नेपालगन्ज । नेपालगन्जमा फेरि कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ। विद्यार्थी र शिक्षक संक्रमित भएपछि विद्यालय असुरक्षित देखिएका छन्। पछिल्लो पटक नेपालगन्जमा शिक्षक र विद्यार्थी गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालगन्ज उपमहानगरपालिका नगर शिक्षा प्रमुख गोरखबहादुर थापाका अनुसार स्थानीय धम्बोझी माविका २ शिक्षक र २ विद्यार्थी, मंगलप्रसाद माविका २ जना, सेन्ट थोमस बोर्डिङ स्कुलका ३ जना, वाटरपार्क, महेन्द्र र आर्दश माविका एक/एकजना शिक्षक, आदर्श मावि र सनविम माविका एक÷एक विद्यार्थीमा कोरोना पुष्टि भएको छ।।

‘यी त अहिलेसम्म पुष्टि भएका मात्रै हुन्, अरू थुप्रै विद्यालयका शिक्षक र विद्यार्थी कोरोना संक्रमित भएका हुन सक्छन्। कसैले थाहा पाएर पनि बाहिर नल्याएका हुन सक्छन्। हामीले पत्ता लगाउने प्रयास गरिरहेका छौं,’ नगर शिक्षा प्रमुख थापाले भने, ‘नेपालगन्जका धेरैजसो विद्यालयमा संक्रमण फैलिसकेको छ, स्थिति निकै खतरनाक छ।’ संक्रमण फैलिरहँदा पनि विद्यालयहरूले अटेर गरी कक्षा सञ्चालन गर्दा समस्या थपिएको उनको बुझाइ छ। विद्यालयबाहेक बस्तीमा पनि संक्रमण फैलिएको छ।

भेरी अस्पतालका अनुसार कोरोना भाइरसका नयाँ संक्रमितमा धेरैजसो शिक्षक, विद्यार्थी र अभिभावक छन्। कतिपय विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरे पनि धेरैजसोले त्यसलाई लत्याएका छन्। ‘कोरोना भाइरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन्। समयमै विद्यालय बन्द गर्ने विषयमा कुनै पनि जिम्मेवार निकाय गम्भीर भएनन्,’ एक अभिभावकले भने। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेमा सक्रिय संक्रमितको संख्या बिहीबारसम्म २ सय ८२ पुगेको छ। भेरी अस्पतालको कोभिड वार्डमा अहिले ७४ जना भर्ना भएका छन्।

तीमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको फोकल पर्सन ओलीले बताए। बाँकेमा अहिलेसम्म ५ हजार ४३ जनामा कोरोना पोजेटिभ, ४ हजार ७ सय २ जना डिस्चार्ज र ५९ जनाको मृत्यु भइसकेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ। तीव्र रूपले संक्रमण फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकाको बिहीबार बसेको विपद् व्यवस्थापन समिति बैठकले आगामी आइतबारदेखि एकसाता विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपप्रमुख उमा थापामगरले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिइन्।

‘विद्यालयमा संक्रमण तीव्र रूपले फैलिएकाले भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्नुबाहेक विकल्प भएन,’ उनले भनिन्, ‘हामीले शुक्रबारदेखि नै बन्द गर्ने प्रस्ताव गरेका थियौं तर आइतबारबाट बन्द गर्ने निर्णय भयो।’ बैठकले सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने, माक्स अनिवार्य लगाउन कडाइ गर्ने, पसल तथा व्यवसाय पनि कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमण भुसको आगोजस्तै फैलिरहेका बेला जिल्लाका सरकारी तथा संस्थागत (बोर्डिङ स्कुल) निर्वाध रूपमा सञ्चालन भएपछि बन्द गर्न चौतर्फी रूपमा दबाब बढेको थियो। भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. संकेत रिसाल नेपाल–भारत सीमा नाका र विद्यालय तथा कलेज बन्द नगर्दासम्म संक्रमण नियन्त्रण गर्न नसकिने बताउँछन्। ‘भारतबाट दिनदिनै संक्रमित भित्रिरहेका छन्, विद्यालयले पनि कक्षा सञ्चालन गरिरहेको अवस्थामा कोरोना नियन्त्रण गर्न कसरी सम्भव होला र ?’ उनले भने, ‘यस्तै लापरबाहीले कोरोना संक्रमण नियन्त्रण बाहिर हुने निश्चित छ, कोरोना समुदायमै फैलिसक्यो।’ दोस्रो चरणमा फैलिएको यो संक्रमण निकै कडा रहेको रिसालले बताए।

कोरोना संक्रमण तीव्र भए पनि नेपाल–भारत सीमा नाकाबाट बिाना रोकटोक आवत–जावत चलिरहेको छ। भारतमा उच्च गतिमा भाइरस फैलिँदा पनि नेपाल सरकारले नेपालगन्जस्थित सीमा नाकामा कुनै कडाइ नगरेको सर्वसाधारणको गुनासो छ। नयाँ वर्ष र चैते दसंै मनाउन भारतका विभिन्न सहरबाट यतिखेर ठूलो संख्यामा नेपाली घ। फर्किरहेका छन्। सीमा नाकामा सामान्य स्वास्थ्य जाँच गर्नेबाहेक अरू कुनै सावधानी अपनाएको पाइँदैन।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार केही सातायता भारतबाट दैनिक एक हजारदेखि २ हजारसम्म नेपाली नागरिक फर्किने गरेका छन्। बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले भने, ‘भारतमा काम गरेर फर्किने नेपालीको संख्या धेरै छ, घर जान आएकालाई हामीले कसरी रोक्नु र ? सीमा नाकामा एउटा हेल्थ डेक्स राखिएको छ, त्यहाँ अनिवार्य रूपमा स्वास्थ्य जाँच गरिन्छ।’ सीमा नाका हुँदै सवारीसाधन आवत–जावतमा भने रोक लगाइएको उनले बताए। जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार बसेको ‘जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र’ को बैठकले विभिन्न निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बैठकले सीमा नाकामा कडाइ गर्ने तथा अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने र भारतबाट आउनेको अनिवार्य जाँच गर्ने निर्णय गरेको छ।

अर्जुन ओलीले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्