काठमाडौँ । कोभिड–१९ को संक्रमणले विद्यालयदेखि उच्च शिक्षासम्म प्रभावित भएको छ । पाँच महिनादेखि पठनपाठन र परीक्षा अवरुद्ध बन्दा शैक्षिक वर्ष नै गुम्ने जोखिम बढ्दै गएको छ । वैशाखबाट सुरु हुने कक्षा १–१० को नयाँ शैक्षिकसत्र अहिलेसम्म सुरु हुन सकेको छैन । सरकारले सुरु गरेको वैकल्पिक सिकाइ क्रियाकलाप अभियान पनि प्रभावकारी नहुँदा शैक्षिक क्षति बढ्दै गएको शिक्षाविद्हरू बताउँछन् ।
हरेक वर्ष कक्षा १ मा मात्रै १० लाख बालबालिका भर्ना हुने आँकलन छ । यसपालि चैत पहिलो साताबाटै शिक्षण संस्था बन्द रहेकाले बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन् । ती बालबालिकाले वैकिल्पक शिक्षा पाए/नपाएको यकिन छैन ।
विद्यालय तहमा ७० लाख विद्यार्थी अध्ययन गर्छन् । अनलाइन, टेलिभिजन, रेडियो र प्रिन्ट सामग्रीबाट वैकल्पिक कक्षा सञ्चालन गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रक्षेपणअनुसार २३ लाख बालबालिकामा इन्टरेनट, रेडियो र टेलिभिजनलगायत कुनै पनि प्रविधिको पहुँचमा छैनन् । इन्टरनेटमा पहुँच भएका विद्यार्थी ७ लाख मात्रै छन् । ४० लाख बालबालिका रेडियो र टेलिभिजनको पहुँचमा रहेको दाबी गरिएको छ । वैकल्पिक कक्षाको प्रभावकारिता स्थानीय तह, शिक्षक र अभिभावकको सक्रियतामा भर पर्ने केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठ बताउँछन् । ‘कतिपय स्थानीय तहमा वैकल्पिक कक्षाको राम्रो अभ्यास भएको छ,’ उनले भने, ‘कुनै पालिकामा सुरु हुनै सकेको छैन ।’ देशभर गरिएको सर्वेक्षणमा केही विद्यालयहरूले गृह शिक्षकको अभ्यास गरेर घर/घर नै शिक्षक पठाएको उनले सुनाए । कतिपयमा भने वैकिल्पक कक्षाको सुरसारै छैन ।
निजी विद्यालयहरूले आफ्ना विद्यार्थी अन्त नजाउन् भनेर पनि भर्चुअल कक्षालाई निरन्तरता दिइरहेका छन् । तर कोरोना जोखिमका बेला सामुदायिक विद्यालयका शिक्षक परिचालन प्रभावकारी हुन सकेको छैन । सामुदायिक विद्यालयका अधिकांश शिक्षक अनेक बहाना बनाएर विद्यालय नगएको र वैकल्पिक कक्षामा पनि सक्रिय नभएको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । शिक्षकहरूको अहिलेकै कार्यशैली कायम रहे शैक्षिक वर्षमै ठूलो क्षति हुने उनीहरूले औंल्याए ।
शिक्षा मन्त्रालयले पठनपाठन र परीक्षा सञ्चालनसम्बन्धी स्पष्ट खाका दिन नसक्दा झनै शैक्षिक क्षति बढ्दै गएको शिक्षाविद्हरू बताउँछन् । केन्द्रका पूर्वमहानिर्देशक बाबुराम पौडेलले कोरोना संक्रमण घट्दा र बढ्दाको दुवै अवस्थामा गरिने पठनपाठन विधिको विकल्प दिनुपर्ने बताए । विद्यालय तहमा एक शैक्षिक वर्षमा १ सय ९० दिन पढाइ हुन्छ । चार महिनादेखि पठनपाठन हुन नसकेकाले पाठ्यक्रमको उद्देश्य पूरा हुने गरी पठनपाठन गराउन मन्त्रालयले निर्देश गर्नुपर्ने उनले औंल्याए । ‘कोरोना बढ्दै गए शिक्षक–विद्यार्थी फेस टु फेस भएर कक्षा चलाउन सकिँदैन,’ उनले भने, ‘कोरोना संक्रमण बढ्दा र घट्दा दुवै अवस्थामा कसरी अघि बढ्ने भनेर मार्गनिर्देशन हुन जरुरी छ ।’ अहिलेसम्म शैक्षिक क्षति भए पनि शैक्षिक वर्ष नै खेर जाने अवस्था नरहेको उनले प्रस्ट्याए । ‘यो युद्धजस्तो बेला हो, सबै कुद्नुपर्छ,’ उनले थपे, ‘दौडाइ पुगेको छैन, माथिदेखि तलसम्म कुद्न नसके शैक्षिक वर्ष खारेज हुन सक्छ ।’
