अनलाइन शिक्षाः बाल मनोविज्ञान र अबको दायित्व

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

समय वास्तवमै परिवर्तनशील छ । कतिबेला कुन परिस्थिति देखा पर्छ अनि त्यसको असर कहाँ सम्म पर्दछ भन्ने कुरा त्यतिबेला थाहा हुन्छ जब नयाँ परिस्थतिको असर र यसका विकल्पहरुवारे वहस शुरु हुन्छ । आजको विश्व समाजमा विश्व महामारीको रुपमा कोरोना भाइरस देखा पर्यो । आजको दिनसम्म आधिकारिक रिपोर्ट अनुसार विश्व भरि २०० भन्दा धेरै देशहरुमा यसको संक्रमण फैलिएको छ भने झन्डै ३० लाख बढी मानिसहरु यसबाट संक्रमित भइरहेका छन् ।

पछिल्लो पटकको प्रकाशित रिपोर्ट अनुसार झन्डै २ लाख मानिसहरु यो रोगबाट ज्यान गुमाइसकेका छन् साथै यो संक्रमण तिब्र गतिमा बढिरहेको छ । जब कुनै समयमा प्राकृतिक बिपत्ति तथा कुनै भयावह अवस्था आउँछ भने त्यो बिपत्ति सँगै केहि नयाँ सम्भावना र नविन विकल्पहरुबारे बहसको थालनी पनि हुने गरेको छ ।


हाम्रो देशमा पनि विभिन्न समयमा ठूला–ठूला राजनीतिक तथा प्राकृतिक घटना घटेका छन् । त्यसपछिको समाजमा केहि परिवर्तन देखिने गरेको छ ।  राजनीतिक घटनाक्रममा विशेष रुपमा राणा शासन–पञ्चायती व्यवस्था हुँदै बहुदलीय प्रतिस्प्रधात्मक प्रणालीबाट गणतान्त्रिक व्यवस्थासम्म आउँदा विभिन्न खालका पक्षहरुमा परिवर्तन देखा पर्यो । जसमध्ये राजनीतिक क्षेत्र मात्र नभई  सामाजिक, आर्थिक, शैक्षिक लगायत समग्र रुपमा फेरबदल भयो ।

त्यसैगरी, प्राकृतिक बिपत्ति पश्चात पनि बाध्यात्मकरुपबाट परिवर्तन देखा परेको जीवन्त इतिहास हाम्रो सामु छ । अहिलेको वर्तमान अवस्थामा एकातिर विश्व अर्थतन्त्रको सूचक विश्व युद्ध पछिकै नकारात्मक विन्दुमा जाने भविष्यवाणी गरिएको छ र यसबाट कसरि सुरक्षित हुने भन्ने बारेमा सम्वन्धित बिज्ञहरुको राय सुझाव आउन थालेको छ । त्यसैगरी यो महामारीले सृजना गरेको बन्दाबन्दीका कारण विश्वमा करोडौं बालबालिकाहरु घरमै सिमित भएको अवस्थाले गर्दा उनीहरुको शारीरिक तथा मानसिक वृद्धि विकासमा कुन माध्यमबाट सहयोग पुराउन सकिन्छ भन्ने बिषयमा अनलाइन शिक्षा एउटा अचुक अस्त्र बनेर हाम्रो समाजमा पनि आएको छ । तसर्थ, यहाँ यसको सम्भावना, चुनौती र समाधानका केहि उपायहरुबारे छलफल गर्ने प्रयास गरिएको छ ।

अनलाईन शिक्षा भन्नाले त्यस्तो शैक्षिक क्रियाकलाप तथा प्रक्रिया हो जुन इन्टरनेटको माध्यमबाट दिइने वा लिइने हुन्छ । यस्तो खालको शिक्षा मुलत प्रविधिमैत्री हुन्छ । प्रविधिजन्य सामग्रीकोहरुको समुचित प्रयोगबाट मात्र यस्तो खालको शिक्षाको प्रयोग गर्ने गरिएको हुन्छ । अनलाईन शिक्षालाई ई–लर्निङ पनि भनिन्छ जुन प्रणालीमा श्रब्य, दृश्य सामग्रीको पनि प्रयोग गरिन्छ जसले सिकाइ क्रियाकलापलाई  कक्षा शिक्षण र आमने सामने भन्दा प्रभावकारी पनि हुन्छ ।

