काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।

यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो ।

परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको ‘संगीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन हुनेछ,’ बोर्डले भनेको छ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियानसमेत सञ्चालन गरेको थियो।

प्रतिकृया दिनुहोस्