शिक्षकलाई घरघरमा पठाएर सिकाउन लगाउने कि ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

अहिले सबैले एउटा रोग ल्याइदिए । अनलाइनको । अनलाइन, अनलाइन अनलाइन मात्रै भन्ने कुरा भयो । रोल्पाका शिक्षकले मलाई रोल्पाका गाउँमा अनलाइन कसरी सम्भव छ भनेर प्रश्न गर्नुभयो । मैले जहाँ सम्भव छ त्यही गर्नुस् भनेर भनिदिए ।

रेडियोबाट कार्यक्रम गयो असाध्य राम्रो भयो । टेलिभिजनबाट कार्यक्रम गयो असाध्यै काइदाको कुरा भयो । अनलाइनबाट गयो राम्रो भयो । तर, सबै एकैचोटी किन नगएको हो ?

मैले यसलाई भात खाने कुरासँग दाज्ने गरेको छु । नेपालीले कान्छी औंला मात्रै बाहिर राखेर भात त खाँदैन नी । पाँचैओटा औंला जोड्छ । त्यसो भए अब हामीले पनि रेडियोबाट कार्यक्रम के, टेलिभिजनबाट के, अनलाइनबाट के भनेर जोड्नु पर्ने हो कि ?

बिहानै बेलुका कोरोना, कोरोना सुनेर झन्झट मानेका विद्यार्थीसम्म शैक्षिक कुराहरु कसरी पुर्याउन सकिएला ? टेलिफोनबाट असल सन्देश पठाउने तरिका के ? शिक्षकले मोवाइलबाट पढाउने तरिका के ? म्यासेन्जरबाट पढाउने के ? बरु शिक्षकलाई टेलिफोन र डाटाको लागि पैसा दिने उपाय पो लगाउने हो कि प्रदेश सरकारहरुले ?

यस विषयमा प्रदेश सरकारहरुले सोच्न आवश्यक छ । कम्प्युटर भएको नेट नभएको स्थानमा स्रोत केन्दं्र बनाएर सिडिबाट सिकाउने तरिका पनि होला ।
सरकारहरुमा साम्यवादी चिन्तन बोक्ने हुनुहुन्छ । सर्वहाराको कुरा गर्नुहुन्छ । त्यो सर्वहारासँग रेडियो, टेलिभिजन र इन्टरनेट नहुन सक्छ । त्यस्तो स्थानमा त शिक्षक नै पठाउनु पर्ने भयो ।

शिक्षकलाई घरघरमा पठाउने डिजाइन के हुन सक्छ ? शिक्षकलाई ७–१० वटा घरको जिम्मा दिन सकिन्छ ।  मैले मंगोलियाको उदाहरण दिने गरेको छु । त्यहाँ शिक्षकलाई घरघर जिम्मा लगाएको हुन्छ । यसरी शिक्षकलाई घरघरको जिम्मा दिन सकिन्छ । प्रदेश सरकारको योजना यतातिर केन्द्रित हुनुपर्छ कि ?

अनलाइन कक्षा पनि विद्यार्थीहरुले मन पराउन छाडेको देखिन्छ । शिक्षक आएर भिडियोमा एक घण्टा गफ गरेर भएन । अब शिक्षकले १५ मिनेट कुरा राखेपछि ४५ मिनेट विद्यार्थीसँग छलफल गर्ने वातावरण बनाउनुपर्यो । सरकारको ध्यान यता जावस् ।

संघीय शिक्षामन्त्रीले मनलाग्दी परीक्षा र पढाइको विषयमा बोलिदिँदा यो दशा बनेको छ । फेरी पनि पहिले जसरी परीक्षा गर्ने भनिएको छ । क्रान्तिकारी कुरा गर्ने मान्छेहरुले यता सोच्नुपर्यो । कुरिरहनेलाई क्रान्तिकारी भन्छन् कि नयाँ विकल्प खोज्नेलाई भन्छन् ?

अब अनलाइनबाट परीक्षा जान सक्ने उपाय हुन सक्छ कि सक्दैन ? रेडियोबाट हुन सक्छ कि सक्दैन ? टेलिभिजनबाट हुन सक्छ कि सक्दैन ? दूरशिक्षाको लागि यत्रो धेरै  संरचना छन् । खुला विश्वविद्यालय बनाएका छौं । शिक्षा मन्त्रालयको आफ्नै दूर शिक्षा केन्द्र छ । दूरशिक्षाको माध्यमबाट परीक्षा सञ्चालन गर्ने विधि हुन सक्छ कि सक्दैन ? परीक्षामा चोर्ने चोराउने  कुरा हुँदै आएका छन् । विद्यार्थी चोर्न सिपालु, शिक्षक चोराउन सिपालु । यस्तो अवस्थामा खुला विद्यालयको विधिमा  परीक्षा गर्दा पो प्रभावकारी हुने हो कि ?

