निजी विद्यालय भन्दा कुनैपनि कुरामा कम छैनौं

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२४ जेष्ठ २०७७, शनिबार

बिनिता रंजित
प्रधानाध्यापक
पञ्चकन्या आधारभूत विद्यालय, काठमाडौं

विद्यालयको समग्र अवस्था कस्तो छ ?
२०१७ सालमा वैष्णवी टुँडालदेवि मन्दिरको पाटीबाट शुरु भएको यस विद्यालय तत्कालीन वडा अध्यक्ष स्व. भक्त बहादुर खड्काले समुदायका बालबालिकाको पहुँचको लागि स्थापना गर्नुभएको थियो ।  सुकुलको बसाई र १ जना शिक्षकको उपस्थितिमा ५० जना विद्यार्थीबाट विद्यालय शुरु भएको थियो । तर, अहिले अवस्थामा धेरै परिवर्तन आएका छन् ।  हाल उमेर अनुसारको बालमैत्री डेक्सबेञ्चका साथ शैक्षिक सामग्रीले भरिएको कक्षाकोठा, प्रविधिमैत्री स्मार्ट कक्षा रहेको छ । विभिन्न आरोह–अवरोह पार गर्दै मन्दिरको पाटीबाट २०४५ देखि यो विद्यालय लम्टङ्गीनमा ४ तल्ले अत्याधुनिक भूकम्प प्रतिरोधात्मक भवनमा सञ्चालन हुन सफल भएको छ । विद्यालयमा हाल २६२ जना विद्यार्थीहरु अध्ययनरत छन् ।  समुदायको विश्वास जित्दै वि.व्य.स. सँग हातेमालो गर्दै शिक्षकहरुको अथक मिहिनेत र आफ्नोपनको भावना सहित सामुहिक कार्यमा विश्वास गरी आज काठमाडौँ महानगरपालिकाको उत्कृष्ट आधारभूत विद्यालय बन्न सफल भएका छौं । ‘हाम्रो पञ्चकन्या हाम्रो गौरव’ भन्ने नाराका साथ गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध नै वास्तविक सिकाइ हो भन्ने विश्वासका साथ पञ्चकन्या परिवार अगाडि बढिरहेको अवस्था छ ।

शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ?
विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्य प्रति हामी सजग छौं । हरेक दिन कक्षा शुरु हुनु भन्दा पहिला छ मिनेट विद्यार्थीहरुलाई योग र ध्यान गराउने गरिएको छ । जसले दिनभर विद्यार्थीहरुलाई स्फुर्त राख्दछ । हरेक कक्षाकोठालाई स्मार्ट बनाइएको छ । जसबाट विद्यार्थीहरु प्रत्यक्ष हेरेर विषयवस्तुसँग सम्बन्धित कुराहरु जान्दछन् सिक्दछन् जसले सिकाइ जीवन्त हुन्छ । हाम्रो सिकाइ  पाठ्यपुस्तकमा मात्र सिमित छैन । पाठ्यक्रममा आधारित भएर प्रविधिमैत्री सिकाइ हुने गरेको छ । कक्षा शिशु र एकलाई पौष्टिकयुक्त दिवा खाजाको व्यवस्था गरिएको छ । गृहकार्यलाई नथोपरी कक्षामा नै  प्रोजेक्ट वर्क, समूह कार्य, अवलोकन भ्रमण गराउने गरिएको छ । व्यवस्थित पुस्तकालय, कम्प्युटर ल्याबको व्यवस्था, दण्डरहित शिक्षामा जोड, शिक्षक विद्यार्थी बीच पारिवारिक र आत्मिय सम्बन्ध विकास गरिएको छ । गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड, नैतीक, सामाजिक, सांस्कृतिक शिक्षा र सीपयुक्त जीवनोपयोगी शिक्षामा जोड दिने गरिएको छ ।  विद्यालयमै मोजा बुन्ने, रुमाल बुन्ने, तितौरा बनाउने, विभिन्न परिकार पकाउने आदि जस्ता व्यवहारिक ज्ञान दिने गरिएको छ । ताकी विद्यालयबाट विदा हुँदा विद्यार्थीले शैक्षिक प्रमाणपत्रसँगै कम्तिमा एउटा जीवनोपयोगी सीप पनि लग्न सकुन ।     खोज विधिलाई बढि महत्वका साथ अगाडि बढाइएको छ ।

