काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई  सञ्चालन भइरहेका १२ कलेजको कार्यक्रम खारेज गरेको छ। तीमध्ये १० वटा कलेजको ए लेभल कार्यक्रम खारेज गरेको हो।

करिब ६ महिनाअघि नवीकरण गर्न र आवश्यक काजगात र वक्यौदा तिर्न आग्रह गर्दा अटेर गरेपछि शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सम्बन्धन खारेज गरेको हो।

मन्त्रालयका अनुसार महाराजगन्जको ओरियन्ट, एपेक्स लाइफ स्कुल प्रालि बानेश्वर, एजे वाइल्ड इन्टच्युट अफ एड्भान्स स्टडिज प्रालि पानीपोखरी, एभरेस्ट एजुकेसन फाउन्डेसन बत्तीसपुतली, काठमार्डौ भ्याली मावि महाराजगन्ज, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर कोटेश्वर, पेन्टागन एजुकेसन नेटवर्क प्रालि तीनकुने, वृजवाटर इन्टरनेसनल एकेडेमी सिनामंगल, मल्पी इन्टरनेसनल महाराजगन्ज, साउथ वेस्टन कलेज धापासीको ए लेभल खारेज गरेको हो।

त्यस्तै ललितपुरका आईसीएचएमको बीबीए र बीए, कैलालीको वेस्टन इन्टरनेसनल विजनेस स्कुल प्रालिको बीबीए र एमबीए कार्यक्रम खारेज गरिएको छ।

मन्त्रालयले उच्चशिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९ को दफा ८ को उपदफा ६ र ६ ‘क’ बमोजिम प्रकृया पुरा नगरेपछि सो निर्देशिकाको दफा ८ को उपदफा ६ ‘क’ बमोजिम मन्त्रीस्तरीय निर्णय गरी सम्बन्धन खारेज गरेको हो। मन्त्रालयले हिजो सूचना जारी गरी सम्बन्धन खारेज भएको जनाएको हो।

२०७६ चैत्र ६ गते १०:५२मा प्रकाशित

प्रतिकृया दिनुहोस्