काठमाडौं । काठमाडौंको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा नमुना संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘रिलायन्स पब्लिक मोडेल युनाइटेड नेसन्स् (आरपी मुन)’ को ११औँ संस्करण आयोजना हुने भएको छ।

रिलायन्स एजुकेशन नेटवर्कले यही साउन २८ गतेदेखि ३१ गतेसम्म आयोजना गर्न लागेको सम्मेलनमा देशभरका विभिन्न विद्यालय तथा क्याम्पसबाट करिब २०० जना विद्यार्थी डेलिगेट्स सहभागी हुने जनाइएको छ।

२०७२ सालदेखि वार्षिक रूपमा आयोजना हुँदै आएको आरपी मुनको यस संस्करणमा काठमाडौं उपत्यकाका १८ तथा उपत्यकाबाहिर रुपन्देही, चितवन, धनुषालगायत जिल्लाका गरी २२ वटा विद्यालय तथा क्याम्पसका विद्यार्थी सहभागी हुनेछन्।

सम्मेलनको उद्घाटन साउन २८ गते शुक्रबार बिहान ११ बजे पाकिस्तानका लागि नेपालका पूर्वराजदूत तपस अधिकारीले गर्ने कार्यक्रम रहेको छ। सम्मेलनको समापन साउन ३१ गते आइतबार दिउँसो ३ः३० बजे हुने जनाइएको छ।

सम्मेलन निर्देशक दिलीप नेपालका अनुसार संयुक्त राष्ट्रसंघका गतिविधि र कार्यप्रणालीबारे विद्यार्थीलाई व्यवहारिक रूपमा अभ्यस्त गराउन सम्मेलन महत्वपूर्ण हुनेछ। सम्मेलनले विद्यार्थीको कूटनीतिक क्षमता, नेतृत्व विकास तथा अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको उनले बताए।

यस संस्करणमा विश्वका समसामयिक विषय तथा विश्वव्यापी चुनौतीलाई केन्द्रमा राखेर छलफल तथा अभ्यास गरिनेछ। मध्यपूर्वको भू–राजनीतिक अवस्था, इजरायल–अमेरिका–इरान द्वन्द्व, अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा पर्ने प्रभाव, जलवायु परिवर्तन, आर्थिक सुरक्षासहितका विषय सम्मेलनका प्रमुख एजेन्डा रहेका छन्।

त्यस्तै, साइबर अपराध तथा डिजिटल सुरक्षाको प्रभाव, आणविक हतियारको जोखिम न्यूनीकरण, मानव सुरक्षाका सवाल, खाद्य तथा स्वास्थ्य सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी वातावरणीय पारदर्शिता तथा स्वच्छ ऊर्जाको भविष्य, मानसिक स्वास्थ्य, सीमापार व्यवस्थापन, भन्सार नीति, पुरातात्त्विक संरक्षण तथा जातीय अल्पसंख्यकका अधिकारजस्ता विषयमा समेत विद्यार्थीहरूले छलफल गर्नेछन्।

तीन दिनसम्म चल्ने सम्मेलनमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्, निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समिति, आर्थिक तथा वित्तीय समिति, सामाजिक, सांस्कृतिक तथा मानवीय समिति, संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम र विश्व स्वास्थ्य संगठन  गरी ६ वटा नमुना संयुक्त राष्ट्रसंघीय समिति रहनेछन् ।

त्यस्तै, नेपालको संघीय संसद् र अन्तर्राष्ट्रिय प्रेस कर्प समेत सम्मेलनका महत्वपूर्ण फोरमका रूपमा रहनेछन् ।

सम्मेलनमार्फत विद्यार्थीलाई विश्व समाज, राजनीति, भूगोल तथा अर्थतन्त्रका विषयमा गहिरो सिकाइ हासिल गराउनुका साथै कूटनीतिक क्षमता, नेतृत्व, संवाद, अनुसन्धान तथा निर्णय क्षमता विकास गर्ने अपेक्षा गरिएको छ ।

रिलायन्स एजुकेशन नेटवर्कले विद्यार्थीलाई कक्षाकोठाको किताबी ज्ञानमा मात्र सीमित नराखी व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा व्यवहारिक ज्ञान अभिवृद्धिका लागि विभिन्न अतिरिक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिकृया दिनुहोस्