कक्षाकोठालाई बालमैत्री र सिकाइ मैत्री बनाउन विद्यालयमा के प्रयास भएको छ ?
कक्षाकोठालाई मात्रै होइन पुरा विद्यालयलाई नै हामी बालमैत्री, सिकाइमैत्री, स्वच्छ र सुन्दर वातावरणमा सजाउने प्रयास गरेका छौं । हरेक कक्षाकोठामा विद्यार्थी मैत्री उमेर अनुसारको रंगीन डेस्कबेञ्च, भित्ता र खाली ठाउँ सबैतिर विभिन्न  शैक्षिक सामग्रीले कक्षा सजावट गरिएको छ । विद्यार्थीहरुलाई पाठ्यपुस्तक नै पल्टाएर बस्नु नपर्ने भित्ता भरी रहेको शैक्षिक सामाग्रीले कक्षाकोठामा बसौं–बसौं लाग्ने वातावरण रहेको छ । साथै पाठअनुरूप शैक्षिक सामग्रीको प्रयोग, शिशु देखि तीन सम्म बुक कर्नरको व्यवस्था, कक्षा मनिटर, विद्यार्थीहरुको कार्य विभाजन र विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने क्रियाकलाप गरी विद्यार्थी केन्द्रित शिक्षणमा जोड साथै प्रविधिको उच्चतम प्रयोग गरी स्मार्ट कक्षा सञ्चालन गर्ने गरिएको छ ।

सिकाइस्तरको अवस्था के छ ?
हामीले ३ घण्टाको परीक्षाको नतिजालाई भन्दा व्यवहारिक सीपलाई बढी महत्व दिने गछौं । नतिजा पनि नराम्रो छैन । त्यो भन्दापनि हाम्रो विद्यार्थीको सिकाइ र सीपको अवस्था फराकिलो र दिगो छ । विद्यालयमा ७ वटा स्मार्ट कक्षा सञ्चालित छ, जसले सिकाइ दिगो र प्रभावकारी बनाउने गर्छ । विद्यार्थी केन्द्रित सिकाइ, व्यवहारिक सिकाइ र सीपयुक्त सिकाइलाई जोड दिँदै वर्तमान घटनाक्रम पनि हाम्रा सिकाइका विषय बन्ने गरेका छन् । त्यसैले विद्यार्थीको चौतर्फी विकास र क्षमतालाई पनि मूल्याङ्कन गर्नुपर्दछ भन्ने हाम्रो माग रहेको छ । हामी विद्यालयलाई वास्तविक विद्यालय र सिकाइलाई वास्तविक सिकाइ बनाउने प्रयासमा छौं ।

सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
संस्थागत विद्यालयलाई आधार मानेर  सामुदायिक विद्यालयको अवस्था खस्केको भन्ने आधारलाई जायज र वैध मान्न सकिँदैन । यो त अमेरिकाका जनताको जीवनशैली र नेपालका जनताको जीवनशैलीको तुलना गरे झैँ मात्र हुन्छ । जुन अवस्थाबाट सामुदायिक विद्यालयको सञ्चालन र व्यवस्थापन भईरहेको छ, विद्यार्थीको अवस्था, अभिभावकको सोच र उनीहरूले आफ्ना बालबालिकाप्रति गर्ने व्यवहार अनि समुदायले विद्यालयलाई हेर्ने सोच छ त्यसको पहिले सोधखोज जरूरी छ अनि मात्र सामुदायिक विद्यालयको अवस्थाको विश्लेषण गर्न सकिन्छ । अरुले छानेर छाडेका विद्यार्थीहरुलाई पनि सामुदायिक विद्यालयहरुले प्रतिस्पर्धी बनाउन सकेका छन् । फेरी, आजभोलि सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको छ, जुन कुरालाई सकारात्मक रूपमा लिनुपर्छ ।