पूर्वमहानिर्देशक पौडेलले स्थानीय तहलाई अवस्थाअनुसार परम्परागत वा वैकिल्पक विधिबाट कक्षा सञ्चालन गर्ने अधिकार दिनुपर्ने सुझाव दिए । ‘केन्द्र सरकारले टुप्पी समाप्ने हो, हातखुट्टा नै समात्यो भनेर स्थानीय तहले पनि काम गर्न सकेका छैनन्,’ उनले भने, ‘संकटका बेला देशभर एउटै विधिबाट विद्यालय सञ्चालन गर्न सम्भव छैन, पठनपाठनको जिम्मा परिवेशअनुसार स्थानीयलाई नै दिनुपर्छ ।’ शिक्षा मन्त्रालयले पनि अध्ययन–अध्यापनको जिम्मेवारी स्थानीय तहलाई दिने गरी विद्यालय पुनःसञ्चालन ढाँचा ल्याउने तयारी गरेको श्रेष्ठले बताए ।
सरकारले साउन ७ गते लकडाउन अन्त्य गरेपछि भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने, परीक्षाका गतिविधि अघि बढाउने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार शैक्षिक गतिविधि गतिशील हुन थालेका थिए । पछिल्ला दिनमा फेरि कोरोना संक्रमण फैलिन थालेपछि अन्योल बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले लिने कक्षा ११ को आन्तरिक परीक्षा र एसईईको नतिजा प्रकाशन रोकेको छ । एसईईको नतिजा रोकिँदा यसपालि कक्षा ११ मा नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गराउने कार्यक्रम अनिश्चित बनेको छ । वैशाख–जेठमा हुने कक्षा १२ को परीक्षा पनि सञ्चालन हुन सकेको छैन । आगामी वर्षको एसईई परीक्षा आउन ८ महिना मात्रै बाँकी छ तर अहिले कक्षा १० मा वैकिल्पक कक्षाबाट पठनपाठन गरिरहेका विद्यार्थीको सिकाइ उपलब्धिको मापन हुन सकेको छैन ।
कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयको स्नातक तहको पढाइ पनि प्रभावित हुने निश्चित छ । बोर्डले परीक्षा सकिएको एक महिनामा नतिजा प्रकाशन गर्ने तयारी गरिएको जनाएको छ । कक्षा १२ को परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ भए स्नातक तहको भर्नामा असर पुग्ने काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकलका डिन राजेन्द्र कोजूले बताए । स्नातक तहको मेडिकल, इन्जिनियरिङ, व्यवस्थापनलगायत विद्यार्थीको चाप बढी हुने विषयमा दसैंअघि नै प्रवेश परीक्षा सञ्चालन गरेर विद्यार्थी भर्ना लिने चलन छ । भदौमा कक्षा १२ को परीक्षा नलिए दसैंअघि प्रवेश परीक्षा सम्भव नहुने कोजूले जनाए । ‘शैक्षिक वर्ष खेर जान नदिन सबै क्षेत्रबाट पहल हुनुपर्छ,’ उनले भने । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा सकेर रिजल्ट आएपछि मात्रै एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ । १२ को नतिजा नआए स्नातक तहको नयाँ भर्ना प्रभावित हुने त्रिभुवनलगायत अन्य विश्वविद्यालयका पदाधिकारी बताउँछन् । दसैंअघि नै प्रवेश परीक्षा गर्न नसके मंसिरबाट मात्रै नयाँ शैक्षिक सत्र सुरु हुने आँकलन गरिएको छ ।
