विराटनगर ।  विराटनगर महानगरपालिकाले १८ वर्ष पूरा गरेका नगर क्षेत्रका सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर विद्यालय सञ्चालनको तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढे लकडाउन गर्ने र विद्यालय सञ्चालनसम्बन्धी सबै अख्तियार स्थानीय तहलाई दिएपछि महानगरले संक्रमण न्यून हुँदै गएको भन्दै विद्यालय खोल्ने तयारी गरेको हो ।

‘विद्यार्थीलाई सधैं घरमा राखेर उनीहरूको भविष्यमाथि खेलबाड गर्न हुँदैन,’ महानगर प्रमुख भीम पराजुलीले भने, ‘पहिलो चरणमा १८ वर्ष पुगेका विद्यार्थीलाई खोपको व्यवस्था हुन्छ । त्यसपछि १८ वर्ष मुनिका विद्यार्थीको पालो आउनेछ ।’ महानगर क्षेत्रका निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि अधिकांश सार्वजनिक विद्यालय बन्द छन् । यसअघि विद्यार्थी भर्ना अभियान र पुस्तक वितरणका लागि भने विद्यालय खुलेका थिए । तर महानगरले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नेबारे निर्णय गर्न नसक्दा पठनपाठन अन्योल बनेको थियो ।

अनलाइन कक्षाका नाममा निजी विद्यालयले शतप्रतिशत शुल्क लिइरहेको अभिभावकहरूको गुनासो छ । यहाँका ‘क’ वर्गका निजी विद्यालयहरूले कक्षा ४ का विद्यार्थीबाट मासिक ४ हजार ५ सय र कक्षा १० काबाट मासिक ६ हजार ५ सय रुपैयाँ शुल्क लिँदै आएका छन् । ‘अनलाइन कक्षा पढाउँदा ५० प्रतिशत मात्र शुल्क लिन महानगरले आग्रह गर्दा निजी विद्यालय सञ्चालकहरूले अटेरी गरे,’ पराजुलीले भने, ‘त्यसैले अभिभावकको मर्म बुझेर विद्यार्थीलाई खोपको व्यवस्था गरी विद्यालय खोल्ने तयारी थालिएको हो ।’

महानगर क्षेत्रमा बालविकास संस्थाबाहेक सार्वजनिक, संस्थागत विद्यालय, मदरसा गरेर १ सय ८१ वटा शिक्षण संस्था छन् । ती संस्थामा ७० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

कान्तिपुरमा खबर छ।

प्रतिकृया दिनुहोस्