काठमाडौं । गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन्। विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन अध्ययन गरिरहेका छन्।
त्यसो त मुलुकमा कोरोना भाइरसको जोखिम नभएको भए पनि अहिले यस विद्यालयमा उल्लेख्य विद्यार्थी भने हुने थिएनन्। पछिल्ला समयमा निःशुल्क पढाइ हुने सामुदायिक विद्यालयको आकर्षण घटेको ठानेर शहरी क्षेत्रका अभिभावकहरुले महँगो शुल्क तिरेर निजी (संस्थागत) विद्यालयमा छोराछोरी पढाउन थालेका छन्। जसका कारण यस्ता ऐतिहासिक र सुविधासम्पन्न सरकारी विद्यालयमा विद्यार्थी घट्दै गएका हुन्।
मुलुकको राजधानी काठमाडौँको मुटुमा रहेको नयाँ भवन र प्रयोशालाहरुको सुविधायुक्त तथा अङ्ग्रेजी माध्यममा पढाइ हुने यो सामुदायिक विद्यालयले विद्यार्थी सङ्ख्या बढाउन मेहनत गरिरहनु पर्ला रु या अब यहाँ आफैँ विद्यार्थी बढ्लान् रु विद्यालयका व्यवस्थापन र शिक्षक वर्गमा पनि अहिले यो प्रश्न पेचिलो बनेको छ। यहाँका केही शिक्षकहरु भने अब विद्यार्थी आफैँ बढ्नेमा आशावादी छन्। उनीहरु भन्छन्, “कोरोना नभएको भए अहिलेदेखि नै विद्यार्थीको आकर्षण हुन्थ्यो। अबका केही वर्षमा यहाँ भर्नाका लागि भीड हुनेछ। अभिभावकहरु आएर हात जोडेर मेरो बच्चा राखिदिनुस् भन्न थाल्नेछन्, त्यो अवस्था केही वर्षमै आउनेछ।”
मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण सकिएर यस विद्यालयको भवन विद्यालयलाई हस्तान्तरण भइसकेको छ। यतिखेर भने यस विद्यालयले पनि वैकल्पिक माध्यमबाट अनलाइन विधिबाट विद्यार्थीलाई पढाइरहेको छ। भवनमा चीन सरकारले नै आवश्यक कम्प्युटर र प्रयोगशाला उलब्ध गराए पनि अनलाइन शिक्षाका लागि आवश्यक पर्ने ल्यापटप र मोबाइलहरु भने हालै जनता क्लब अफ काठमाडौँले उपलब्ध गराएको छ।
वास्तवमा काठमाडौँको मुटुमा रहेको रानीपोखरीसँगै अवस्थित दरबार हाइस्कुलको नयाँ भवन मौलिक र आकर्षक छ। पाँच वर्षअघिको विनासकारी भूकम्पपछि क्षतिग्रस्त भएको सो भवन पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको ऐतिहासिक दरबार हाइस्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन्। कूल चार तले उक्त नयाँ भवनमा ४६ ओटा कक्षाकोठा छन्। भवनभित्र विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, पुस्तकालय र ठूलो हलसमेत व्यवस्थित गरिएको छ। चीन सरकारको लगानी र प्राविधिक कार्यमा दुई वर्षको अवधिमा ८५ करोड ५९ लाख रुपैयाँमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षाकोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचना समेत चीन सरकारले नै उपलव्ध गराएको छ। चीन सरकारको सहयोग बनाइएका अन्य विद्यालयमा यस्तै सुविधा उपलब्ध गराएको छ।
गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनः निर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछि दरबार हाइस्कुल पुन सञ्चालनमा आएको हो तर कोरोना महामारीका कारण विद्यालय बन्द रहेकाले सुविधासम्पन्न कक्षा कोठाका भौतिक सामाग्रीले भने विद्यार्थीको प्रतीक्षा गरिरहेका छन्। यसैवर्षको तिहारको समयमा दरबार हाइस्कुलको नयाँ भवनको माथिल्लो तलाबाट सुन्दर रानीपोखरीसहित आसपासका क्षेत्रको अवलोकन गर्नबाट पनि विद्यार्थी वञ्चित भएका छन्। विद्यालयमा प्रतिकक्षा ३६ जना बस्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ।
