✍️ बसन्त पराजुली

नेपाली समाजमा शिक्षाको महत्त्व र यसप्रतिको बुझाइमा व्यापक परिवर्तन आएको छ। विद्यालयहरूमा नैतिकता, अनुशासन र सदाचारका कुराहरू सिकाइए तापनि बालबालिकाको पहिलो पाठशाला घर नै हो। यद्यपि, आजको बदलिँदो जीवनशैलीमा घरको वातावरण र अभिभावकीय दायित्वमा केही गम्भीर विचलनहरू देखा परेका छन्।

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाका कतिपय अभिभावकहरू आफ्नो पेसा वा रोजगारीमा अत्यधिक व्यस्त रहँदा छोराछोरीको सिकाइमा पर्याप्त ध्यान दिन सकिरहेका छैनन्। विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो सम्पूर्ण दायित्व पूरा भएको ठान्ने प्रवृत्ति केही अभिभावकहरूमा व्याप्त छ। घरमा शान्त र अध्ययनमैत्री वातावरण नहुनु तथा सामान्य कुरामा पनि अभिभावकहरूबीच झैझगडा हुनुजस्ता कारणले बालबालिकामा मानसिक तनाव सिर्जना हुने गरेको छ। शिक्षकहरूले कक्षाकोठामा जतिसुकै आदर्श र नैतिकताका कुरा सिकाए पनि, घरमा अभिभावकहरू आफैँ धुम्रपान वा मद्यपानमा संलग्न हुनु र साना बालबालिकालाई तिनै सरसामान किन्न पठाउनुले उनीहरूमा नकारात्मक संस्कार बसालिरहेको छ। अभिभावकको कुलतको सिको गर्दै भेप जस्ता आधुनिक हानिकारक वस्तुहरूको प्रयोग बालबालिकामा देखिनु र त्यसबाट उनीहरूमा रिसाउने, झगडा गर्ने वा शिक्षकसँगै प्रतिवाद गर्न खोज्ने जस्ता व्यवहारहरू बढ्नुले शिक्षा क्षेत्रमा गम्भीर चुनौती खडा गरेको छ।

कमजोर आर्थिक अवस्था भएका परिवारका अभिभावकहरू जीविकोपार्जनमै व्यस्त रहँदा बालबालिकाका दैनिक गतिविधिमा पर्याप्त निगरानी गर्न सक्दैनन्, जसले उनीहरूलाई अनलाइन गेमको लत तथा अन्य कुलतमा धकेल्न मद्दत पुर्‍याइरहेको छ। यस्तै, आधुनिक युगको प्रभावसँगै केही अभिभावकहरू आफैँ मोबाइल, टिकटक र सामाजिक सञ्जालमा घण्टौँ व्यस्त रहने तर बालबालिकालाई भने मोबाइल नहेर्न सल्लाह दिने दोहोरो चरित्र प्रस्तुत गर्छन्। अर्कोतर्फ, कमजोर विद्यार्थीका लागि थप अध्ययन वा अतिरिक्त कक्षाको पहल गर्दा घरायसी काममा सघाउनुपर्ने बहानामा असहमति जनाउने परिपाटीले गर्दा कतिपय बालबालिकाहरू बीचैमा पढाइ छाड्न बाध्य भइरहेका छन्।

निजी विद्यालयहरूको स्थिति पनि यसभन्दा फरक छैन। उनीहरू मुख्यतया नतिजा प्रदर्शन र अभिभावकको आर्थिक सामर्थ्यलाई बढी जोड दिने गर्छन्। नतिजा राम्रो आउँदा त्यसको जस लिने तर नतिजा बिग्रिएमा शिक्षकहरूले कक्षामा सिकाएको कुरा घरमा अभ्यास नभएको तर्क गर्दै त्यसको दोष अभिभावकतिर नै तेर्स्याउने प्रवृत्ति उत्तिकै देखिन्छ। यस अवस्थामा, स्थानीय तहले निजी र सामुदायिक दुवै किसिमका विद्यालयहरूको नियमित अनुगमन र नियमन गर्नु अपरिहार्य बनेको छ, जसले गर्दा विद्यालयको वास्तविक अवस्था उजागर भई शिक्षाको समग्र गुणस्तर कायम राख्न मद्दत पुग्छ।

यसैगरी, अहिले सामुदायिक तथा निजी दुवै किसिमका विद्यालयहरूमा तल्ला कक्षादेखि नै प्रेमसम्बन्धमा परिपक्व नहुँदै विवाह गर्ने प्रवृत्ति बढ्दो छ। कतिपय स्थानीय तहहरूले बालविवाह निषेधित क्षेत्र घोषणा गरे तापनि, उमेर नपुग्दै आपसी सहमतिमा भागी विवाह गर्ने र पछि उमेर पुगेपछि मात्र विवाह दर्ता गराउने व्यावहारिक परिपाटीले गर्दा यो समस्या पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। चेतनाको कमीका कारण कतिपय अभिभावकहरूले पनि यसलाई सामान्य रूपमा लिँदै सहजै स्वीकार्ने वा मान्यता दिने गरेको कताकता पाइन्छ। कतिपय अवस्थामा जोडी नै विद्यालय आएर अध्ययन गरे तापनि, विवाहपछिका पारिवारिक, सामाजिक र आर्थिक जिम्मेवारीका कारण उनीहरूको ध्यान पढाइमा पूर्ण रूपमा केन्द्रित हुन सक्दैन। यस्ता विद्यार्थीहरूले विवाहपश्चात् उत्कृष्ट वा राम्रो शिक्षा हासिल गरेका उदाहरणहरू भेटिँदैनन् । फलस्वरूप, उमेर नपुगी विवाह गरेका विद्यार्थीहरूको शैक्षिक स्तर र नतिजा अपेक्षाभन्दा निकै कमजोर रहने गरेको छ, जसले उनीहरूको उज्ज्वल भविष्यमा नै प्रश्नचिह्न खडा गरिदिएको छ।

अन्ततः, अभिभावकको नियमित चासो, सकारात्मक उत्प्रेरणा, भावनात्मक समर्थन तथा शैक्षिक क्रियाकलापमा सहकार्यले नै विद्यार्थीहरूको सिकाइ उपलब्धि, आत्मविश्वास र विद्यालयप्रतिको प्रतिबद्धतालाई सुदृढ बनाउन सक्छ। यस प्रकारको सकारात्मक अभिभावकीय अभ्यासले विद्यार्थीहरूको विद्यालय छाड्ने दर घटाउने, नियमित उपस्थिति सुनिश्चित गर्ने, असामाजिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने, कुलत तथा दुर्व्यसनको रोकथाम गर्ने र प्रविधिको अति प्रयोगबाट सिर्जित समस्याहरू न्यूनीकरण गर्न मद्दत गर्दछ। साथै, घरमा पठन संस्कृतिको विकास गर्दै अभिभावक र विद्यार्थी दुवैलाई अध्ययनप्रति जिम्मेवार बनाउन र बालबालिकामा विद्यालय, शिक्षक तथा अभिभावकहरूप्रति सकारात्मक मनोविज्ञानको विकास गर्न यसले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

(पराजुली, जनता माध्यमिक विद्यालय, शहीदनगर, डण्डामा अर्थशास्त्र शिक्षकको रूपमा कार्यरत छन्।)

प्रतिकृया दिनुहोस्