काठमाडौं । नेपाल शिक्षक महासंघले विगतका सहमति तथा शिक्षक–कर्मचारीका पेसागत हकहितका विषयहरू सम्बोधन नभए आगामी भदौदेखि सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शुक्रबार तेस्रो राष्ट्रिय परिषद्का निर्णयहरू सार्वजनिक गर्दै महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । विगतका र समसामयिक नयाँ शैक्षिक तथा पेसागत माग समेत समावेश गरी भदौदेखि आन्दोलन गर्ने निर्णय भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

परिषद्ले आन्दोलनका कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यालयीय बैठकलाई प्रत्यायोजन गरेको जनाएको छ।

परिषद्ले महासंघको संशोधित विधान पारित गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा स्वीकृतिका लागि पेस गरिसकिएको जानकारी दिएको छ ।  साथै, चालु आर्थिक वर्ष २०८३र०८४ को बजेटमा प्रारम्भिक बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदान शिक्षकलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै तीव्र असन्तुष्टि जनाएको छ ।महासंघले २०८२ वैशाख १७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सबै शिक्षकलाई दुर्गम तथा स्थानीय भत्ता उपलब्ध गराउन तथा बालविकास शिक्षक र विद्यालय कर्मचारीका लागि स्थायी दरबन्दी सिर्जना गरी सेवा–सुविधा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

यस्तै, अस्थायी, राहत, साविक उमावि, करार तथा प्राविधिक धारका शिक्षक–कर्मचारीको पेसागत सुरक्षाका लागि आफू नै आधिकारिक संस्था भएको स्पष्ट पार्दै अनधिकृत रूपमा फारम भराउने वा रकम सङ्कलन गर्ने कार्यप्रति सचेत रहन आग्रह गरेको छ ।महासंघले सरकारसँग भएका पूर्वसहमतिअनुसार शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, कुल राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न तथा संविधानले सुनिश्चित गरेको निःशुल्क र अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयन गर्न पनि माग गरेको छ।

यसैबीच, परिषद्ले सुनसरीको कप्तानगञ्जबाट सुरु भई मधेश प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल शान्ति बहाली गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । साथै, पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा सहित अन्य पर्वतारोहीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

महासंघले विगतका शैक्षिक आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक, कर्मचारी तथा घाइतेहरूप्रति आभार व्यक्त गर्दै आगामी आन्दोलनलाई सफल बनाउन सबै शिक्षक–कर्मचारी एकताबद्ध हुन आह्वान गरेको छ।

  

प्रतिकृया दिनुहोस्