अभिभावकहरुले त अझैपनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नि ?
सामुदायिक विद्यालयलाई अभिभावकले नपत्याएको कुरामा म त्यति सत्यता देख्दिन । सरकारी नीति तथा सचेत अभिभावकहरूले सामुदायिक विद्यालयको शिक्षालाई विश्वास गर्दै आइरहेको अवस्था छ । ग्रामीण परिवेशमा भने केही समस्या छ तर सहरी क्षेत्रमा त्यो समस्याको धेरै हदसम्म समाधान हुँदै गएको छ । केही अङ्ग्रेजी माध्यम नै ज्ञानको सर्वोपरी मुहान ठान्नेहरू र परिवेशको लहलहैमा लाग्नेहरूले चाहिँ सामुदायिक विद्यालयलाई नपत्याएको पक्कै हो । जसलाई ज्ञान भन्दा सामाजिक प्रतिष्ठा चाहिएको छ उनीहरुले मात्रै सामुदायिक विद्यालयलाई नपत्याएका हुन् । मुलुकभरका ७० लाख विद्यार्थीका अभिभावकले पत्याएकै छन् ।

अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ ।  सुधारका लागि के गर्नुपर्ला ?
सामुदायिक विद्यालयका शिक्षकको क्षमताका बारेमा प्रश्न उठ्नुलाई नकारात्मक रूपमा लिनु हुँदैन । नेवारीमा एउटा उखान छ – हँ! ढामेसिन खापा च्याकः वनि माः ( कसैले बोलाउँदा जस्ले हजुर भन्छ उसले ढोका खोल्न जानुपर्छ ) । हो, त्यस्तै जस्ले जिम्मेवारी लिन्छ उसैले त्यसको बोध गर्नु स्वभाविक नै हो । शिक्षक  शैक्षणिक गतिविधिको जिम्मेवार पक्ष भएकाले उसको क्षमतामाथि प्रश्न उठ्नु पर्छ र यो जायज पनि छ । बरू उसलाई क्षमतावान बनाउने र अझ जिम्मेवार बनाउन राज्यले आवश्यक भूमिका निर्वाह गर्नु जरूरी छ । शिक्षक सबैलाई एउटै बास्केटमा राखेर कार्य कुशलता, शिक्षण कलाको प्रदर्शनी, सिकाइ उपलब्धि व्यक्तित्व विकास आदिका आधारमा पुरस्कार र दण्ड सजायको व्यवस्था गरी शिक्षकलाई परिणाममुखी कर्ममा लाग्न प्रेरित गर्न सकिएमा र शिक्षकले पनि आफ्नो दक्षता, क्षमता र कुशलताको प्रभावकारी ढङ्गबाट प्रयोग गरेमा यसबाट शिक्षकप्रतिको धारणा बदलिन्छ र समुदायले यसबाट अवश्य फाइदा लिन सक्छ ।

शिक्षकहरुको बेला बेलामा क्षमता परीक्षण हुनुपर्ला कि नपर्ला ?
समय भन्दा बढी कसैले सिकाउन सक्दैन भन्ने मान्यता छ । तर परिवेशले यस्तो अवस्था सृजना गर्छ कि शिक्षक भएपछि त्यो भन्दा पनि बढी सिकाउन सक्नुपर्छ । फेरि शिक्षकले दुई समयको बिचमा बसी कर्म गर्नुपर्छ । एउटा आफ्नो सिकाइको समय र अर्को सिकारूको समय । यस्तो परिवेशमा शिक्षकले चातुर्यपूर्ण ढङ्गबाट आफूलाई सक्षमता हासिल गराउन सकेन भने ऊ निकम्मा ठहरिन्छ र उसको शैक्षणिक औचित्वमाथि नै प्रश्न उठ्छ । अब यसको उपाय के हो भने ऊ समयसापेक्ष आवश्यकताको ढाँचामा अनुकूलित हुँदै जानुपर्छ । उसँग भएको सिपको परिक्षण स्वयम् आफैले र निर्णायक रूपमा सम्बन्धित निकायले मानक निर्धारण गरी केही समयको अन्तरालमा क्षमता परिक्षण गर्दै आवश्यक पृष्ठभूमिका माध्यमबाट समयसापेक्ष बनाउनु पर्छ भन्ने लाग्छ । डार्विनको सिद्धान्तले भने झैँ  शिक्षण पेशामा पनि जो सक्षम छ ऊ मात्र यस पेशामा बस्नुपर्छ भन्ने नै हो ।

