काठमाडौं । बुधवार(आज) माध्यमिक शिक्षा परीक्षा(कक्षा १०)एसईईको नतिजा नआउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा प्रकाशनका लागि बोर्ड बैठक नबस्ने जनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले आज बोर्ड बैठक बस्ने सम्भावना नरहेको बताए । आज बैठक बस्दैन भोलि बस्ने सम्भावना छ’, अध्यक्ष पौडेलले भने ।

बोर्डले एसईईको नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम भने पूरा भएको जनाएको छ । बोर्डका (कक्षा १०) का परीक्षा नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई गराइसकेको बताए । बोर्ड बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ। ‘नतिजा प्रकाशनको लागि तयार छ, बोर्ड बैठक बस्न साथ हामी अनलाइनमा हालिदिन्छौं’, नियन्त्रक खकुरेलले भने ।

योपटक सम्बन्धित विद्यालयले नै नै मूल्यांकन गरेर विद्यार्थीको नतिजा बोर्डमा पठाएका थिए । विद्यालयले पठाएको नतिजालाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । बोर्डका अनुसार एसईईमा सहभागी हुन ४ लाख ८२ हजारले फाराम भरेका थिए । तर कोभिड–१९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि सम्बन्धित विद्यालयले नै मूल्यांकन गरेर नतिजा दिन व्यवस्था गरिएको हो ।

विगतमा तयारी पूरा हुने बित्तिकै नतिजा सार्वजनिक गर्ने चलन थियो। तर यस पटक विद्यालय आफैले मूल्यांकन गरेको नतिजालाई प्रमाणीकरणका लागि मात्रै बोर्डमा पठाएकोले नतिजा कस्तो आउने हो भन्ने कौतुहलता छैन ।

प्रतिकृया दिनुहोस्