एसएलसीमा फेल शिक्षकलाई तलब !

Avatar photo

Byएजुकेशन पाटी

१२ श्रावण २०७८, मंगलवार

काठमाडौं । शिक्षा मन्त्रालयले २०७७ साउन ४ गते (मन्त्रीस्तरबाट) स्वीकृति प्राप्त गरी स्थानीय र प्रदेश तहमा ससर्त अनुदान एवं शिक्षा विकास तथा समन्वय एकाइबाट कार्यान्वयन हुने कार्यक्रम सम्बन्धित कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७/७८ मा एसएलसी दुई तथा दुईभन्दा बढी विषयमा फेल भएका शिक्षकको हकमा समेत तलब व्यवस्था गरेको छ।

पुस्तिकामा समुदायिक विद्यालयमा कार्यरत प्राथमिक तहको शिक्षकको हकमा एसएलसीमा दुई विषयमा अनुत्तीर्ण भएका शिक्षकको तलब तोक्दा सुरुको तलब स्केल २२ हजार १० रूपैयाँ तोकिएको छ। ग्रेड संख्या ६ र ग्रेड दर ७ सय ३४ रूपैयाँ गरी २०७७/७८ मा कुल २६ हजार ४ सय १४ रूपैयाँ तलब उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसैगरी प्राथमिक तहमा एसएलसीमा दुईभन्दा बढी विषयमा फेल भएकाहरू पनि शिक्षक भएका छन्। उनीहरूको हकमा गत वर्ष कार्यक्रम पुस्तिकाले सुरुको तलब स्केल २० हजार ६ सय ८० रूपैयाँ तोकेको छ।

कार्यक्रम पुस्तिकामा प्राथमिक तहका लागि एसएलसीलाई मात्र योग्यता मानेर तलब निर्धारण गरिएको छ। जसमा एसएलसी प्रथम श्रेणीको शिक्षकको सुरुको तलब स्केल ३५ हजार ९ सय ९० ग्रेड ८ ग्रेडदर एक हजार २ सय गरी कुल तलब ४५ हजार ५ सय ९० रूपैयाँ तोकिएको छ भने एसएलसी दोस्रो श्रेणीका शिक्षकको तलब सुरुको २८ हजार २ सय ग्रेड आठ र ग्रेडदर ९ सय ४० गरी कुल ३५ हजार ७ सय ३० मासिक तलब तोकिएको छ। एसएलसी तृतीय श्रेणीको शिक्षकको तलब सुरुमा २६ हजार ६ सय १० ग्रेड ६ र ग्रेड दर ८ सय ८७ गरी मासिक ३१ हजार ९ सय ३२ तय गरिएको छ।

ग्रेड सख्या ६ र ग्रेड दर ६ सय ८९ रूपैयाँ गरी कुल तलब २४ हजार ८ सय १४ रूपैयाँ कायम गरेको छ। केन्द्रले तय गरेको कार्यक्रम पुस्तिकाले सामुदायिक विद्यालयमा विगतदेखि नै कमजोर शिक्षकको प्रवेश रहेको प्रस्ट हुन्छ। यसले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्दैन। सामुदायिक विद्यालयमा कमजोर शिक्षकको प्रवेशका कारण विद्यालयको शैक्षिक स्तर कमजोर भएको भन्दै २०४७ सालदेखि नै चौतर्फी विद्यालय तहमा शिक्षकको प्रवेशको योग्यता १२ पास हुनुपर्ने आवाज उठ्दै आएको थियो।

त्यसपछि संशोधित शिक्षा नियमवाली २०५९ मा विद्यालय तहको शिक्षकको प्रवेस कक्षा १२ अनिवार्य पास भएको हुनु पर्ने ब्यवस्था गरेको छ। पुराना शिक्षकको हकमा योग्यता बढाउनु पर्ने वा गोल्डेन ह्यान्डसेकको व्यवस्था गरिएको छ। तर आजसम्म यी शिक्षकले आफ्नो योग्यता बढाउन जाँगरै नदेखाएको शिक्षक महासंघका महासचिव एवं काठमाडौंको त्योर्डस्थित त्योर्ड माविका शिक्षक लक्ष्मीकिशोर सुवेदीले बताए।

