बालबालिकाको सिकाइ सहजीकरण प्रभावकारी बनाउने प्रतिबद्धता

पाठ्यवस्तु समायोजन ढाँचाबारे अभिमुखीकरण

Avatar photo

Byएजुकेशन पाटी

११ पुष २०७७, शनिबार


कपिलवस्तु । बालबालिकाहरुको शैक्षिक सत्र खेर जान नदिने गरी सिकाई सहजीकरणमा भूमिका खेल्ने एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जाहेर गरेका छन् ।

कोभिड– १९ को संक्रमणका कारण अवरुद्ध सिकाइ प्रणालीलाई नियमित राख्न र विद्यार्थीको शैक्षिक वर्षको क्षति हुन नदिन नेपाल सरकारद्वारा पाठ्यवस्तु समायोजन ढाँचा जारी गरिएको छ । सोही समायोजन ढाँचा अनुरुप कम्तीमा एक कक्षाबाट अर्को कक्षामा जानसक्ने गरी सिकाइ सहजीकरणमा भूमिका खेल्ने सामुहिक बाचा गरेका हुन् । पाठ्यवस्तु समायोजन ढाँचा २०७७ मा एकीकरण, सामुहिकरण र प्राथमिकीकरण विधिबाट सिकाइ सहजीकरण गर्नुपर्ने उल्लेख छ । बालबालिकाहरुको न्यूनतम आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै प्रत्यक्ष वा बैकल्पिक विधि अपनाउन सकिने सहभागीको बुझाई छ ।

शिवराज नगरपालिकाद्वाारा निमावि तह (६–८) र मावि तह (९–१०) को पाठ्यवस्तु समायोजन ढाँचाबारे तीन दिने अभिमुखीकरण संचालन गरिएको हो । संचालन गरिएको तालिम आइतबार सकिएको हो । तालिमको सहजीकरण शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थी र शिक्षा शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्माले गरेका थिए ।

पाठ्यवस्तु समायोजन ढाँचाबारेको अभिमुखीकरणबाट छोटो समयमा बालबालिकाको सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धीको मूल्यांकनका उपाय सुझाउने शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए । समायोजनका लागि तहगत र विषयगत रूपमा प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तुु र शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तुु छुट्याउने आधारसहित नमुना ढाँचा तयार पारिएकाले बालबालिकाको सिकाइ सहजीकरणमा उपयोगी हुने शिक्षा प्रमुख पन्थीले विश्वास व्यक्त गरे । उनले आफूले सिकेका सीपलाई अवलम्बन गर्दै व्यवहारमा उतार्न समेत सहभागीहरुलाई निर्देशन समेत दिए ।

समायोजित ढाँचाका आधारमा घरमै बसेर गरिने सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण तथा भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्यांकन योजना बनाउन सकिने शिक्षा शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्माले बताए । शिक्षकले पुनरावलोकन, आधारभूत र सुदृढ मोड्युल तयार गरी पाठ्यक्रमका विषयवस्तु समायोजन गरी सिकाइ सहजीकरण गर्दा विद्यार्थीको सिकाइ प्रभावकारी हुने विश्वकर्माले विश्वास व्यक्त गरे । आइतबार सम्पन्न अभिमुखीकरणमा शिवराज नगरपालिका अन्तर्गत माध्यमिक र निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरु गरी २९ जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्