महामारीका बेला शैक्षिक गतिविधि अघि बढाउने योजना बनाउन नसक्दा शैक्षिक वर्ष नै नोक्सान हुने जोखिम रहेको शिक्षाविद् विनय कुसियतले जनाए । ‘अहिलेसम्मको अवस्था हेर्दा खेर नगए पनि लम्बिने निश्चित छ, एक वर्ष लाग्ने कोर्सलाई डेढ वर्ष लाग्ने भयो,’ उनले थपे, ‘कोभिडलाई कसरी सामना गरेर जाने भन्ने खाका ल्याउन नसके विद्यालयदेखि विश्वविद्यालयले शैक्षिक सत्र नै गुमाउनुपर्ने हुन सक्छ ।’ सरकार र विश्वविद्यालयले योजना ल्याउन नसकेको उनले बताए । कुसियतले भने, ‘महामारी बढेर जाँदा वा घटेर जाँदाको अवस्थामा कसरी अघि बढ्ने भन्ने विकल्पसहितको योजना नै छैन ।’ विद्यालयदेखि विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन छरितो बनाउन आवश्यक रहेको उनले औंल्याए ।
उच्च शिक्षामा पनि अन्योल
महामारीका बेला शैक्षिक गतिविधि अघि बढाउन विश्वविद्यालय पनि अन्योलमा परेका छन् । कोरोना भाइरस कायमै छ, सरकारले लकडाउन मात्रै खुकुलो पारेको हो भन्ने कुरा विश्वविद्यालयका पदाधिकारीले नबुझ्दा पढाइ र परीक्षा पछाडि थकेलिएको शिक्षाविद् कुसियतले बताए । उच्च शिक्षामा करिब साढे ५ लाख विद्यार्थी अध्ययरत छन् । ती मध्ये ७७ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा पढ्छन् ।
त्रिविले लकडाउनले रोकिएका परीक्षा भदौ पहिलो साताबाट सञ्चालन गर्न सूचना प्रकाशित गरेको छ । परीक्षा सञ्चालन हुने सूचना पाएर विद्यार्थी तयारीमा जुटेका छन् तर कोरोना संक्रमितको संख्या थपिँदै जाँदा परीक्षार्थीमा त्रास थपिएको छ भने परीक्षा पनि अनिश्चित बन्ने संकेतहरू देखा पर्न थालेका छन् ।
त्रिविकी छात्रा शुभद्रा देवकोटा परीक्षा दिन काठमाडौं फर्केकी छन् । व्यवस्थापन संकायमा स्नातक अध्ययरत उनी सार्वजनिक यातायात बन्द भए पनि गाडी रिजर्भ गरेर परीक्षाको तयारीमा काठमाडौं आएकी हुन् । परीक्षा सञ्चालन हुनेमा भने उनले आंशका व्यक्त गरिन् । सरकारले भदौ १ देखि लामो दूरीको यातायात सञ्चालन गर्ने र परीक्षासमेत सञ्चालन गर्न सक्ने निर्णय गरेपछि विश्वविद्यालयले परीक्षा तालिकाहरू सार्वजनिक गर्न थालेका थिए । काठमाडौं उपत्यकामा संक्रमित बढ्दै जाँदा परीक्षाको तयारीमा जुटेका परीक्षार्थी त्रसित हुन थालेका छन् ।
स्नातकोत्तर विज्ञान संस्थानका छात्र पवनकुमार आचार्यले परम्परागत विधिबाटै परीक्षा सञ्चालन हुनेमा आंशका व्यक्त गरे । ‘कोरोनाका केसहरू बढेका छन्, विद्यार्थी आफ्नो गृह जिल्लामा छन्,’ उनले भने । परीक्षा केन्द्रमा पुग्नै समस्या हुने विद्यार्थीहरू गुनासो गर्छन । कोरोना अन्त्य नहुँदै काठमाडौं फर्कंदा घरबेटीले समेत घरमा बस्न नदिने विद्यार्थीहरूको चिन्ता छ । यी समस्याबारे त्रिविका पदाधिकारीलाई गुनासो राख्दा सुनुवाइ नभएको आचार्यले बताए । ‘संक्रमण कायमै रहँदा अनलाइन, ओपन बुक, आन्तरिक मूल्यांकनलगायत वैकल्पिक विधिबाट परीक्षा गर्न सकिन्थ्यो,’ उनले भने, ‘परीक्षा गर्ने भनेर सूचना आएको छ, कोरोना यसरी नै बढ्दै गए कसरी परीक्षा होला र ?’ त्रिविले वैकिल्पक विधिबाट परीक्षा सञ्चालन गर्न नसक्दा सेमेस्टर र शैक्षिक वर्ष नै खेर जाने चिन्तामा छन् विद्यार्थी ।
