कोभिड–१९ संकटको घडीमा काम र माममा आधारित साक्षरता शिक्षा आवश्यक

सन्दर्भ : ५४ औं अन्तराष्ट्रिय साक्षरता दिवस

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२३ भाद्र २०७७, मंगलवार
पाण्डव सुवाल

शिक्षा मानिसको आँखा हो । शिक्षाको पहिलो सुरुवात घरबाटै हुन्छ । जसको घरमा शिक्षित व्यक्ति हुन्छन् त्यस घरका बालबालिकाले सानैदेखि धेरै ज्ञान सिकेको हुन्छ । अतः बच्चाका पहिलो गुरु घरकै बा आमा हुन् ।

एक दुई जना व्यक्ति शिक्षित हुँदैमा समुदाय राम्रो हुने होइन । समुदायका सवै शिक्षित हुनु आवश्यक छ । हाम्रो देशको सन्दर्भमा शिक्षा प्राप्त गर्ने थलोको रुपमा विद्यालयलाई लिइन्छ । विद्यालय जीवन नभएकाहरूलाई साक्षर बनाउन विभिन्न धार्मिक संस्था, पुस्तकालय, औपचारिक विद्यालय, सामुदायिक सिकाई केन्द्र (clc) आदि स्थापना भएका छन् । सरकारले “सबैको लागि शिक्षा” भन्ने नारा लिएको छ । विद्यालय शिक्षाको पहुँच भएपनि विद्यार्थी टिकाउने समस्या छ । पहुँचको भरमा जागिर खाने भएरै विद्यालयप्रति शिक्षकको लगाव कम भएको छ । आभारभूत शिक्षा (कक्षा ८) स्थानीय तहको जिम्मेवारीमा गएपनि संयन्त्रको अभावले व्यवस्थापन गर्न सकिरहेको छैन ।

निरक्षर व्यक्तिहरूलाई साक्षर बनाउन सरकारले सञ्चालन गरेको प्रौढ शिक्षा, साक्षरोत्तर शिक्षा, महिला शिक्षाले कामकाजी महिलालाई समेट्न सकेको छैन । आधा दशकसम्म पनि उही पद्दती र पारामा सञ्चालन भएका साक्षरता कक्षाको उपलव्धि आशातीत हुन नसकेको विज्ञहरूको बुझाई छ ।

नेपाल सरकारले दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्न २०७० देखि साक्षरता कक्षा निरन्तररुपमा सञ्चालन गरेको छ । तर, लक्ष्यअनुरुपको सफलता प्राप्त हुन सकेको छैन । यस वर्ष साक्षर नेपाल घोषणा गर्ने भनी सरकारले वजेट वक्तव्यमा भन्यो तर, त्यसअनुरुपको कुनै तयारी गरेको छैन । सरकारमा गएका पार्टी र नेताहरू सस्तो लोकप्रियताका लागि कार्यक्रम घोषणामै सिमित भएकै कारण सबै क्षेत्र अस्तव्यस्त भएको हो ।

कामको लागि शिक्षा
साक्षरता नहुँदा समाजमा अन्धविश्वासले जरा गाडिएको छ । बोक्सीको आरोपमा महिनामाथि हिंसा हत्या भईरहेका छन् । झारफुक उपचारको नाममा महिनामाथि बलात्कार भएका छन् । दलितका नाममा मानिस मानिसवीच विभेद छ । अतः समाजमा जकडिएको कुरितीका विरुद्ध साक्षरता शिक्षा सञ्चालन हुनु पर्दछ ।

सिक्ने र सिकाउने प्रक्रिया जीवनभर चलिरहन्छ । मानिसले के सिक्ने, कति सिक्ने भनि केलाउँदा यसलाई नाप्न र गन्न सकिन्न । मानिसलाई जीवनभर चाहिने ज्ञान, सीप, मूल्य र बोध विभिन्न तवरले हासिल गर्दछ । सिकाइ कक्षा कोठाभित्र मात्र सिक्नु पर्छ भन्ने होइन । सिकारुको अनुकूलतामा सिकाइ लचिलो र विविधतामा आधारित हुनुपर्छ । सिकाइ जीवन पर्यन्त चाहिने भएकोले सिकाइ (शिक्षा) सिकारुको काम र मामसँग जोडिनु पर्दछ ।

विद्यार्थीहरूका लागि परीक्षामा पास गर्ने शिक्षा आवश्यक हुन्छ भने शिक्षकहरूको लागि विद्यार्थीलाई थप ज्ञान सिकाउने सीपको खाँचो हुन्छ । विद्यालय वा कलेज पास गरेका युवाका लागि नोकरीको परीक्षा (लोकसेवा) मा पास गर्ने शिक्षा आवश्यक हुन्छ भने भर्खरै नोकरीमा प्रवेश गरेका कर्मचारीका लागि कार्यालयको कामका विषयमा तरिका सिकाउने शिक्षा आवश्यक हुन्छ । त्यस्तै लेखपढ गर्न नजान्नेहरूको लागि आफ्नो नाम, कोठा र बसको नम्बर र साधारण हिसाव गर्न सिकाउने र मोवाइल चलाउन सिकाउने शिक्षा आवश्यक भएजस्तै नवसाक्षर भएकालाई आफ्नो दैनिक व्यवहारमा आइपर्ने कामकाजको लागि चाहिने शिक्षा प्रदान गरेमा मात्र ऊ साक्षरता कक्षामा टिकिरहन्छ ।