सरकारले दिने शिक्षक तालिम, पाठ्यक्रम, परीक्षा प्रणाली, मूल्याङ्कनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
शिक्षक तालिमका सन्दर्भमा राज्यले ठूलो धनराशि खर्च गरेको छ । विभिन्न मोडलमा तालिमहरू सञ्चालन भईरहेका छन् । सङ्ख्यात्मक हिसाबले तालिमका सम्बन्धमा चित्त बुझाउन सकिन्छ र विषयवस्तुको व्याख्यीकरणतिर नलागी विषयवस्तु कसरी पस्कने भन्ने कुरामा जोड दिनुपर्ने देखिन्छ । नेपालमा पाठ्यक्रमका सवालमा सधैँ प्रश्न उठ्ने गरेको छ । माटो सुहाउँदो पाठ्यक्रम भएन । नेपालमा पाठ्यक्रम व्यावहारिक र जीवनोपयोगी हुन सकेन यो त सैद्धान्तिक मात्र भयांै । सिद्धान्तको कवाफ पाठ्यक्रमका सवालमा कसैसँग छैन जवाफ भने झैँ छ ।  परीक्षा प्रणालीको कुरा गर्दा पनि हामी अझै पेपर पेन्सिलकै भरमा छौँ र त्यसैका आधारमा मूल्याङ्कन गर्ने गर्छौँ । खासमा व्यावहारिक परिवर्तनलाई आधार मानेर मूल्याङ्कन गर्नुपर्ने हो  तर यसो हुन सकिरहेको छैन । फेरि उदार कक्षोन्नतिलाई पनि आम रूपमा प्रयोगमा ल्याउन सकिएको देखिँदैन र यसको पनि व्यक्तिगत प्रभावबाट विद्यार्थी प्रभावित भएको गुनासो सुनिन्छ । फेरि व्यावहारिक मूल्याङ्कनका लागि पर्याप्त मात्रामा शिक्षण सामग्रीको पनि उचित प्रबन्ध गर्न सकिएको देखिँदैन ।

एउटा विद्यालय राम्रो बनाउनका लागि एकजना प्र.अ.को कस्तो भूमिका रहन्छ ?
विद्यालय राम्रो बनाउन प्र.अ.को महत्वपूर्ण भूमिका रहन्छ । भनिन्छ नि मियो अनुसार दाई । प्र.अ. कुशल प्रशासक, नेतृत्वकर्ता, पारदर्शिता, दुरदर्शी, समान व्यवहार गर्ने, समन्वयकारी भूमिकामा निर्वाह गर्ने हुनु पर्दछ । जसले आफ्नो सहकर्मी साथीहरुलाई समेटेर, टिम वर्क गरी अभिभात्वक भूमिका निर्वाह गर्नु पर्दछ । राम्रो गर्नेलाई स्याबासी र कमजोरी पक्षलाई पनि एकान्तमा राखेर बुझाउने गर्नु पर्दछ । सहकर्मीको पीडामा मलम लगाउने र विद्यालय हाम्रो हो र हामीले नै गर्नुपर्छ भन्ने भावना जगाउन सक्नु पर्छ । तालुकदार निकायसँग सहकार्य गर्ने, वि.व्य.स, शि.अ.सं, समुदाय र अभिभावकसँग सम्न्वय गर्ने गर्नु पर्दछ । तसर्थ प्र.अ. एउटा अनुगमनकर्ता, मूल्याङ्कनकर्ता, समन्वयकर्ता, सहजकर्ता र अभिभावकत्व दिलाउने व्यक्ति हुनाले एकजना प्र.अ. को भूमिका महत्वपूर्ण रहन्छ ।