भर्नाका सन्दर्भमा पनि टेलिफोनबाट भर्ना लिने विधि हुन सक्छ । प्याकेज दिएर घरमै बसेर पढ्न लगाउने विधि पनि हुन सक्छ । रेडियो, टेलिभिजनबाट दिनभरि कक्षा सञ्चालन गर्ने विधि पनि हुन सक्छ ।

विद्यार्थीले रेडियो, टेलिभिजन वा इन्टरनेट भए त्यसैमा पढ्छ नभए प्याकेजमा पढ्छ । परीक्षा पनि त्यसरी नै दिन्छ । यसरी उनीहरुलाई दिनभरी व्यस्त बनाइराख्न सकिन्छ । यसबारे सोच्नुपर्ने बेला भएको छ । यो ढङ्गबाट प्रदेश सरकारले सोच्न पायौं भने फड्को नै मार्न सक्छौं ।

शिक्षक र प्राध्यापक पार्टीप्रति नै बफादार छन् । त्यसैले पार्टीका मान्छेहरुले भनिदिनुपर्यो–शिक्षक, प्राध्यापक साथीहरु स्कूल, कलेज चलेनन् त्यो तपाईंहरुकै जिम्मा हो । रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन कुनैपनि विधि प्रयोग गर्नुस् तर, पढाउनुस् त्यसमा हामी सघाउछौं भनेर सरकारले भनिदिनुपर्यो ।

सरकारका मान्छेले शिक्षक प्राध्यापकहरुलाई अहिले आवश्यक शैक्षिक सामग्री बनाउन भन्नुपर्यो । कसैले सिडिमा, कसैले रेडियोमा, कसैले टिभीमा, कसैले लेखेर बनाउलान् । ल्याउनुस त्यसलाई छाप्ने, प्रशारण, प्रकाशन गर्ने हामी गर्छौं भनेर अभियान चलाइदिनु पर्यो ।

कृषि र शिक्षालाई जोड्ने राम्रो अवसर आएको छ । अब शिक्षकहरुलाई भनौं– तपाईंको स्कूलमा बिऊ र बेर्ना उत्पादन गर्ने ठाउँ हुन सक्छ । पत्येक पालिका र विद्यालयमा अनिवार्य रुपमा यसमा काम हुनुपर्यो । स्कूलमा सबै खन्न जान्छन् भन्ने होइन । कोही प्याकेजिङ गर्न जालान् । कोही विरुवामा पानी हाल्लान् । यो ढङ्गमा काम गर्नुपर्यो ।

स्थानीय पालिकालाई प्रतियोगी बनाउने, प्रतिस्पर्धी र सहयोगी बनाउने काम प्रदेश सरकारले गर्नुपर्छ । स्थानीय सरकार क्रियाशिल नभए सम्म विद्यालय चल्दैन । विद्यालय क्रियाशिल बनाउनका लागि प्रदेश सरकारहरुसँग योजना हुनुपर्यो ।

एउटा पालिकाले कसरी सबै विद्यालय सञ्चालन गर्ने भन्छ त्यसलाई सहयोग गर्ने डिजाइन बन्नुपर्यो । प्रदेशतहमा भएका विश्वविद्यालयहरु प्रदेश सरकारको जिम्मामा आयो । ती विश्वविद्यालयहरुमा पढाइ भइराखेको छैन । त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयहरुको दशा अनलाइन गर्ने भन्ने छ तर, सबैसँग अनलाइनको पहुँच छैन ।  अनलाइनको रहर सबैलाई हो कि कसैलाई हो ? यसमा प्रदेश सरकारले स्पष्ट धारणा बनाउनुपर्यो ।

जनताहरुलाई भनिदिनुपर्यो के गर्यो भने शरिरको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ भनेर । त्यसका लागि के चाहिन्छ ? हामीसँग आफ्नै मौलिक जानकारीहरु छन् । हामीसँग आयुर्वेद, यलोप्याथिकको जानकारी छ । होमियोपेथिको छ । प्राकृतिक चिकित्साको जानकारी छ ।  आम्ची प्रणालीको जानकारी छ । जनतासँग बसेर सल्लाह गरेर ल है यसो गर्यो भने रोगसँग लड्ने क्षमता बढ्छ भन्नु पर्यो ।

शिक्षक र प्रध्यापक अहिले सुतेर बसेका छन् । अझ मरेर बसेका छन् भन्छु म । विश्वविद्यालय, स्कूल, कलेज खोल्ने जिम्मेवारी शिक्षक र प्राध्यापकको हो कि स्थानीय सरकार, प्रदेश सरकार या संघीय सरकारको  हो ? संघीय सरकारका मान्छेलाई त मैले हुट्टिट्याउ पार्टी भन्ने गरेको छु । किन भने उहाँहरुले जम्मै मैले ठामिदिनुपर्छ भन्ने बुद्धि बोक्नु भएको छ ।

यस्तो बेलामा शिक्षक, प्राध्यापकहरुलाई तपाईं सक्नुहुन्छ, तपाईंले गर्नुहुन्छ । शैक्षिक सामग्री बनाउनुस हामी छाप्छौं । शैक्षिक सामग्रीको पेन्ड्राइभ वा सिडि  बनाउनुस हामी किनिदिन्छौं भनेर प्रदेश सरकारले भनिदिनुपर्यो ।

(शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले प्रदेशका सामाजिक विकास मन्त्री, शिक्षाविद्हरुसँग अबको शिक्षा कस्तो हुनुपर्ला भन्ने विषयमा गरेको भुर्चअल छलफलमा डा. कोइरालाद्वारा व्यक्त सुझाव र धारणाको सम्पादित अंश)

प्रतिकृया दिनुहोस्