हाल भानु मााविमा कक्षा एक देखि १० सम्म २०३ र संस्कृत माविमा ३०० जना विद्यार्थी छन्। शहरी क्षेत्रमा निजी विद्यालयको प्रभाव बढेपछि यस्ता ऐतिहासिक महत्वका सामुदायिक विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या घटेको यथार्थबीच यहाँका शिक्षकहरु आगामी दिनमा विद्यार्थी बढाउन जुटेका छन्। निजी विद्यालयसँग प्रतिस्पर्धाकै लागि यस विद्यालयले अङ्ग्रेजी माध्यममै पठनपाठन गराउँदै आएको छ।
आधुनिक र सुविधासम्पन्न भौतिक संरचनाका साथै प्रयोगशालाहरुसमेत रहेकाले अगामी दिनमा गुणस्तर पनि बढ्ने भानु माविका प्रधानाध्यपक अखिलेश आजात अभिभावकलाई आफ्ना छोराछोरी पठाइदिन अनुरोध गर्दै विद्यार्थीलाई उत्कृष्ट बनाउने जिम्मा विद्यालयको भएको बताउँँछन्। प्रधानाध्यापक आजादका अनुसार यस वर्षदेखि यहाँ सम्पूर्ण कक्षामा अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएको छ र अबका केही वर्षमा विद्यार्थी खोज्न शिक्षकहरु लागिरहनु पर्ने छैन।
आकर्षक विद्यालय भवन र कक्षा कोठाप्रति विद्यार्थीको पनि आकर्षण उत्तिकै बढेको छ। दिनहुँजस्तै अभिभावक तथा विद्यार्थी आएर कहिले नयाँ भवनमा बसेर पढ्न पाइन्छ भनेर सोध्ने गरेको संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीले बताए।
सरकारले प्रत्यक्ष कक्षा सञ्चालनको निर्णय गरेपछि सुरु हुने गरी विद्यालयले यसै वर्षबाट बालविकास कक्षा सञ्चालनको पनि तयारी पूरा गरेको छ। भानु माविमा निजी स्रोतका समेत २१ जना शिक्षक रहेको विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ समेत सञ्चालन गर्ने योजना बनाएको छ। संस्कृत माविमा १६ जना शिक्षक छन्। संस्कृत माविका शिक्षक माधव लामिछानेका अनुसार कक्षा ६ देखि १२ सम्म संस्कृत पढ्न कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरु बढी आउने गरेका छन्।
दरबार हाइस्कुलमै पढेका लामिछाने विसं २०४७ मा भानु माविमा दुई हजार २५० सम्म विद्यार्थी रहेको स्मरण गर्छन्। यहाँको संस्कृत माविकै उत्पादनका व्यक्तिहरु अहिले मुलुकको राजनीति र अन्य क्षेत्रमा महत्वपूर्ण भूमिकामा रहेका छन्। राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाली काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, नरहरि आचार्य र बद्री पाण्डे तथा कूटनीतिज्ञ प्रा.डा.जयराज आचार्यलगायतले यहीँबाट विद्यालय शिक्षा पूरा गरेका थिए। प्रशासनिक क्षेत्रमा पनि यस विद्यालयका उत्पादनको उपस्थिति रहेको छ।
नेपालको शैक्षिक इतिहासमा महत्वपूर्ण मानिने दरबार हाइस्कुलको भवन २०७२ सालको भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो। अहिले उक्त टहराबाट नयाँ भवनमा सामान सार्ने काम भइरहेको छ। तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कूल’ स्थापना गरेका थिए। राजा महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको यो हाइस्कुलमा अङ्ग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासहरुमा उल्लेख छ।
विसं १९३३ मा रणोद्दीप सिंह प्रधानमन्त्री भएपछि राणाहरूका सेवामा खटिएका कर्मचारका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भएको थियो। विसं १९४२ मा रणोद्दीप सिंहको हत्यापछि श्री ३ वीरशमशेरले विद्यालयलाई जमलस्थित दरबारको ढोका नजिक सारेका थिए। विसं १९५७ मा देवशमशेर प्रधानमन्त्री भएपछि दरबार स्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको थियो।
राससको खबर नागरिकबाट