काठमाडौं । सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नोअब्जेक्सन लेटर (एनओसी) उपलब्ध गराउने निर्णय गरेको छ । मंगवारको मन्त्रिपरिषद् बैठकले स्थगित एनओसी खोल्ने निर्णय गरेको हो ।

कोरोना जोखिम बढ्दै गएको भन्दै सरकारले एनओसी रोकेर नयाँ विद्यार्थीलाई विदेश अध्ययनको बाटो बन्द गरेको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णय गरी एनओसी जारी गरिनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेपछि बैठकले एनओसी खोल्ने निर्णय गरेको हो ।

एनओसी रोकिँदा ३५ हजार विद्यार्थीको शैक्षिक गतिविधि नै रोकिएको गत फागुन २९ गतेको मन्त्रिपरिषद् बैठकले एनओसी रोक्ने निर्णय गरेको थियो ।

शिक्षा मन्त्रालयका अनुसार आव २०७५–७६ मा अस्ट्रेलिया, अमेरिका, बेलायत, युरोप, जापान, साउथ कोरिया, भारतलगायत देशमा अध्ययनका लागि कुल ६३ हजार विद्यार्थीले एनओसी लिएका थिए भने २०७६–७७ मा ३२ हजारले लिएका थिए ।

यस्तै, मन्त्रिपरिषद् बैठकले शिक्षा सेवा आयोगको रिक्त अध्यक्ष र सदस्यको नियुक्तिको लागि लोकसेवा आयोगको अध्यक्षको नेतृत्वमा सर्च कमिटी गठन गरेको शिक्षामन्त्रीका स्वकिय सचिव पुरन केसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्