भानुभक्त र नेपाली संस्कृति

Avatar photo

Byएजुकेशन पाटी

२९ असार २०७७, सोमबार
अर्जुनप्रकाश भुसाल

वर्षात ऋतुको वर्षायाम सँगै
झरेको निरन्तर वर्षातका झरीमा,
असार २९ लाई पर्खी बस्दा
अनायासै,
आज मैले देखेँ तिमीलाई ।।

तिमी नै हो भानु, तनहूँको चुँदी रम्घामा
उदाएर मोतीले चिनाइदिएका मलाई,
देखेँ आज फरक ठाउँमा, फरक परिवेशमा
तर किन बोल्दैनौं भानु तिमी !!
जातीय एकताका प्रतीक तिमी
सांस्कृतिक रुपान्तरणका धरोहर
नेपाली वाङ्गमयका सागर
सामाजिक क्रान्तिको नायक
हो, तिमी नेपाली मन जोड्ने सेतु
भानु ! खासमा हामी फल हौं
तिमी जरा हौ, अनि आधार पनि !!

तिम्रो पवित्र ग्रन्थ टाउकोमा राखेर
सपथ खाएका चिया बगानका मजदुरहरु
जिउँदैछन्, जिउँदैछन्, बर्मामा तिम्रो पक्षमा
लड्दा सैनिक सरकारले बन्दुकको नालले
दमन गर्दा प्रतिकार गर्ने तिम्रा अनुयायीहरु
भानु तिमीलाई म पढ्न खोजेको छु,
बुझ्न खोजेको छु र हेर्दै छु गुगलतिर अनि युटुबमा
तिमीले नेपाल चिनायौ, नेपाली चिनायौ
अफसोच, आजको नेपालमा तिमीलाई देखिन
आज म खोज्दै छु तिमीलाई, तर
देखिदैन कतै तिम्रो अनुहार

भानु ! भानु !!, बोलन !!!
देऊ न मलाई तिम्रो फेसबुक आइडी
केवल मलाई मात्र प्लिज ! मिसयुज गर्दिन
हो, यस्तै छ मेरो भाषा मेरो संस्कृति
बुझ्दिन तिमीले लेखेका किनकि म यस्तै सिक्दैछु
सुने मैले भानु, तिम्रो फेक आइडीको
कति धेरै मूल्य भयो रे थाहा छ?

तिमी अझै चुप छौ ?
तिमीले भनेका रामहरु लोप भैसके
त्यो वधुशिक्षा हास्यास्पद भइसक्यो
किन कि आज सीताको सतित्व
रक्षा गर्ने सतपुरुश हैन
सयौं सीताहरु निर्मला पन्तको रुपमा
सतित्व गुमाउँदैछन्
हेर नवयुवाहरुको नवराज झैं जातको नाममा
दिनदहाडै खुलेआम हत्या हुँदैछ
तिम्रा शिक्षा यस्तै यस्तै हुँदैछ मेरा समाजमा
तिमीले दिएका सुन्दर सौगातहरु
प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षाहरु
धमिरा लागिसके अब
नयाँ एप्समा बनाईदेउ
हो पब्जी, टिकटकमा
शेयर गरौँला किनकि,
तिमी नयाँ बन्नुपर्छ
तिम्ले लगाएको दौरा सुरुवाल
टोपीमा सगरमाथा बोकेर हातमा
सूर्य र चन्द्र अंकित झण्डा !!

आज नयाँ लागिराको छ ।।
पश्चिमी र्याप, पप र मिनिस्कर्टबाट
वान पिस मा झरेको छ त्यस पछि…
तिमीले कोरेका अलकापुरी, कान्तिपुरी
आज पश्चिमी वायुको प्रभावमा
डुबानमा परेको छ म’नि डुबेको छु।।
तिम्रो पथप्रदर्शक घाँसीकुवा
चिन्दैन कसैले किनकि
नत साइनिंग छ, नत कुनै सेल्फी स्टेसन
भानु, तिमी कहाँ छौं ?

दार्जिलिङको चौरस्तामा हो कि ?
बर्माको कुनै ठाउँमा !
किनकि तिमी मेरो नजिक छैनौ
भानु ! तिमी लड्यौ राणासँग
र बनायौ नयाँ नेपाल नयाँ संस्कृति ।।

हो, अहिले यहाँ गणतन्त्र आइसक्यो,
जसको आधार तिमी हौ, सपना तिम्रो हो
आज, छैन कुनै उत्सव यहाँ तिम्रा बारेमा ।।
भानु !! आँखा खोल अब,
तिमी र म फेरि तनहुँ जानेछौँ
घाँसीको अर्को नयाँ कुवा बनाउनु छ,
जहाँ तिम्ले ब्याख्या गरे जस्तै नेपाली पोशाकमा
भृकुटी, जनक र अरनिकोहरुले पुष्पगुच्छाले स्वागत गर्नेछन्
तिम्रो जन्मदिन पनि मनाउने छौं
तिमी, तिमी नै हुनेछौ र मोती म बन्नेछु
किनकि तिम्रा फेक आइडी रोक्नु पर्दछ
र नयाँ नेपालको यात्रामा जानु पर्दछ
गौतम बुद्धको बाटो भएर पृथ्वीनारायण शाहले
विस्तार गरेको मार्गमा, दार्जिलिङ मात्र हैन
सिक्किमको टिस्टा जानु छ
त्यहाँ प्रश्नोत्तर सँगै भक्तमाला सुनाएर
फेरि पश्चिम फर्कनेछौँ
कालापानी, लिपुलेक र लिंपियाधुरा ।।

जहाँ अब अरु निर्मला जन्मनबाट रोक्नुपर्छ
नवराजहरु सुरक्षित हुनुपर्छ
नयाँ अवतारमा सीताहरु जन्मनेछन्
तिम्रो दर्शनलाई समाजमा प्रज्वलित बनाउनेछन्
हो, अब तिमी पाइला सार भानु
आखाँ खोल, समाज बदल्नुछ !!!
संस्कृति बदल्नु छ !!!!

(भुसाल जनकल्याण मावि बौद्धका शिक्षक हुन् ।)

प्रतिकृया दिनुहोस्