‘मेरै स्कुलमा एसएलसी दुई विषयमा फेल शिक्षक एक जना अवकाश हुनुभयो भने अर्को एसएलसी पासवाला अझै कक्षा ३ सम्म पढाइरहनु भएको छ,’ महासचिव सुवेदीले भने, ‘प्राथमिक तहमा देशभरि कुल ८३ हजार शिक्षक दरबन्दी रहेको तथ्यांक छ। जसमध्ये ४० प्रतिशत अझै एसएलसीवाला नै हुुन्।’ उनले थपे, ‘शिक्षा ऐन नियमावलीमा कक्षा १२ पासले मात्र विद्यालय शिक्षामा प्रवेश गर्ने व्यवस्था गरे पनि पुरानाको हकमा कार्यान्वयन गर्न सकिएको छैन। हाम्रा शिक्षकले पनि योग्यता बढाउनु भएको छैन।’ उनका अनुसार नयाँ प्रवेशमा भने नियम कार्यान्वयन भएको छ। उनले पुराना र आफूलाई शैक्षिक योग्यतामा अपग्रेड गर्न नसक्ने शिक्षकको हकमा गोल्डेन ह्यान्डसेकको सेवासुविधालाई सरकारले अनिवार्य गराउनुपर्ने सुझाए। उनले शिक्षामा नियमन र अनुगमन कमजोर भएकै कारण बेथिति कायम रहेको समेत औंंल्याए।

शिक्षक किताब खानाका प्रमुख रामराज खकुरेलका अनुसार विद्यालय तहमा प्राविदेखि माविसम्मका कुल स्वीकृत दरबन्दी शिक्षकहरूको संख्या १ लाख ७ हजार ८ सय ६० रहेको छ। सबैभन्दा बढी प्राथमिक तहमै छन्।

२०४७ सालअघिसम्म सामुदायिक विद्यालयमा एसएलसी फेल भएकाहरू प्राथमिक तहमा शिक्षक राख्ने सरकारी व्यवस्था नै थियो। त्यही भएर त केही काम नपाए शिक्षक बन्नुपर्ने उखानै बनेको शिक्षाविद् विद्यानाथ कोइराला सुनाउँछन्। उनले विदेशतिर प्राथमिक तहमा डिग्री पास भएकाहरू शिक्षक हुने गरेको अनुभव सुनाउँदै आफू सदस्य रहेको २०७४ र २०७५ को उच्चस्तरीय शिक्षा आयोगको अध्ययन प्रतिवेदनमा समेत सरकारलाई विद्यालय तहमा पुराना शिक्षकहरूलाई गोल्डेन ह्यान्डसेक गरी बिदाइ गर्न सुझाव दिएको जनाए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पुर्व सचिव महाश्रम शर्मा संयोजक रहेको शिक्षक दरबन्दी मिलानसम्बन्धी समितिले समेत सरकारलाई दुई वर्ष अघि बुझाएको प्रतिवेदनमा एसएलसी फेल र एसएलसी पास दुबैको हकमा सेवासुविधा दिएर सम्मानजनक बिदाइ गर्न सुझाएको संयोजक शर्माले जनाए।

‘कमजोर शिक्षकले पढाएको विद्यालय शिक्षा कमजोर बन्छ,’ शर्मा भन्छन्, ‘पहिले शिक्षक छनोट समितिले शिक्षक छनोट गर्ने गरेको व्यवस्था थियो। त्यही बखत यी शिक्षक छनोट हुनुभएको हो।’ उनले थपे, ‘हाम्रो समितिले तल्लो तहमा योग्यता पुगेका शिक्षकलाई माथिलो तहमा दरबन्दी थप्ने र योग्यता नपुगेकालाई गोल्डेन ह्यान्डसेकबाट बिदाइ गर्न सिफारिस गरेको थियो। ’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले पुरानो तथ्यांकमा आधारित भएरै शिक्षकहरूको तलबस्केल कायम हुँदै आएको जनाउँदै उनले यस्ता शिक्षक अझै पनि विद्यालयमा कायमै रहेकाले तलब उपलब्ध गराउनै पर्ने बताए। ‘कम योग्यता भएका शिक्षक पुराना र स्थायी हुुनुहुन्छ,’ महानिर्देशक अर्यालले भने, ‘सोहीअनुसार तलब व्यवस्था गरिएको हो।’

रुबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्