यो विद्यालयमा नै विद्यार्थीहरु किन पढाउने ?
किनकि विद्यार्थीहरु घरमा भन्दा विद्यालयमा रमाउने वातावरण रहेको छ । बालमैत्री पारिवारिक वातावरणमा शिक्षण, कक्षाकोठामा बालमैत्री डेक्स बेञ्च, शैक्षिक सामग्रीले कक्षाकोठा बसुँबसुँ पढुँपढुँ लाग्ने अवस्था छ ।  प्रविधि मैत्री शिक्षण स्मार्ट कक्षा, अंग्रेजी माध्यमबाट शिक्षण, वातावरण रमाइलो र पारिवारिक रहेको छ । तालिमप्राप्त शिक्षकहरुबाट विद्यार्थी केन्द्रित शिक्षण, दिवा खाजाको व्यवस्था, विद्यार्थीहरुको नियमिततामा जोड, अनुशासन पालना, विद्यार्थीहरुको रूची, क्षमता अनुरूपको शिक्षण, हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप, विद्यार्थीहरुलाई विद्यालय बोझको रूपमा नलिई रमाई रमाई आउने वातावरण स्थापित गरिएको छ । पुस्तकालय, कम्प्युटर ल्याब, स्वच्छ खानेपानी र पानी सहितको छात्र–छात्रालाई शौचालयको व्यवस्था, सरसफाईमा विशेष ध्यान पुर्याएको, सानो खेल मैदान, विद्यालयको वातावरण स्वच्छ हरियालीयुक्त छ । कुनै पनि निजी विद्यालय भन्दा राम्रो शिक्षण र वातावरण भएकोले विद्यार्थीहरु यो विद्यालयमा नै पढाउनु पर्छ ।

तपाईं यस विद्यालयमा कहिले प्र.अ. बन्नुभयो ? तपाईं प्र.अ. बनेपछि के–के सुधार गर्नुभयो ?
म २०७१ श्रावण १३ गतेदेखि  प्र.अ.को जिम्मेवारीमा छु । म प्र.अ. बन्ने बित्तिकै पहिले भौतिक सुधारमा लागेँ । विद्यालयलाई  विद्यालय जस्तै बनाउनुपर्छ भनेर वडा कार्यालयको सहयोगमा रंगरोगन, जि.वि.स.को सहयोगमा खेल मैदानमा ब्लक छाप्ने काम गरेँ । शिक्षण सिकाई प्रभावकारीताको लागि विद्यार्थी केन्द्रित कक्षाकोठा निर्माण शैक्षिक सामग्री निर्माण तथा कक्षाकोठा सजावटलाई जोड दिँदै विषय कर्नर बनाएँ । कक्षा शिशु र एकलाई निःशुल्क दिवा खाजाको व्यवस्था गरे । कक्षा शिशु देखि कक्षा दुई सम्म कक्षा शिक्षण र मन्टेश्वरी तालिम प्राप्त शिक्षकबाट नर्सरी कक्षा सञ्चालनको व्यवस्था मिलाए । कक्षा शिशु देखि कक्षा तीन सम्म  कर्नर लाइब्रेरीको व्यवस्था गरेँ ।

व्यवस्थित पुस्तकालय,कम्प्युटर ल्याब, ७ वटा कक्षामा स्मार्ट वोर्डको व्यवस्था गरेँ । विहान छ मिनेट मेडिटेसन गराउने, निरन्तर मूल्याङ्कन र प्रयोगात्मक क्रियाकलापमा जोड दिने व्यवस्था मिलाएँ । वार्षिक पाठयोजना कार्य योजना र क्यालेन्डर अनुसार संचालन र अक्तिरिक्त क्रियाकलाप र व्यवहारिक शिक्षामा जोड दिएँ । उमेर अनुसार रंगीन डेक्स बेञ्च, शिक्षकलाई आवश्यकता अनुरूप तालिम, अंग्रेजी माध्यमबाट शिक्षणको व्यवस्था मिलाएँ । शिक्षकहरुमा विद्यालय मेरो हो र मैले गर्नु पर्छ भन्ने भावनाको विकास,     शिक्षक र विद्यार्थी बीच अपनत्वको भावना विकास गराउन पहलकदमी लिएँ । स्वच्छ खानेपानी र शौचालयको व्यवस्था, विद्यार्थीहरुलाई रमाई रमाई विद्यालय आउने वातावरण, अभिभावक र समुदायको विश्वास जिति १५० विद्यार्थीबाट हाल २६२ विद्यार्थी पुगेको अवस्था छ । नृत्य, टेक्वाण्डो, संगीत र फुटबल खेल हरेक शुक्रबार हुने गरेको छ । त्यसका लागि प्रशिक्षकको व्यवस्था गरिएको छ । यो सबै म एक्लैले भन्दापनि विद्यालय परिवारको सहकार्यबाट सम्भव भएका हुन् ।