ई –लर्निङ भनेको अक्सफोर्ड शब्दकोशको परिभाषा अनुसार, ‘E-learning is a system of learning that uses electronic media, typically over the internet’  यसको अर्थ इन्टरनेटको प्रयोगबाट दिइने शिक्षा प्रणाली नै ई– लर्निङ अथवा अनलाईन शिक्षा भनिन्छ ।

त्यसगरी, क्याम्ब्रिज शब्दकोशको परिभाषा अनुसार, ‘E- Learning is   learning done by studying at home using computers and courses provided on the internet’

“शिक्षा प्रणाली जसमा व्यक्तिहरू विशेष ईन्टरनेट साइटहरू र टेलिभिजन र रेडियो कार्यक्रमहरूको मद्दतले घरमा अध्ययन गर्दछन् ”

माथिको परिभाषाबाट पनि के प्रष्ट हुन्छ भने ‘ई – लर्निङ’ अथवा ‘अनलाईन शिक्षा’ भनेको विशुद्ध प्राविधिक शिक्षा हो जुन सिकाइ क्रियाकलापमा विभिन्न प्रकारका आधुनिक उपकरणको प्रयोग गरिन्छ ।

ई–लर्निङ अन्तर्गत रेडियो, टिभी, मोवाइल शिक्षा तथा इन्टरनेटको माध्यमबाट दूर शिक्षालगायत विभिन्न प्रकारमा विभाजन गरिएको छ । यो प्रकारको शिक्षा सिकाइमा असिमित हुन्छ तसर्थ यसलाई ‘खुल्ला शिक्षा’ पनि भनिन्छ । खुल्ला शिक्षा नेपालमा पनि औपचारिकरुपमा शुरु त पहिले देखि नै भएको छ तथापी यसको आवश्यकता वर्तमान समयमा अधिक रहयो ।

जब कोरोना (कोभिड–१९) महामारीको कारण विश्व भरी मानिसहरु घर भित्रै सिमित रहँदा विशेष गरेर स–साना नानीबाबुहरुलाई कसरी उनीहरुको समय रचनात्मक प्रयोग गर्न सकिन्छ भनेर ठूलै बहस चलेको छ । नेपालको सन्दर्भमा विद्यालय जाने उमेरका नानीबाबुहरु संयोगवश शैक्षिक सत्र सकिएको र अर्को शैक्षिक सत्र सुरु हुने बेला भएको छ । त्यसकारण आधारभूत तहको  विद्यार्थीहरुमा त्यति धेरै समस्या नदेखिए पनि कक्षा १०, ११ र १२ को माध्यमिक तहको विद्यार्थीहरुको वार्षिक परीक्षाको अन्तिम तयारी भएको समयमा अचानक आएको विपत्तिका कारण अन्योल शृजना भएको छ ।

अहिले देशभरी बालशिक्षा देखि विश्वविद्यालय तहसम्म झन्डै ८० लाख विद्यार्थीहरु लकडाउनका कारण नियमित पठनपाठन ठप्प बनेको छ । यस्तो समयमा हाम्रो देशमा  सुशुप्त अवस्थामा रहेको खुल्ला शिक्षा अन्तर्गत अनलाइन शिक्षाको महत्व ह्वात्तै वर्षाको भेल झैं आएको छ ।

अहिले अधिकांश विद्यालयहरुले विद्यार्थीहरुलाई उनीहरुको सिकाइ क्रियाकलापमा निरन्तरता दिने उद्देश्यले विभिन्न एप्सहरुको माध्यमबाट अनलाइन कक्षाहरु सञ्चालन गरिएको छ । यो आलेखमा विशेष गरि अनलाईन शिक्षाले वर्तमान बाल मनोविज्ञानमा कस्तो प्रभाव पर्दछ र अभिभाबकको दायित्वका बारेमा छलफल गर्ने प्रयास गरिएको छ ।

हाम्रो जस्तो अल्पविकसित तथा विकासोन्मुख देशको लागि कुनै पनि विपत्ति भयानक नै हुन्छ । अहिलेको यो विश्व महामारी जस्तो  विषम परिस्थितिमा घरमा भएका स–साना नानीबाबुहरुलाई रचनात्मक रुपमा सिकाइ प्रक्रियामा सहभागी गराउनु जति उपलब्धिमुलक छ त्यो भन्दा बढी चुनौती छ ।  हाम्रो देशमा अझै पनि जनस्तरमा शिक्षाको महत्वको कमी अथवा जनचेतनाको कमजोरीको कारण भएर होला विद्यालय तह शिक्षा संविधानत निशुल्क तथा अनिवार्य भनिएपनि सत् प्रतिशत विद्यार्थी भर्ना गर्न सकिएको अवस्था छैन ।

