि दुवैले लामो सास ताने ।

त्यसदिन पनि प्रेशाको सामाजिक शिक्षाको कक्षामा गुरु आमाले राष्ट्रपति र राजाको बारेमा बताउँदै हुनुहन्थ्यो । उहाँले भन्नुभयो, नेपालमा अन्तिम राजालाई नेपालको तत्कालीन संविधान अनुसार राजा आलाङ्कारी थिए, त्यसको अर्थ संवैधानिक । उनी खोपिका देवता जस्तै हुन । देशको कार्यकारी शक्ति प्रधानमन्त्रीको साथमा थियो । प्रधानमन्त्रीले नै देशको सवै काम गर्थे ।

पहिलाका राजा र अहिलेका राष्ट्रपति उस्तै उस्तै हुन् । फरक त्यति हो कि राजा हुनको लागि राजाको जेठो छोरा हुनुपथ्र्यो र राजा भइसकेपछि उनको देहान्त नभएसम्म राजा नै हुन्थे तर राष्ट्रपति ५ वर्षको लागि मात्र चुनिन्छ र जो कोही पनि नेपाली नागरिक राष्ट्रपति बन्न सक्छ । तिमीहरुलाई थाह छ तिमीहरु ठूलो भएपछि उमेर पुगेपछि राष्ट्रपति बन्न सक्छौ नि त । तर त्यसको लागि तिमीहरुले राजनिति वुझ्नुपर्छ ।त्यसैले त संविधानमा लेखेको छ कानूनको दृष्टीमा सवै नेपाली नागरिक समान छन् । तर यो कुरो भने प्रेशालाई चित्त बुझेन । उनी बेञ्चबाट उठेर सोधिन्, गुरुआमा सवै समान भन्नुहुन्छ तर राष्ट्रपतिको सवारीको कारणले आज म र मेरो वहिनी विद्यालययमा समयमा आउन सकेनौं । समान भएको भए त हामी हिड्ने बाटो नै रोकेपछि त कसरी समान भयो त ।

गुरु आमालाई बुझाउन जटील भयो । के भन्ने । समान हुँदैन नि भन्न नमिल्ने तर समान छ भन्दा पनि बालबालिकालाई बुझाउनै गाह्रो । गुरु आमाले भन्नुभयो, सुरक्षाको कारणले गर्दा हो नि । देशको सर्वोच्च पदमा रहने मानिसलाई जहाँतहीँ विशेष सुरक्षा व्यवस्था गरेको हुन्छ नि । तर पनि यी कुराले उनको चित्त बुझेन । दिनभरीको पढाइ सकेपछि दुई दिदी बहिनी घर फर्कदै गर्दा प्रेशाले आज भने सामाजिक अध्यापन गराउने गुरु आमाले भनेको कुरामा चित्त बुझाउन सकिनन् । हेर न प्रेमा म आज खुशी हुनै सकिन् । भन्ने बेलामा समानता रे । राष्ट्रपति भने त्यतिका सुरक्षा घेराभित्र हिड्ने, सर्वसाधरणको लागि त बाटोमा समेत हिड्न नपाइने । कस्तो समानता हो । तिमीले केही बुझेकी छौ र, प्रेमा ? छैन । समानता भनेको त बराबर नै हो । तर के बराबर भनेको होला है ?

खै बुझ्नै गाह्रो । मैले सुनेको मानिसको ज्यालामा पनि त्यतिकै असमनता छ । सवै मानिसलाई वाच्नको लागि करिव–करिव उत्तिकै सामग्री चाहिएको हुन्छ खान, बस्न र लगाउनको लागि । पद पो ठूलो हुन पर्ने हो नि ज्यालामाा नि असमनता । म त अलमलमा परे नि ।
हो त नि । राजनिति त बुझ्न नि गाह्रो पो रहेछ, हगि ?

यत्तिकैमा उनीहरु घरमा पुग्छन्, कपडा फेर्छन् र आफ्नो गृहकार्यमा व्यस्त रहन्छन् । फेरि एक दिन बिहान खाना खाइसकेपछि विद्यालय हिडेर जाँदै थिए, दुई चारवटा सुरक्षा गाडीको बिचमा एक वटा गाडी देखे । सुरक्षामा खटिएकाहरु निकै सर्तक भइरहेका थिए । को छ त्यो गाडीमा किन यतिका सुरक्षाको बिचमा त्यो एक गाडी ? प्रेमाले सडकमा रहेका ट्राफिकलाई सोधिन् । दलको नेता, भूतपूर्व प्रधानमन्त्री ।
अहिले नि ? सांसद ।

के सवै सांसदले त्यस्तै सुविधा पाउछन् त ?

अँह ।

त्यसो भए समानता कहाँ छ त? के समानता हात्तीको दाँत जस्तै हो त ?

