काठमाडौं । ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकका लागि स्वेच्छिक अवकाश योजना ल्याएको छ । महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकका लागि स्वेच्छिक अवकाश योजना ल्याइएको हो ।

महानगरले विहिवार एक सूचना जारी गर्दै ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकले अवकाश लिन चाहे सेवा अवधिका आधारमा नगद सुविधा दिने गरी स्वेच्छिक अवकास योजनाको घोषणा गरेको हो । दरबन्दी मिलानलाई सहज बनाउन र सार्वजनिक शिक्षाको सुधारका लागि यस्तो सुविधा प्याकेज प्रस्ताव अगाडि सारिएको महानगरले जनाएको छ ।

तीनलाख सम्म सुविधा पाउने
महानगरपालिकाले २०७८ साल साउनपछि एक वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकका लागि एक लाख, दुई वर्ष सेवा अवधि बाँकी रहेकालाई एक लाख ५० हजार, तीन वर्ष सेवा अवधि बाँकी रहेकालाई दुई लाख, चार वर्ष सेवा अवधि बाँकी रहेकालाई दुई लाख ५० हजार र पाँचदेखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

स्वेच्छिक अवकाश लिन चाहने शिक्षकले ३० दिनभित्र आवश्यक कागजातसहित महानगरपालिकाको शिक्षा महाशाखामा निवेदन दिनुपर्ने महानगरले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस्