काठमाडौं । मोरङमा शिक्षकको विभत्स हत्याको विरोधमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको मंसिर २३ गते हत्या भएको थियो ।

निजी निवासबाट अपहरण गरी उनलाई विप्लव समूहको नेकपा माओवादीले विभत्स हत्या गरेको थियो । संगठनले जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आफ्ना संगठनका सदस्यसमेत रहेका एक इमानदार तथा कुशल शिक्षक श्रेष्ठको कायतापूर्ण हत्या प्रति घोर निन्दा तथा भत्र्सना गरिएको छ ।

संगठनले जनुसुकै नाम र बहानामा गरिने यस्ता खालका जघन्य कायतापूर्ण आततायी हत्याको संगठन डटेर सामना गर्न तयार रहेको व्यहोरा अवगत गराउदै हत्यामा संलग्न दोषीहरुलाई पहिचान गरी कार्वाहीको दायरामा ल्याउन, साथै हत्या गरिएका शिक्षकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था र शहिद घोषणा गर्न सरकारसँग माग गरेको छ ।

संगठनले विद्यालय शान्तिक्षेत्रका रुपमा गरिएको सरकारी घोषणा र प्रतिबद्धतालाई कार्यान्वयन गर्न, विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई निर्भिकतापूर्वक पठनपाठनमा संलग्न हुने वातावरण श्रृजना गर्न गराउन समेत सरकारसँग माग गरेको छ ।

अन्यथा संगठन आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा स्पष्ट पारिएको छ ।

प्रतिकृया दिनुहोस्