विद्यालय सुधारका लागि तपाईंका योजनाहरु के–के छन् ?
हाम्रो विद्यालयलाई नेपालकै नमूना आधारभूत विद्यालय बनाउने योजना रहेको छ । यसको लागि विद्यालयले हालसम्म गर्न नसकेका कार्यहरुलाई सम्पादन गर्दै लैजाने, चुनौतीहरुलाई सामना गर्दै प्रविधिमैत्री बनाउँदै लग्ने, शिक्षण सिकाइलाई स्तरीकरण गर्दै, बालमैत्री, प्रविधिमैत्री, जीवनपयोगी शिक्षामा जोड दिने योजना छ ।  बालबालिकाहरुको लागि स्वच्छ खाजाको व्यवस्था गर्न क्यान्टीन निर्माण गर्ने, वाँकी सबै कक्षाहरु प्रविधियुक्त स्मार्टकक्षा बनाउने, शैक्षिक उपलब्धि वृद्धि गर्न जोड दिने, शिक्षकहरुलाई विषयगत तालिमको व्यवस्था गर्ने, विद्यालय छोड्ने दर घटाउने, उत्तीर्ण प्रतिशत शतप्रतिशत बनाउने, शिक्षकहरुको उत्तरदायी व्यवहार बनाउने, विद्यालयको वातावरण भयरहित बनाउने योजना छ ।

 स्थानीय समुदायको सहयोग कत्तिको छ ?
समुदाय र विद्यालय बीचको सम्बन्धले नै विद्यालयलाई गति प्रदान गर्दछ । पहिलेको अवस्थामा विद्यालय हटाउनु पर्छ भन्ने समुदाय आज आएर मा.वि. बनाउनु पर्यो भन्दै छन् । समुदायको विश्वास जितेर नै पञ्चकन्याले आफ्नो स्थान बनाउन सफल भएको छ । हरेक पक्षबाट समुदायको सहयोग प्राप्त भइरहेको छ । साथै विद्यालय प्रति सकारात्मक सोच बन्दै गएको छ । विद्यालयको हरेक गतिविधि समुदायको संलग्नता रहेको र चासोको विषय समेत भएको पाइएको छ ।

शिक्षा सुधार नहुनुमा सरकारको नीतिमा समस्या देख्नुहुन्छ  कि नियतमा ?
शिक्षा सुधार नहुनुमा नीति र नियम दुवैमा समस्या देखिन्छ । शिक्षामा बढी भन्दा बढी लगानी गर्नुपर्ने, पाठ्यक्रम बनाउदा देशको आवश्यकता अनुसारको बनाउनु पर्नेमा सरकार चुकेको छ । जस्तो श्रीलङ्कामा शिक्षामा मत्स्पालनलाई प्राथमिकता दिए जस्तो नेपालमा कृषिलाई दिनु पर्ने तर नाम मात्रको कृषि छ  । यहाँ सरकारको नीतिमा समस्या देख्छु । जीवनपयोगी, व्यवहारिक शिक्षा नारामा मात्र सिमित छ । त्यसको उपयोगिता कति छ, कहाँ छ र कसरी छ ? कुनै लेखाजोखा छैन । अनुगम मूल्याङ्कन छैन । यहाँ नियतमा समस्या छ । राज्यले बोल्दैमा सबै लागु हुन्छ र त्यस अनुरूप कार्यन्वयन भएको छ भन्ने सोच मात्र राज्यले राख्दछ तर त्यो कार्यान्वयन भएको नभएको कसैले हरेको छैन । कुनैपनि नीति नियम बनाउँदा सम्बन्धित विज्ञ, शिक्षक, परामर्शदाता, शिक्षाविद, सबै सँग राय लिनु उचित हुन्छ । अझ बढि त शिक्षकलाई संलग्न गराउनु पर्छ किनकि शिक्षकहरु नै हुन् ति पात्र जो हरेक दिन विद्यार्थीहरु सँग उठबस गर्दछ र विद्यार्थीको चासो के छ र के दिनु पर्छ त्यो थाहा हुन्छ न कि सम्बन्धित निकायका ठूला व्यक्तिहरुलाई । त्यसैले शिक्षा सुधार नहुनमा सरकारको नितिमा नै एकदम समस्या छ भने नियतमा पनि खोट छ ।