मलाई पनि त्यस्तै लाग्छ ।

समय बित्दै जान्छ । यी दुई दिदी बहिनीका जिज्ञासाहरु पनि बढ्दै जान्छ । एक दिन प्रेमा र प्रेशा हिँडेर घर फर्कदै थिए । त्यस दिन पनि सेतो मोटरसाइकलमा ट्राफिक, त्यसपछि गाडीमा सुरक्षाकर्मीको गाडी, चिल्लो गाडी, त्यसपछि सुरक्षाको गाडी देखेर को रहेछ यसरी गाडीमा सयर गर्ने भनेर सडकमा ड्युटीमा रहेका ट्राफिकलाई सोधे– अ“कल भर्खर सुरक्षाको बिचमा कसको गाडी थियो ।

प्रधानमन्त्रीको ।

खोइ मैले त बुझ्नै सकिन । हाम्रो विद्यालयको प्रधानाध्यापक दिनदिनै हिडेर आएको देख्छु, सुरक्षा पनि छैन, गाडी पनि छैन । के भनेको रहेछ त्यो समनता भनेर । प्रेमाले सोधिन् ।

प्रेमा भन्छिन्– यो त बाहिरको कुरो । हिजो मात्र मैले सुनेका हाम्रो प्रधानाध्यापकको महिनाको तलब ५६ हजार ८५४ छरे तर बाल शिक्षक हुनुहुन्छ नि उहा“को त जम्मा ६ हजार मात्र हो रे नि त । त्यस्तै गरी मैले सुनेको छु कि राष्ट्रपतिको मासिक तलव १ लाख ५० हजार भन्दा बढी छ तर त्यही राष्ट्रपति भवनमा काम गर्ने कुचिकारको मासिक तलव २० हजार भन्दा कम छ ।

राष्ट्रपतिको र कुचिकारको घरको सदस्यता करिव करिव वरावरै हुने गर्छ । राष्ट्रपतिको लागि अन्य भत्ता पनि हुने गर्छ । हाम्रो देश नेपाल गणतान्त्रिक देश भइसकेको अवस्थामा यो यति ठूलो असमनता किन ? पद आफैमा सन्माननीय छ तर ज्यालामा यति धेरै असमनता भएपछि कसरी नेपालले समनताको व्याख्या गर्न सक्छ ? के संविधानमा लेखिएको समानता सर्वसाधरणलाई भ्रममा पार्नको लागि मात्र राखिएको होत ?

यी दुई दिदी बहिनी माथि प्रश्न माथि प्रश्न बढ्न थाले तर यी प्रश्नको चित्त बुझ्दो जवाफ दिने कोही भएन । एक दिनको कुरो हो दुवै दिदी बहिनी पुस्ताकालयमा समाचार पढ्दै थिए । अर्बौंका भ्रष्टाचार अर्को पेजमा करोडौंको भ्रष्टाचार । अनि यति ठूलो रकमको भ्रष्टाचार । यो भ्रष्टचार भनेको के रहेछ ? मलाई त थाह छैन । प्रेमाले भनिन् ।

अँ, यहाँ त नेपाली शव्दकोष छ होला नि । उ त्यहाँ रहेछ नि । म लियर आउँछु ।

दुवै मिलेर शव्दको अर्थ हेर्छन् र उनीहरुलाई धिक्कार लाग्छ जव भ्रष्टाचारको अर्थ– पतित् आचरण, दूषित मर्यादा वा कुनै काम गरेवापत कानून विरुद्ध लिइने रकम । उनीहरु सम्झन्छन् । को रहेछ त त्यस्तो भ्रष्टाचारी ? यसो सम्झन्छन् त्यो भ्रष्टाचार गर्ने त उनीहरुको बाबा आमाले भोट दिएर जिताएको सांसद, मन्त्री भएका रहेछन् । उनैको नाम पो रहेछ त पत्रिकामा ।

उनीहरु दुवै जना सँगसँगै गएर सामाजिक पढाउने गुरआमासँग सोध्न थाले –गुरु आमा भ्रष्टाचारलाई कसरी हटाउन सकिन्छ र यसको कानूनी उपचार के होला ?