यसको अन्य कारणबारे विभिन्न समयमा विभिन्न माध्यमबाट सार्वजनिक भईसकेको छ । व्यापारिक ठूला घरानियाहरुले सहरमा खोलिएका सिमित निजी  शैक्षिक संस्था बाहेक अधिकांश विद्यालयमा अझै पनि प्रशस्त मात्रामा शैक्षिक सामग्रीको उपलब्ध छैन । कतिपय क्षेत्रमा शैक्षिक सत्रको अन्तिम समयसम्म पाठ्यपुस्तक पुगेको हुदैन ।

अहिलेको अवस्थामा सबै कुराहरुको बारेमा भन्दा पनि न्युनतम रुपमा राज्यको तर्फबाट जुन तयारी भइरहेको छ के ति सम्पूर्ण तयारीले आमरुपमा अनलाईन शिक्षा सफल हुनेमा आश्वस्त हुने आधार  छ त ? के हाम्रो देशको सत् प्रतिशत जनसंख्यामा इन्टरनेट सहितको अन्य प्राविधिक पहुँचमा छ त ? अझै विशेष गरि सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरु जो ग्रामिण भू–भागमा न्युनतम तथा आधारभूत सुचनाको अभावमा रहेका छन् के ति बालबालिकाहरु राज्यको दायित्वमा  पर्दैनन् ? सहरमा विभिन्न मजदुरी गरि, घरयासी कामदारको रुपमा रहेर शिक्षा लिइरहेका बालबालिकाहरुवारे राज्यले सोच्नु पर्दैन ? के ति सम्पूर्णको पहुँचमा प्रबिधिको प्रयोग सहज छ त ?  त्यसकारण यी प्रश्नहरु प्रश्नको रुपबाट मात्र राखिएको छैन आखिर समाधान के त भन्ने कुरा हो ।

एक आर्थिक सर्र्वेेक्षणको तथ्यांक अनुसार देशमा जम्मा ७७.८५ प्रतिशत मात्र जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । कुल ५८ प्रतिशत जनसंख्यामा मात्र इन्टरनेटको सुविधा पुगेको छ । त्यसैगरी जम्मा २९ हजार ६०७  सामुदायिक विद्यालय मध्ये कम्प्युटरको सुविधा भएको विद्यालयको संख्या जम्मा ८ हजार ३६६ रहेको छ ।

समान कक्षामा पढ्ने विद्यार्थीहरु मध्ये एउटाको घरमा प्रविधिबाट सिक्न सम्पूर्ण सुविधा छ, ऊ शिक्षकहरुसँग लगातार सम्पर्कमा छ तर अर्कोे साथीसँग यो सुविधा नभएकै कारण शिक्षा लिनबाट बञ्चित हुने अवस्था आयो भने यसको दोषी को हुने ?  यी सबै कुराहरु मानव सभ्यताको विकासमा देखिने सामाजिक परिवर्तनहरु हुन् ।

यसै कर्ममा नेपाल सरकारबाट भएका केहि तयारी तथा निर्णयबारे पनि बुझ्नु जरुरी हुन आउछ । केहि समय अगाडि प्राप्त जानकारी अनुसार  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सर्वोच्च अदालतमा हालै एक प्रतिवेदन पेश गर्दै कक्षा नौ र दशको लागि नेपाल टेलिभिजनको एनटिभि प्लसबाट साताको छ दिन शिक्षण विधि सुरु गरिएको छ । यस्तै, कक्षा छ देखि कक्षा आठको लागि अनलाइन शिक्षा चालु गर्न मूल विषयका लागि डिजिटल सिकाइ विकास गरी पाठ्यक्रम विकास केन्द्रको वेभसाइटमा उपलब्ध गराइसकिएको जनाइएको छ ।

कोरोना भाइरस संक्रमण (कोभिड–१९) को महामारीको कारणले नियमित पठन–पाठन अवरुद्ध हुन गएमा विभिन्न सञ्चार माध्यमको उपयोग गरी वैकल्पिक शिक्षा र सिकाइको थप प्रबन्ध गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्र मार्फत नयाँ सिकाइ सामग्री विकासका लागि कार्यटोली निर्माण भई कार्यटोलीबाट कार्यप्रारम्भ भईसकेको छ । साथै गैर सरकारी र निजी क्षेत्रको सहकार्य र संलग्नतामा वैकल्पिक शिक्षक सेवाको प्रवन्ध प्रयास भईरहेको छ ।

