जोखिमबीच धमाधम पढाइ

Avatar photo

Byएजुकेशन पाटी

१६ आश्विन २०७७, शुक्रबार

बुटवल  । कोरोना संक्रमणको जोखिमबीच निजी तथा सामुदायिक विद्यालय धमाधम खुल्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका जारी गरी विभिन्न विधिमार्फत विद्यार्थी सिकाइ सहजीकरण गर्न भनेपछि विद्यालय खुल्न थालेका हुन् ।

निर्देशिकाले उल्लेख गरेका विभिन्न विकल्पमध्ये अधिकांशले विद्यालयलाई सिकाइ केन्द्र मानेर प्रत्यक्ष कक्षामा जोड दिएका छन् । निर्देशिकाले प्रस्ट रूपमा विद्यालय खोल्ने भनेको छैन । सबैको अनलाइनमा पहुँच नभएपछि प्रत्यक्ष कक्षामा जान बाध्य भएको विद्यालयको भनाइ छ । थोरै विद्यार्थी भएका विद्यालयमा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गर्न सहज भए पनि धेरै विद्यार्थी भएका विद्यालयमा जोखिमका बीच कक्षा चलाउन थालिएका छन् ।

अनलाइनको पहुँच सहज नहुँदा र अभिभावकहरू पनि स्वास्थ्य सुरक्षाप्रति ढुक्क नहुँदा सिकाइमा कठिनाइ भइरहेको एनप्याब्सन दाङका अध्यक्ष विमल गौतमले बताए । ‘इन्टरनेटको सबैका घर घरमा कहाँबाट हुनु ? गाउँमा अनलाइन सिकाइ सम्भव नै छैन । त्यसैले कक्षाकोठालाई नै सिकाइ केन्द्र बनाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘कक्षाकोठामै पठाउन पनि सबै अभिभावक तयार छैनन् । हामीलाई पनि कुरा बुझाउन कठिन छ ।’

स्कुल बसहरू चलाउन दिइएको छैन । विद्यालयमै सिकाइ केन्द्र बनाउन पनि कठिन भएको उनले बताए । रूपन्देहीका विद्यालयहरू खुले पनि विद्यार्थीको उल्लेख्य उपस्थिति छैन । तिलोत्तमा नगरमा प्याब्सनअन्तर्गतका ४२ विद्यालय सञ्चालनमा छन् । यिनमा १५ प्रतिशत विद्यालयले समूहगत (क्लस्टर) माध्यमबाट पढाउन थालेको प्याब्सन नगर अध्यक्ष डीबी थापाले बताए । ‘औपचारिक रूपमा विद्यालय खोलेर, पोसाकसहित पढाएका छैनौं,’ उनले भने ।

सैनामैना नगरको रामापुर माविमा गत सातादेखि विद्यार्थी पढ्न थालेका छन् । बिहानी र दिउँसो गरी २ चरणमा अध्यापन गरिएको प्रधानाध्यापक कृष्ण पौडेलले बताए । ‘साना बाबुनानीलाई अनिवार्य अभिभावकसँगै बोलाउने र होमवर्क दिएर पठाउने गरेका छौं,’ उनले भने, ‘ठूलालाई स्वास्थ्य मापदण्ड अपनाएर कक्षामा प्रवेश गराउँछौं ।’ विद्यालय प्रवेशद्वारमा ज्वरो जाँच गर्ने, मास्क र सेनिटाइजर अनिवार्य लगाउन पठाउने र कक्षामा २० जनामात्रै राखेर पढाउने गरिएको उनले बताए ।

घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख विनोद गौतमले विद्यालयलाई अस्थायी सिकाइ केन्द्र कायम गरेर कक्षा सञ्चालन गरिरहेको बताए । ‘नियम पालना गरेर शिक्षण भइरहेको छ,’ उनले भने, ‘बजारका अन्य गतिविधिमा धेरै लापरबाही छ । विद्यालयमा पूर्ण मापदण्ड पालना गरेर काम भइरहेको छ ।’

सतर्कता अपनाएर कक्षा

६ महिनापछि कपिलवस्तु सदरमुकाम तौलिहवाका सामुदायिक र निजी विद्यालय खुलेका छन् । केहीले सहजीकरण कक्षा र कसैले वैकल्पिक शिक्षा भनेर पढाइ सुरु गरेका हुन् । गत आइतबारदेखि पढाइ थालेका विद्यालयहरूले सुरक्षा मापदण्डलाई पनि पालना गरेका छन् । विद्यार्थीहरूले मास्क लगाए नलगाएको मूल ढोकामै जाँच गरिन्छ । मास्कबिना प्रवेश पाउँदैनन् । ज्वरो मापन र साबुनपानीले हात धोएपछि मात्र कक्षाकोठमा प्रवेश गर्न पाउँछन् ।

बुधबार सदरमुकाम तौलिहवाको बुद्धपद्म माविमा कक्षा ९ का विद्यार्थीलाई ६ वटा कोठामा राखेर पढाइँदै थियो । ‘कक्षाअनुसार एक सातामा एक दिन पढाइन्छ,’ उक्त माविका प्रधानाध्यापक रामनिवास चौधरीले भने, ‘साताभरिकै लागि गृहकार्य दिएर पठाउँछौं ।’

कमजोर व्यवस्थापन

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले सामुदायिक विद्यालय खोल्न निर्देशन गर्‍यो । असोज १ देखि नै सामुदायिक विद्यालय खुलेका छन् । विद्यार्थी पनि पढ्न आउन थालेका छन् । विद्यालयले पुरानै तरिकाबाट पठनपाठन सुरु गरेका छन् । बिहान १० बजे आउने विद्यार्थी बेलुका ४ बजे घर फर्कन्छन् । सामान्यबाहेक सुरक्षा सतर्कता विद्यालयमा पालना हुन सकेको छैन । सिद्धमण्डली माविका प्रधानाध्यापक चिताराम केसीले सकेसम्म सुरक्षा सतर्कता अपनाएर पठनपाठन सुरु गरेको बताए ।

शुल्क असुलीको विरोध

रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखाले विद्यार्थी तथा अभिभावकको हितविपरीत शुल्क असुलीको निर्णय गरेको भन्दै तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघ (नेविसंघ) सिद्धार्थनगर र भैरहवा बहुमुखी क्याम्पस एकाइ समितिले माग गरेका छन् । शिक्षा शाखाका प्रमुख उपसचिव चेतनशील लम्साललाई ज्ञापनपत्र बुझाएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य लेखनाथ भट्टराईले बताए । संयुक्त विद्यार्थी संघर्ष समिति रूपन्देहीले माग सुनुवाइ नभए शुल्क असुल गर्ने विद्यालयमा तालाबन्दी गर्ने जनाएको छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्