तिमीहरुले सुनेका छौ– नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । यदि अख्तियार दुरुपयोग अनुसन्धान आयागको प्रमुख आयुक्त चरित्रवान र इमान्दार भएमा दोषी माथि कारवाहीको लागि अदालतमा सप्रमाण मुद्दा दायर हुन्छ । मुद्दाको छिनोफानो अदालतले गर्ने गर्छ ।

सर्वोच्च अदालतको प्रधान न्यायाधीश, न्यायाधीशको भूमिका महत्वपूर्ण हुन्छ । सरकारको कार्यकारी प्रमुख, प्रधानमन्त्री, सर्वोच्च अदालत जसको निर्णय अन्तिम हुन्छ जसले गलत व्यक्तिलाई सजाय दिलाउन सक्छन् उसलाई प्रधानन्यायधिश भनिन्छ । संसदहलमा सभामुख । यी तीन व्यक्तिको भूमिका गहन हुन्छ । यति सुनिसकेपछि प्रेमा र प्रेशा गुरुआमालाई धन्यवाद दिदै कक्षा कोठामा पुग्छन् ।

त्यसै दिन कक्षाबाट निस्कदै गर्दा प्रेमा भन्छिन, “म त भविष्यमा प्रधानन्यायधिश वन्ने निर्णयमा पुगे ।” किन नि ? प्रेशाले सोधिन् ?

किन हुनु नि, भ्रष्टचारी र अपराधिलाई कारवाही गरी सवै नेपाल नागरिकलाई समान हैसियतमा बाच्न पाउने, कमाउन पाउने र रमाउन पाउने अधिकारको नेपालको संविधानमा लेखिएका सवै हकको सही अर्थमा व्याख्या गरी सवैलाई न्याय दिलाउनको लागि ।

कति सुन्दर विचार र लक्ष्य लियौ त तिमीले । तिम्रा ती चाहना सवै नेपालीका हुन् ।

अब तिमी भविष्यमा के हुने विचार गरेकी छौ त, प्रेशा ।

के हुनु नि । म त प्रधानमन्त्री हुने हो ।

किन नि ?

देशको प्रधानमन्त्री मात्र असल हुने हो भने धेरै कुरा गर्न सकिन्छ जस्तो लाग्यो । हामीले प्रधानमन्त्री र राष्ट्रपतिको कारणले कति दिनसम्म स्पष्टीकरण दिनुपर्यो । धन्न हाम्रो प्रधानाध्यापकले हामीमाथि विश्वास गरेर त हो नि विद्यालयमा ढिलो पुग्दा नि कक्षामा पढ्नको लागि अनुमति पाएको । म प्रधानमन्त्री भएमा शान्ति सुरक्षा कायम गराउने छु, भूपू प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति सवैलाई नेपाली नागरिकको हैसियतमा राख्ने छु, एक जना व्यक्तिको सुरक्षामा गरिएको खर्च कटाई समाज र देशको सुरक्षामा लगानी गर्ने छु ।

अहिले देखिएको नेतामुखी, सरकार मुखि आचरणको अन्त्य गरी कर्ममुखी नागरिक वनाउनको लागि । त्यति मात्र हो र म त पूर्व कर्मचारी, सेना प्रहरी, कर्मचारी, संसद, मन्त्री, प्रधानमन्त्री आदिले भ्रष्टाचार गरेर अकुत सम्पति कमाएका छन् भन्ने दिनानुदिन पढेका छौ नी । तीनको छानविन गरेर सवै कर्मचारी, राजनितिज्ञ चोर हुन, वदमास छन् भन्ने आरोपबाट मुक्ति दिलाउनको लागि र उनीहरुले थुपारेको अकुत सम्पति राष्टी«यकरण गरी नेपालको मुहार फेर्नको लागि पनि हो नि ।

अहिले देखिएको युवाहरुको कमाइ र पढाइको लागि बिदेसिने वातावरणबाट मुक्त पारी नेपालमा नै अध्ययन र कमाइको मार्ग खोलिने छ बरु विदेशीहरु नेपालका विश्वविद्यालयमा पढी यही रोजगारीको केन्द्रविन्दु बनाउने बाटो समेत खोज्ने छु । तिमीलाई थाह नै छ नि कति नेपाली लाखौ खर्चन्छन् विदेशको लागि, भएको सम्पति पनि सक्छन् र अलपत्र पनि परेका छन्, अन्त्यमा न काम न शिक्षा नै ।

अर्को कुरा यहाँका प्रकृति, सम्पदा, संस्कृति, जातजातीको संरक्षण गरी स्थानीय सरकारलाई अधिकार सम्पन्न गराई जनमुखी कायक्रम ल्याइ सवै युवायुवतिलाई गाउँमा बस्ने वातावरण पनि सिर्जना गर्ने छु । शहरका सवै सुविधा र विकास गाउँमा नै पुर्याउने छु । यति भन्दाभन्दै उनीहरु घरमा पुग्छन् । दुवैले आ आफ्नो लक्ष प्राप्ति गरेर नै छाड्ने अढोट गर्छन् ।

निमित्त प्रधानाध्यापक
चन्द्र कान्त पण्डित
पशुपति मित्र मावि, चावहिल, काठमाडौँ ।

प्रतिकृया दिनुहोस्