माथि उल्लेख गरिएको नेपाल सरकारको निर्णय तथा पहलकदमी पक्कै पनि प्रसंसनीय छ अबको समय भनेको प्रविधिको माध्यमबाट नै शिक्षा लिने तथा दिने हुनुपर्छ । यद्यपि यदि पूर्व तयारी बिना कार्यक्रम लागु गरियो भने यसले पर्ने दूरगामी असर प्रति नतमस्तक हुनु घातक हुनेछ । तसर्थ यहाँ वर्तमान परिप्रेक्षमा यी सामान्य घटनाक्रमले विविध पक्षहरुलाई कसरी असर गर्दछ अनि सम्बन्धित पक्षको दायित्वका वारेमा केहि प्रकाश पार्न खोजिएको छ ।

मनोवैज्ञानिक पक्ष
बालबालिकाहरु  स्वाभाविकै जसरि शारीरिकरुपमा वृद्धि भइरहेको हुन्छ त्यसैगरी मानसिकरुपमा पनि विकास हुने क्रम निरन्तर चल्दछ । समाजमा भए गरेका अनेक घटनाक्रममा चासो व्यक्त गर्दछन जुन कुरा उनीहरुको नैसर्गिक अधिकारको कुरा पनि हो । हाम्रो समाजमा विगत एक डेढ दशक यता मुख्य रुपमा सञ्चारमा तिब्र गतिमा विकास भयो र यसको भरपुर उपयोग हुँदै गएको छ ।

तथापी यो प्रकारको विकासले जसरि धेरै पक्षमा फाइदा पुगेको छ त्यसै अनुरुप बेफाइदा पनि छन् । यस्तै संचार माध्यमको दुरुपयोगले ठूला–ठूला साइवर अपराध, पेशेवर घटना, बलात्कार जस्तो जघन्य खालका अपराधको मुख्य सहयोगी साधनको रुपमा  प्रयोग भएको हुन्छ ।

अर्को तिर, जब सानै उमेरमा प्रविधिको पहुँच हुन्छ त्यसको कलिलो दिमागमा रमाइलो मात्र रुचाउने र यसले रचनात्मकता क्षमतामा ह्रास ल्याउने पनि उत्तिकै सम्भावना हुन्छ । म एक शिक्षक पनि भएको हुँदा  विद्यार्थी र अभिभावकको सम्पर्कमा विद्यालयमा आउने अभिभावकले धेरै जसो गुनासो गर्ने भनेको घरमा नानीबाबुहरुमा मोवाइल प्रयोगको कारण पढाइप्रति मन नगर्नु ।

उनीहरुले मोबाइलमा गेम खेलेर समय खेर फाल्नु अनि विद्यालयबाट दिइएको गृहकार्यमा ध्यान नजानु जसले गर्दा अभिभावकमा यो कुरालाई  मुख्य समस्या मान्दै आएको छ । जब नानीबाबुहरुमा कुनै गेमको लत लागेको छ भने पक्कै पनि त्यो लत कुनै ड्रग्सको लत भन्दा कम हुँदैन । हामीले जति गरेपनि त्यो लतबाट जबर्जस्ती बाहिर ल्याउन गाह्रो छ ।

यदि जबर्जस्ती गर्न खोजियो भने यसले पक्कै पनि राम्रो परिणाम ल्याउदैन । यस्तो अवस्थामा उनीहरुलाई मनोवैैज्ञानिक परामर्शको जरुरी पर्दछ जसले गर्दा उनीहरुमा रचनात्मक कार्य गर्न प्रेरित हुनेछ । वर्तमान समयमा लकडाउनको कारण उनीहरुलाई घरमा धेरै समय पढेर बस्न पनि गाह्रो, बाहिर खेल्न पठाउन पनि बन्द भएकोले अहिले आएर अनलाईन कक्षाको माग बढी भएको हो । यद्धपि यो समयमा घरको अभिभावकको पर्याप्त अनुगुमन विनै त्यस्ता अनलाइन कक्षामा त्यसै छोडिदियो भने तोकिएको समय सिमित हुन सक्छ ।