कामकाजी महिलाको लागि उसको दैनिक जीवन गुजारा हुने घरेलु तथा परम्परागत ज्ञान, सीप सिकाउनु आवश्यक छ । जसको सहायताले मामका लागि काम गर्न सिकाउँछ । साक्षरता कक्षामा सिकाउने ज्ञान, सीपले घर चलाउन र बच्चाको शिक्षा–दिक्षाको लागि आय आर्जन हुने विषय सिकाएमा मात्र ऊ निरन्तर कक्षामा सहभागी हुन्छ ।

निरन्तरको शिक्षाले आफ्नो विषयमा विज्ञतासमेत हासिल हुने भएकोले थप शिक्षा प्राप्त गर्न उत्साहित हुन्छ । हिजोको जस्तो कितावकै भरमा शिक्षा आर्जन गर्नुपर्छ भन्ने होइन । घरमै बसेर इन्टरनेटको माध्यमबाट धेरै कुरा सिक्न सकिन्छ ।

जीवनपर्यन्त सिकाई निरन्तर आफ्नो लागि तथा स्वउत्प्रेरितरुपमा व्यक्तिगत वा पेशागत ज्ञान सीपको खोजी गर्ने प्रक्रिया हो । जसकोकारण साधारण मानिस पनि सफल हुन्छ । कुनै विषयमा निरन्तरको प्रयाशले नै सफलतामा पुग्ने भएकोले शिक्षा (सिकाइ) जीवन पर्यन्त आवश्यक छ । सो कुरालाई प्रविधिको सहायताले सिक्ने अहिलेको समयमा सिकाइको स्रोत धेरै छन् । तर आफूलाई के र कुन आवश्यक हो सो छुट्याउन सक्नु पर्दछ । होइन भने प्रविधिले हामीलाई विकृतीतर्फ डोहोर्याउन सक्छ । कुनै पनि विषयमा आलोचना गरेर हेर्ने र सो विषयमा गहिरो अध्ययन गर्नु आवश्यक छ ।

कोरोना र साक्षरता दिवसको नारा
गतवर्ष डिसेम्वरको अन्त्यमा चीनको उहानमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) ले संसारको जनजीवनलाई प्रभावित पार्यो । नेपालमा पनि भाइरसको सङ्क्रमण भएसँगै चार महिना सरकारले लकडाउन घोषणा गर्यो । लकडाउनको अवधिमा गर्नुपर्ने कुनैपनि तयारी सरकारकोतर्फबाट गर्न नसक्दा सङ्क्रमण समुदायस्तरमा पुगेको छ । अहिले हामी पुनः लकडाउनजस्तै निशेधाज्ञामा छौँ ।

यो अवस्थामा मानिस घरवाहिर निस्कन पाएका छैनन् । घर बाहिर निस्कन नपाउँदा संरचनागत विद्यालय र कलेज शिक्षाले निरन्तरता पाएका छैनन् । केहीले रेडियो, दुरशिक्षा, टेलिभिजन, भर्चुअल र अनलाईन भनी कक्षा चलाएका छन् । तर सबैको पहुँच नपुगेकैले प्रभावकारी हुन नसकेको गुनासो आएको छ । परिस्थितिले निम्त्याएको त्यस्तो शिक्षाबाट हुनेले मात्र सिक्ने मौका पाए । पहुँच सबैको अधिकार भएपनि राज्यले त्यसतर्फ ध्यान नदिंदा नागरिकमा विभेद भयो । पुँजीवादी व्यवस्था सक्नेले गर्ने र हुनेले खाने भएकाले नसक्ने र नहुनेका लागि समाजवादी व्यवस्था नै आवश्यक छ ।

५४ औँ अन्तर्राष्ट्रिय दिवसको यस वर्षको नारा “कोभिड –१९ को संकट र तत्पश्चातको सन्दर्भमा साक्षरता शिक्षा तथा सिकाइमा शिक्षाकर्मीको भूमिका” रहेको छ । कोभिड–१९ सङ्क्रमण र नियन्त्रणको लागि सचेतना नै महत्वपूर्ण हो । जसकालागि शिक्षाकर्मी र सामाजिक अभियन्ताको भूमिका महत्वपूर्ण छ । यस संकटको घडीमा काम र माममा आधारित साक्षरता शिक्षा सञ्चालन गर्नु पर्दछ ।

समाजमा हुने हरेक विषयमा सरकारको निर्णयले फरक पार्ने भएकोले कोभिड–१९ को सङ्क्रमणमासमेत सरकार भ्रष्टाचारमै व्यस्त छ । सत्ता र शक्तिकैबीचमा रमाएका यी पुँजीवादी पार्टीका नेताहरूलाई पाठ सिकाउन कामदार जनताको एकता अपरिहार्य छ । समाजवादी बन्दोवस्तको चीनले कोभिड–१९ लाई नियन्त्रण गर्न सफल भएबाट नेपाल सरकारले नसिकेको हुँदा पुँजीवादी बन्दोवस्तकाविरुद्ध कामदार जनता एक हुनुको विकल्प छैन । समाजवादी बन्दोवस्तले मात्र समग्र समस्याको समाधान गर्नेछ ।

२०७७ भदौ २२ गते

प्रतिकृया दिनुहोस्