हाम्रा शिक्षकहरुलाई साँच्चै ‘गुरु’ बनाउन के गर्नुपर्ला ?
विषयगत तालिमको व्यवस्था गर्नुपर्छ । विद्यालय मेरो हो भन्ने भावनाको विकास गराउँदै विद्यार्थीसँग आत्मिय सम्बन्ध स्थापित गराउनुपर्छ । विद्यार्थीको हरेक पक्षसँग सरोकार हुनुपर्ने जस्तो समस्या पनि खुलेर भन्न सक्ने वातावरण बनाउन सक्ने बनाउनुपर्छ । शिक्षक चौतर्फि ज्ञानको भण्डार हुनुपर्ने भएकाले  निरन्तर खोज र अध्ययनमा लगाउने, अभिनेता, अभिभावक, संरक्षक, साथी र सहजकर्ता हुनुपर्ने भएकाले सोही अनुसारको व्यवहारीक तालीम दिने गर्नुपर्छ । शिक्षकहरु आफूपनि आइडल बन्ने प्रयासउ गर्नुपर्छ । सरकारले शिक्षकमा  जिम्मेवारी बोध, उत्तरदायित्वको भावना जगाइदिनु  पर्छ । शिक्षकलाई प्रविधि मैत्री बनाउँदै  भयरहित वातावरणको सृजना गर्न सक्ने र पाठ्यपुस्तकमा मात्र केन्द्रित नरही बालमैत्री वातावरणमा शिक्षण गर्ने बनाउनुपर्छ ।

सरकारको ठूलो लगानीका बाबजुद सामुदायिक विद्यालयको गुणस्तर कम देखिन्छ । यसको कारण केलाई मान्नुहुन्छ ?
शिक्षामा राज्यको पूर्ण जिम्मेवारी हुनुपर्ने परिप्रेक्षमा लगानी कति गरियो भन्दा पनि लगानीको प्रतिफल सही तरिकाबाट प्राप्त भयो कि भएन भन्ने कुरा मुख्य हो । सामुदायिक शिक्षामा गरिएको लगानीको उच्चतम प्रतिफलका लागि सरोकारित सबै पक्षको ध्यान जानुपर्छ तर नेपालमा दोषका भागिदार शिक्षकलाई मात्र ठानिन्छ र त्यो पनि परीक्षाफल प्रकाशनको चौघेरामा । शिक्षाको गुणस्तरका नाममा सभा सम्मेलन हुन्छ तर शिक्षाको सतहमा बसी सघन भूमिका निर्वाह गर्ने पक्षलाई वेवास्ता गरिन्छ । जसले गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सोचेअनुरूप अगाडि बढ्न नसकेको हो भन्ने मेरो बुझाई छ ।

सामुदायिक विद्यालयलाई कसरी प्रतिस्पर्धी बनाउन सकिएला ?
प्रतिस्पर्धाको कुरामा म विश्वास राख्दिन । त्यसो त अहिले पनि प्रतिस्पर्धा नभएको होइन । परीक्षाफल र त्यसलाई नै आधार मानेर सामुदायिक विद्यालयको स्तर निर्धारण गर्नु त क्षणिक निष्कर्ष न हो । जीवनको परीक्षामा को कति सफल भयो र क्षमतावान छ त्यसका आधारमा प्रतिस्पर्धा गर्ने हो भने बल्ल त्यसलाई प्रतिस्पर्धा मान्न तयार छु । हामीसँग त्यस्तो रणनीतिका आधारमा खोज अनुसन्धान भएकै छैन ।