अनि, अनलाइन कक्षाको लागि भनेर एक–आधा घण्टा अथवा केहि थोरै समयको लागि रचनात्मक कार्यमा उपयोगी हुन सक्छ । तर, यसको निहुँमा पुरै समय  मोबाइल तथा कम्प्युटरमा दिने अनि घरमा कसैको आबश्यक निगरानी हुन सकेन भने यसको नकारात्मक पाटोले बालबालिकाको मनोविज्ञानमा गहिरो छाप पर्न सक्छ । यसैगरी, यो खालको कक्षा सञ्चालन गर्दा अनेक तरिकाले उनीहरुको मस्तिष्कमा नराम्रो बुझाई हुन सक्छ ।

जुन किसिमबाट हाम्रो समाजमा वर्गीय विभेद धेरै रहेको छ जुन विभेदको कारण शृजना भएको खाडल धनि र गरीब, हुने खाने र हुदा खाने, मालिक र मजदुर आदि । जसले गर्दा एउटा त्यो परिवार जुन आर्थिक रुपमा सम्पन्न छन्, उनीहरुको लागि हरेक विकल्प खुल्ला रहन्छ भने अर्को परिवार जहाँ बिहान साँझ हातमुख जोर्न धौं धौं पर्ने परिवारको बालबालिकाहरु जसले यी सबै कुराहरु सुन्न मात्र पाउछन् ।

तर, उपयोग गर्न पाउदैनन भने उनीहरुको मनोविज्ञानमा  साच्चै दिर्घकालिन असर हुनेछ । यसले गर्दा अभिभावकमा पनि हिनतावोधको भावना जागृत हुन सक्छ । हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् जब हामी सहि किसिमबाट अगाडी बढ्न सकियो भने दुर्घटना हुने सम्भावना कम हुन्छ ।

अबको दायित्व
अबको आगामी बाटो सहज गर्नकालागि सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नो दायित्व महसुस गर्नु पर्छ । तत्कालका लागि मुख्य जिम्मेवारी मुलत अभिभावक कै हुन्छ । किनकि अहिलेको समय सत्प्रतिशत बालबालिकाहरु घरमै हुने हुँदा अभिभावक विशेष जिम्मेवारी बन्नु पर्दछ । अभिभावक दायित्व भनेको कुनै बच्चालाई जन्म दिनु मात्र होइन, उसलाई असल र सक्षम  बनाउनु पहिलो र अत्यावश्यक पाटो हो ।

कुनै बालकको घर पहिलो पाठशाला हो भने उसको परिवार र परिवारका सदस्यले गर्ने कियाकलाप बालकको शिक्षाको पहिलो आधार हो । तसर्थ एक बालकलाई सहि मार्ग निर्देश गर्नु पहिलो जिम्मेवार उसको अभिभाबकको हुन्छ । अहिलेको यो विश्व महामारी कोरोनाको कारण विद्यालय जाने नानीबाबुहरुलाई विभिन्न किसिमका अनलाइन कक्षाहरु जसरी फेशनको रुपमा देखा परेका छन् ति विभिन्न साइटहरु बालबालिकाको सिकाइ क्रियाकलापमा सहयोगी छ कि छैन भन्ने वारे बुझ्नु अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी देखिएको छ ।

अभिभावकहरुले अनलाइन कक्षा भन्ने बित्तिकै सबै जिम्मा सम्बन्धित सिक्षकको हो भनेर आफु चुप लागेर बस्ने हो भने यी र यस प्रकारका कक्षाहरुको अपेक्षित उपलब्धि हासिल गर्न सकिदैन । किनभने शिक्षक आमने सामने भएर अध्यापन गरे जस्तो हुँदैन तत्काल विद्यार्थीमा यसको प्रभाव देखिदैन । यसको लागि अभिभावक आफै जागरुक भएर कुन शीर्षक हो, के को बारेमा छलफल हुँदै छ भनेर चासो लिएर उसको सिकाइमा सहभागी बन्ने हो भने मात्र उनीहरुको ध्यान केन्द्रित गर्न सहज हुन्छ ।

अहिलेको परिस्थितिमा यो वातावरण देखिदैन । जब कि बुबा आमा दुवै जना आ–आफ्नै संसारमा व्यस्त अनि बालबालिकाहरुलाई राम्रो किसिमबाट अनुगमन गर्न नसक्दा भविष्यमा पछुताउनु भन्दा अरु विकल्प रहदैन । यसको समाधानको लागि आफ्नो बच्चाले को सँग के सिकिरहेको छ ? सिकाउने मान्छे कस्तो छ ? र बच्चाको बुझाई के छ ? भन्ने बारेमा वृस्तृतरुपमा समयमै ध्यान पुर्याउने गर्यो भने आफुले सोचे अनुरुप हुन सक्छ र भविष्यको पुस्ता सफल र असल हुन्छ जसले गर्दा नविन समाजको उदय हुन सक्छ ।

