जेठभित्र विद्यालय तहको अन्तिम परीक्षा सक्ने सरकारको तयारी

असारदेखि नयाँ शैक्षिक सत्र

Avatar photo

Byएजुकेशन पाटी

२ फाल्गुन २०७७, आईतवार

काठमाडौं । सरकारले आगामी जेठ महिना भित्र विद्यालय तहका सम्पूर्ण परीक्षा सकेर असार देखि नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी गरेको छ । यसका लागि शिक्षा नियमावली संशोधनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जेठ भित्र विद्यालय तहको सम्पूर्ण परीक्षा सकेर असार देखि नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी भइरहेको जानकारी दिए । यसकालागि शिक्षा नियमावली संशोधन प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिन भित्रै राजपत्रमा प्रकाशित हुने उनले जानकारी दिए ।

शिक्षा पत्रकार समूहको नियमित संवाद शृंखला शिक्षाबारको सोमबारको कार्यक्रममा बोल्दै सचिव मैनालीले शिक्षा नियमावलीले शैक्षिक सत्रका लागि स्पष्ट रुपमा बैशाख देखि चैत्र मसान्तलाई तोकेको कारणले नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको र त्यो स्वीकृत पनि भइसकेको जानकारी दिए ।

अहिले मूख्यतः शैक्षिक सत्र, अन्तिम परीक्षा र कक्षा ११ को पाठ्यक्रमका सम्बन्धमा अन्योल देखिएको भन्दै सचिव मैनालीले पाठ्यक्रमको सम्बन्धमा अदालतको आदेशसँगै निर्णय भइसकेकाले बाँकी दुई अन्योल कायमै रहेको बताए ।

नियमावली संशोधनका सम्बन्धमा विधान समिति र सामाजिक समितिको छलफल पछि मन्त्रिपरिषद् बैठकले माघ २६ मा ‘माध्यमिक शिक्षा कक्षा १० को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणिकरण गर्ने प्रवन्ध मिलाउने’ निर्णय गरेको उनले जानकारी दिए । यस्तै, बैठकले शैक्षिक सत्र र विद्यालय तहका सम्पूर्ण कक्षाका विद्यालय स्थानान्तरणका सम्बन्धमा शिक्षा नियमावली २०५९ मा तत्तत् ठाउँमा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

आइतबार शिक्षा मन्त्रालयले कानून मन्त्रालयमा पठाएको र सम्भवत सोमबार या मंगलवार राजपत्रमा सूचना प्रकाशित हुने सचिव मैनालीले बताए । कुन दिनमा कुन कक्षाको परीक्षा सञ्चालन गर्ने काम परीक्षा बोर्ड र अन्य निकायको सहकार्यमा निक्र्योल गरिने मैनालीले बताए । यो शैक्षिक सत्र २ महिना लम्बिएपछि अर्को शैक्षिक सत्र १० महिनाको बनाएर शैक्षिक सत्रलाई नियमित गतिमै फर्काइने सचिव मैनालीले स्पष्ट पारे ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले शैक्षिक सत्र नेपाल सरकारले निर्णय गर्ने विषय भएकाले निर्णय राजपत्रमा प्रकाशित हुनसाथ बोर्डले बैठक बसेर कक्षा १० र कक्षा १२ को परीक्षाको क्यालेण्डर सार्वजनिक गर्ने बताए । बोर्ड परीक्षा सञ्चालन र व्यवस्थापनका लागि सक्षम रहेको पनि प्राडा पौडेलले स्पष्ट पारे ।

कोभिडको कारणले गएको वर्ष कक्षा १० र १२ को परीक्षाको मूल्यांकनमा केही सामान्य हेरफेर गरिएको भएपनि आगामी दिनमा भने पूर्ववत रुपमै परीक्षा लिइने उनले स्पष्ट पारे । कक्षा १० को परीक्षा आवेदन फारम खुलिसकेको, कक्षा १२ को आवेदन फारम र कक्षा ११ को रजिष्ट्रेशन खुल्ने चरणमा रहेको पनि उनले जानकारी दिए ।

नीलकण्ठ नगरपालिका धादिङका नगरप्रमुख भिम ढुङ्गानाले संघीय सरकारले परीक्षाको मात्रै चिन्ता नगरी विद्यार्थीको सिकाइ सुनिश्चिततामा ध्यान दिनुपर्ने बताए । बल्ल पढाइ सुरु भएको छ अहिले परीक्षाको होइन कोर्स कसरी सकाउन सकिन्छ भनेर चिन्ता गर्नुपर्ने उनको भनाइ थियो । स्थानीय तहपिच्छे सिकाइ निरन्तरताका फरक फरक अवस्था रहेकाले स्थानीय तहसँग समन्वयनगरी अन्तिम परीक्षाको निर्णय गर्न नमिल्ने उनको भनाइ थियो । पाठ्यक्रम सकेपछि मात्रै परीक्षा तोक्ने काम हुनुपर्ने भन्दै नगरप्रमुख ढुङ्गानाले परीक्षाका सम्बन्धमा निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिँदा राम्रो हुने विश्वास व्यक्त गरे ।

‘पहिले पाठ्यक्रम सक्नतिर लागौं अनि परीक्षाको तयारी गरौंला’, ढुङ्गानाले भने– ‘आधापनि पढाइ पुरा भएको छैन ।’

नन्दी मावि नक्साल काठमाडौंका प्रअ गीता काफ्लेले भर्खरै विद्यालयहरु माघबाट खुलेकाले जेठको परीक्षाकालागि कोर्स सक्नै मुस्किल हुने बताइन् । भर्खरै विद्यालय खुलेकाले शिक्षक र विद्यार्थीमा कहाँबाट पठनपाठन शुरु गर्ने भन्ने अन्योल सिर्जना भएको अवस्थामा जेठमा परीक्षा हुनेभएमा शिक्षकलाई जवर्जस्ती कोर्स सक्काउनुपर्ने बाध्यता हुने उनको भनाइ थियो । जेठमा परीक्षा भएमा वर्षको कोर्स ४ महिनामा सक्दा विद्यार्थीको सिकाइ समय नपुग्ने र पूर्ण रुपमा सिकाइ सुनिश्चितता हुन नसक्ने उनले स्पष्ट पारे ।

भर्चुअल अन्तक्र्रियामा पत्रकार, शिक्षक, अभिभावक, कर्मचारी लगायत ४० बढीको सहभागिता रहेको थियो । शिक्षा पत्रकार समूहले कोभिडको महामारीमा पनि शैक्षिक मुद्दामा छलफल र बहस भइरहोस् भनेर शुरुगरेको साप्ताहिक संवाद शृंखला ‘शिक्षाबार’को यो ३३ शृंखला हो ।

प्रतिकृया दिनुहोस्