शिक्षक तालिम कक्षाकोठामा पुगेको लाग्छ त ?
शिक्षक तालिमका सवालमा हामीले तालिमबाट प्राप्त ज्ञान र सिपलाई कक्षाकोठामा  प्रयोग गरेका छौँ । सम्बन्धित तालिम केन्द्रबाट प्राप्त तालिमका साथै प्रविधिमैत्री कक्षाकोठा प्रयोग गर्न र समय सापेक्ष सीपका लागि आवश्यक सीपका लागि अन्य माध्यमसमेतको खोज गरी त्यसबाट प्राप्त ज्ञानको उपयोग गरेका छौँ । त्यसैले हाम्रा बालबालिका अलि पृथक रूपमा आफूलाई उभ्याउन सफल छन् । तालिमका विषयमा एउटा कुरा भने सधैँ खड्किन्छ त्यो के भने तालिम दिँदा विषयवस्तुका बारेमा बढी केन्द्रित भएको पाइन्छ न कि शैक्षणिक कला र विधि तथा प्रविधिमा ।

सिकाइ र भौतिक पूर्वाधारको कस्तो सम्बन्ध रहन्छ ?
सिकाइ सिकारुका लागि कुनै पनि विषयवस्तुका बारेमा धारणा निर्माण गर्ने प्रकिया हो । सिकाइमा विभिन्न कुराले प्रभाव पार्छ यसमा दुईमत छैन । त्यसमध्ये भौतिक पूर्वाधारले पनि विद्यार्थीको सिकाइमा प्रभाव पारिरहेकै हुन्छ । विद्यालयको भौतिक अवस्था, बसाइको व्यवस्थापन, सफाई, प्रकाशको उपस्थिति, फर्निचरको अवस्था आदिले विद्यार्थीको सिकाइलाई प्रभाव पारेको देखिन्छ । समयानुसार पनि यो आजको माग हो कि बालबालिकाहरूले उचित भौतिक वातावरणमा सिक्न पाऊन् भन्ने कुरा । हिजोको दिन आज रहेन । भौतिक अवस्थाले पनि हामीलाई त प्रभाव पार्छ भने विद्यार्थीलाई त झन प्रभाव पार्ने नै भयो । तर यसलाई सिकाइको प्रमुख बाधकका रूपमा भने लिन सकिँदैन ।

सामुदायिक विद्यालय सुधारको शुरुवात कहाँबाट गर्नुपर्ला ?
सुधार भन्नाले निरन्तर प्रक्रियाका रूपमा लिनुपर्छ । बिग्रेको भत्केको वा कहीँ ट्वाक्राक्क भाचिएको वा छिनेको वा चुडिएको भए यहीँबाट सुरू गर्ने भनेर भन्न सकिन्थ्यो । तर यहाँ त यस्तो अवस्था छैन । फेरि मापनका आधार पनि विद्यमान परीक्षा र परीक्षाफल मात्र भएको अवस्था छ । सबैभन्दा पहिला समस्याको पहिचान आवश्यक छ । यसका लागि विज्ञहरूको सामूहिक कार्यका आधारमा समग्र समस्याको पहिचान हुनुपर्छ । त्यसपछि समस्या जहाँ छ त्यहीबाट समस्याको समाधान गर्न सकिन्छ । यसका लागि विज्ञ टोलीको नेतृत्वमा प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र विद्यार्थीको जीवन अवस्था, अभिभावक, विद्यालय, शैक्षिक विधि र प्रक्रिया, पाठ्यक्रम, विद्यमान समाज, देश र विश्व समुदायको माग र आवश्यकता, विद्यालयको पर्याप्तता र उपलब्धता, नियमन निकायको भूमिका, विद्यमान शिक्षासम्बन्धी नीतिनियम सबैको पृथक–पृथक शोध र अनुसन्धान गरी वास्तविक समस्याको पहिचान गरी सुधारतर्फ लाग्नुपर्छ जस्तो लाग्छ । सामुदायिक शिक्षाका हकमा कुनै एउटा पक्ष मात्र जिम्मेवार भएर गुणस्तर कायम हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिने अवस्था छैन । यसका लागि सामूहिक प्रयासको आवश्यकता  देखिन्छ ।

प्रतिकृया दिनुहोस्