
काठमाडौं । सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता र विद्यालय कर्मचारीको तलवसुविधा वृद्धि गरेको छ । सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपैयाँ, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको पनि पारिश्रमिक बढाउने निर्णय गरेको हो।
शिक्षामन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार माध्यमिक तहमा अनुदान कोटामा कार्यरत शिक्षकको पारिश्रमिक अब माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम हुनेछ। त्यस्तै, आधारभूत तह (कक्षा ६–८) का शिक्षकको पारिश्रमिक निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह हुनेछ।
नयाँ निर्णयअनुसार माध्यमिक तहका अनुदान कोटाका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ। यसैगरी, आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट बढेर ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ।
सरकारले प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिकमा पनि मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ।
सरकारको यो निर्णयसँगै लामो समयदेखि अनुदान कोटामा कार्यरत शिक्षक, ईसीडी सहजकर्ता तथा विद्यालय कर्मचारीले प्राप्त गर्दै आएको पारिश्रमिकमा उल्लेख्य सुधार हुने भएको छ।