अहिले कोरोना भाईरसको कारण विश्वमा शिक्षाको क्षेत्रमा एउटा तरङ्ग शृजना भएको छ । जसरी नेपालमा एसईई र कक्षा ११ र १२ को अन्तिम परीक्षाको अन्योल भएको छ त्यसैगरि अहिले विश्वमा धेरै देशहरुमा ति देशहरुको स्रोत र साधनलाई मध्यनजर गर्दै आ–आफ्नै निर्णय भएका छन् । झन्डै ७० भन्दा धेरै देशहरुले तोकिएको तालिकामा पुनरावलोकन गरि पुनः परिक्षा लिने भन्ने छ जसका लागि यो कोरोनाको पूर्ण रुपमा अन्त्य नहुन्जेल पर्खनु पर्ने हुन्छ ।

कतिपय देशहरुमा विगतको रिजल्टको मूल्याङ्कनको आधारमा प्रमाणीकरण गर्ने भन्ने भएको छ भने कुनै देशहरुमा अनलाइन परीक्षा लिने भन्ने पनि छ । हाम्रो देशको तयारी हेर्दा पहिलो तरिका नै लागु गर्ने तयारी देखिन्छ । जसकालागि कुनै निश्चित मिति छैन, किनकि यसका लागि कोरोनको त्रास पूर्ण रुपमा हट्नु पर्दछ ।

यसै सन्दर्भमा केहि शिक्षाविद्हरुले हाम्रो देशमा प्रचलनमा रहदै आएको परीक्षा प्रणाली खारेज गर्नु पर्छ भन्ने तर्क गरेको पनि पाइएको छ जुन कुरा अहिलेको समयमा तर्क संगत छैन । परीक्षा भनेको पाठ्यक्रमको उद्देश्य अनुरुप कक्षा कोठामा निश्चित समय लगाएर पूर्व निर्धारित तालिका अनुसार नियमित मूल्याङ्कन गर्नकोलागि तयार गरिने  शैक्षिणक विधि हो ।  साच्चै ३ घन्टे परीक्षाको मुल्यांकन गर्ने प्रणाली अन्त्य आवश्यक छ, तथापी अहिलेको समयमा यो उपयोगी हुँदैन ।

आगामी शैक्षिक सत्र देखि शैक्षिक गतिविधि तथा क्रियाकलाप लगायत मूल्याङ्कनको समग्र रुपमा परिवर्तन गर्ने गरि आमुल रुपमा शिक्षा क्षेत्रमा नयाँ आयाम दिने खालको योजना र कार्यक्रम आओस् । धेरै समय देखिको आधुनिक शिक्षा, वैैज्ञानिक शिक्षा तथा प्रविधिमैत्री शिक्षा भन्ने जुन जप लगाएर सुँगा रटान गरिदै आएको छ अब त समयले नै चुनौती दिएको यो अबस्थामा केहि नयाँ र वस्तुनिष्ठ नै हुन्छ ।

यसरि केहि नयाँ गर्नको लागि पुरानो भत्काउनु पनि पर्छ जुन समयले नै माग गरेको यो परिवेशमा हामी सबैको लागि  यो कोरोना नेपाल र नेपाली समाजको लागि बरदान साबित हुनेछ ।

अन्त्यमा, यसरि अभिभावक, समाज र राज्यबाट आ–आफ्नो दायित्व बोध गर्ने हो भने आउने युग निश्चित तरिकाले राष्ट्रले कल्पना गरे अनुसार हाम्रो देश विकासोन्मुख राष्ट्रबाट बिकसित राष्ट्र तर्फको यात्रामा अगाडी बढ्ने छ । जसका लागि देशको प्रमुख लगानी शिक्षामा हुनुपर्दछ । आगामी शैक्षिक सत्रदेखि अनलाईन शिक्षालाइ समेत समेट्ने गरि वृृहत कार्यक्रम तयार गर्न सकियो भने आजका बालबालिका साच्चै भोलिको समृद्ध नेपालको सुन्दर रचायीता हुन सक्छन यसका लागि हामी सबैले आ आफ्नो ठाउँबाट रचनात्मक कार्य गरौं ।

भुसाल जनकल्याण माध्यमिक विद्यालय बौद्ध काठमाडौंका शिक्षक हुन् 

प्रतिकृया दिनुहोस्