काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले गत सोमबार केन्द्रबाटै एसईई र शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र कायम गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शैक्षिक सत्र लम्ब्याउने तयारी थालिएको हो ।

नियमावलीमा वैशाख १ गते नयाँ शैक्षिक सत्र सुरु हुने र चैत मसान्तमा सकिने उल्लेख छ । कोरोना महामारीले पठनपाठन प्रभावित भएकाले चालु शैक्षिक सत्रमा दुई महिना थप गर्न लागिएको हो । शैक्षिक सत्र लम्बिए विद्यालय तहका सबै कक्षाका वार्षिक परीक्षा जेठको अन्तिममा हुनेछ भने असारमा नयाँ शैक्षिक सत्र सुरु हुनेछ ।

शिक्षा सचिव गोपीनाथ मैनालीले मन्त्रिपरिषद्को निर्णयअनुसार नियमावली संशोधनको प्रक्रिया सुरु गरिएको जनाए । ‘सरोकारवाला र शिक्षाविद्हरूले जेठसम्म शैक्षिक सत्र लम्ब्याउन सुझाव दिएका छन्,’ उनले भने, ‘कानुन मन्त्रालयको स्वीकृति पाएपछि नियमावली संशोधन गरेर निर्णय लिन्छौं ।’ कोरोनाले शैक्षिक क्षति भएका कारण चालु शैक्षिक सत्रलाई १४ महिनाको बनाउनुपर्ने र आगामी शैक्षिक सत्रलाई १० महिनाभित्रै सिध्याउनुपर्ने सुझाव शिक्षाविद्हरूको छ । आगामी शैक्षिक सत्रको हिउँदे र बर्खे बिदासमेत कटौती गरेर शैक्षिक सत्र पूरा गर्न मन्त्रालयमा छलफल चलिरहेको छ ।

शैक्षिक सत्र र विद्यार्थी स्थानान्तरणको विषयमा नियमावली संशोधन गरी एकैचोटि टुंगो लाग्ने मैनालीले जनाए । उनले एसईई परीक्षा, शैक्षिक सत्रलगायत विषयमा रहेको अन्योल अन्त्य भएको बताए । एसईई परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने राष्ट्रिय परीक्षा बोर्डले निर्णयसहित समयतालिका प्रकाशित गर्नेछ । शिक्षा मन्त्रालयले कोरोनाले प्रभावित विद्यार्थीलाई विद्यालय परिवर्तन गर्न लचिलो व्यवस्था गर्न लागेको छ । कक्षा १० मा विद्यालय स्थानान्तरण गर्न चाहने विद्यार्थीका लागि नियमावली संशोधन गरेर सजिलो व्यवस्था गरिने भएको छ ।

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आवेदन संकलन गरिरहेको छ । परीक्षाका लागि आवेदन दिने म्याद फागुन ६ गतेसम्म तोकिएको छ । कोरोनाका कारण कक्षा ९ मा पढेभन्दा फरक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सोही विद्यालयबाट एसईईमा सहभागी हुन पाउने व्यवस्था गर्न लागिएको हो ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्