काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन् । गत वैशाख ८ गते शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि एमालेबाट पन्तले उनको ठाउँ लिएका हुन् ।
काठमाडौं महानगरपालिका १५ डल्लुमा जन्मिएका पन्त अहिले प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य रहेका पन्त २१ वर्षपछि दोस्रो पटक मन्त्रीको जिम्मेवारीमा आएका हुन् । यसअघि उनले राजतन्त्रकालमै २०६१ मा श्रममन्त्रीको जिम्मेवारी निभाएका थिए । रघुजी पन्तसँग २ जना प्रधानमन्त्रीको सल्लाहकार भएको अनुभव पनि छ । पन्त २०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको प्रेस सल्लाहकार बनेका थिए भने २०६६ सालमा प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख सल्लाहकार बनेका थिए ।
२०५१ र २०५६ सालमा ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट निर्वाचित पन्त २०६३ सालमा अन्तरिम संसदको सदस्य भएका थिए । २०३२ सालबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी २०४६ सालको जनआन्दोलनका बेलामा नेपाल पत्रकार महासंघको महासचिव थिए ।