काठमाडौं । २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा–१०) एसईईको नतिजा यही साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा–१०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले यही साता नतिजा प्रकाशनको तयारी भइरहेको जानकारी दिए ।

रुजुको काम अन्तिम चरणमा पुगेकाले केही दिन भित्रै सकिने र लगत्तै नतिजा प्रकाशन गरिने खकुरेलले बताए ।

शिक्षा पत्रकार समूहको साप्ताहिक संवाद शृंखला अन्तर्गत सोमबार आयोजित ‘एसईईको आन्तरिक मूल्याङ्कनः अनुभव र नतिजा’ विषयक भर्चुअल शिक्षा संवादमा खकुरेलले भने, ‘७७ वटै जिल्लाको मार्क लेजर बोर्डमा आएर रुजु हुँदैछ । एक हप्ताभित्रै नतिजा आउँछ ।’

गत चैत ६ बाट हुनुपर्ने एसइइ परीक्षा कोरोना महामारीका कारण सरकारले अघिल्लो दिन ५ गते नै स्थगन गरेको थियो । मन्त्रिपरिषद्ले नै गत जेठ अन्तिम साता निर्णय गर्दै विद्यालयबाटै गरिने आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाएर नतिजा प्रकाशन गरिने निर्णय गरेको थियो । सोही अनुसार एक कार्यविधि बनाई परीक्षा बोर्डले नतिजा प्रकाशनको तयारी गरिरहेको छ ।

परीक्षा नियन्त्रक खकुरेलले ७७ वटै जिल्लाबाट विद्यालयले पठाएको हार्डकपि र सफ्ट कपि ल्याइसकेको र त्यो एक अर्कामा भिडाएर जाँच्ने काम भइरहेको जानकारी बताए ।

‘अहिले बिहान बाँकी रहेका ४ जिल्लाको प्राप्ताङ्क तालिका बोर्डमा आइपुग्यो ।’ नियन्त्रक खकुुरेलले भने, ‘आवश्यक प्रक्रिया सकी चाँडोभन्दा चाँडो नतिजा प्रकाशनको तयारीमा हामी जुटेका छौं ।’ जिल्लाबाट आएका विवरणहरुको बोर्डमा २५ समूह बनाएर विहिवारदेखि हार्डकपी र सफ्टकपी भिडान(रुजु)को काम भइरहेको उनले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्ड(कक्षा १०)का अनुसार आन्तरिक मूल्याङ्कन गरेर नतिजा पठाउने माध्यमिक विद्यालय १० हजार ४१९ वटा रहेका छन् । यस्तै, यो वर्षको एसईई दिने विद्यार्थी ४ लाख ८२ हजार विद्यार्थी थिए । जसमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी रहेको थिए ।

परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी भएका थिए ।

यो पटक परीक्षार्थीको परीक्षा विगतमा झैं स्थगन गर्ने व्यवस्था छ कि छैन भन्ने प्रश्नमा प्राविधिक कारणबाट छुट वा त्रुटि भएमा ३५ दिनभित्र विद्यालयले प्रमाणित गरेर पठाउने व्यवस्था रहेको खकुरेलले प्रष्ट पारे । तर पुनर्याेग, पुनः परीक्षण र पुनः ग्रेड वृद्धिको मौका भने यसपालि नहुने खकुरेलले प्रष्ट पारे ।

प्रतिकृया दिनुहोस्