लकडाउन लम्बिँदै जाँदा त्रिविले पनि विभिन्न वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने मोडालिटीहरू प्रस्ताव गरेको थियो । सरकारले साउन ७ गतेबाट लकडाउन अन्त्य गरेपछि परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्न जोड दिइएको छ । पोखरा विश्वविद्यालयले भदौ मसान्तबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई सर्कुलर गरेको छ । विश्वविद्यालय अनुदान आयोगले अनलाइनसहित विभिन्न वैकल्पिक विधिको प्रयोग गरेर पठनपाठन साथसाथै परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई सुझाएको छ । आयोगले कोरोना महामारीले उच्च शिक्षामा पुर्याएको क्षति न्यूनीकरणका लागि छाता निर्देशिकासमेत जारी गरेको छ । निर्देशिकामा प्रचलित विधिबाट पनि परीक्षा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने उल्लेख छ ।
उक्त विधिबाट सम्भव नभए उच्च शैक्षिक संस्थामा नै परीक्षा केन्द्र (होम सेन्टर) तोकेर पनि परीक्षा सञ्चालन गर्न सकिनेछ । समयसीमा तोकेर खुला पुस्तक, गृहकार्य, कक्षाकार्य, प्रस्तुतीकरण, अनलाइन विधिबाट परीक्षा लिन सकिने निर्देशिकामा उल्लेख छ । विद्यार्थीले घरबाटै उत्तर लेख्ने विकल्पसमेत दिन सकिने व्यवस्था गरिएको हो । त्रिविले भने परम्परागत विधिबाटै परीक्षा गर्न जोड दिएको छ । त्रिविले रेक्टर शिवलाल भुसालको संयोजकत्वमा परीक्षा सुधार समिति गठन गरेको थियो । परीक्षा नियन्त्रक, डिनहरू संलग्न समितिले घरमै रहेका विद्यार्थीलाई निश्चित समयमा उत्तर बुझाउने गरी खुला परीक्षा सञ्चालन गर्ने, अनलाइनबाट परीक्षा लिने, प्रचलित मोडलअनुसार नै परीक्षा लिने र आन्तरिक मूल्यांकनलाई मान्यता दिन सकिने सुझाव दिएका थिए ।
रेक्टर भुसालले परिस्थितिअनुकूल भए मात्र परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिने जनाए । ‘भदौ १ गतेबाट सार्वजनिक यातायात पनि खुल्ने भएपछि परीक्षा तालिकाहरू सार्वजनिक गरिएको हो, अवस्था सहज बन्दै गए भदौ तेस्रोबाट परीक्षा गर्न डिन कार्यालयहरूलाई भनेका छौं,’ उनले भने । संक्रमण बढ्दै गए आन्तरिक मूल्यांकन, ओपन बुक र अनलाइन पद्धतिबाट परीक्षा सञ्चालन गर्न सकिने त्रिविले जनाएको छ । परीक्षा सुधार समितिले परम्परागत, अनलाइन, ओपन बुक र आन्तरिक मूल्यांकनसहित ४ विकल्प प्रस्तुत गरेको थियो । काठमाडौं र मध्यपश्चिम विश्वविद्यालयले अनलाइनलगायत वैकिल्पक माध्यमबाट परीक्षा सम्पन्न गर्ने विकल्प अघि सारेका छन् । शिक्षाकर्मीहरू कोभिडको महामारी कायमै रहँदा पनि वैकिल्पक विधिबाट पठनपाठन र परीक्षा सञ्चालन गर्न नसके शैक्षित्र वर्ष नै गुम्ने खतरा रहेको बताउँछन् ।
सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।