काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नोअब्जेक्सन लेटर (एनओसी ) उपलब्ध गराउन मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णय गरी एनओसी जारी गरिनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको मन्त्रालयका सहसचिव रामशरण सापकोटाले जानकारी दिएका हुन् ।

सरकारले कोरोना जोखिम बढ्दै गएको भन्दै एनओसी रोकेर नयाँ विद्यार्थीलाई विदेश अध्ययनको बाटो बन्द गरेको छ । जसकारण ३५ हजार विद्यार्थीको शैक्षिक गतिविधि नै रोकिएको मन्त्रालय, उच्च शिक्षा महाशाखाअन्तर्गतको वैदेशिक अध्ययन शाखाले जनाएको छ । ‘विदेश अध्ययन गर्न चाहने नयाँ विद्यार्थीको हकमा एनओसी जारी गरिनुपर्ने प्रस्ताव मन्त्रीज्यूले निर्णय गरी सिसिएमसी र मन्त्रिपरिषद्मा लगिसक्नु भएको छ,’ सहसचिव सापकोटाले भने, ‘छिट्टै सकारात्मक निर्णय हुनेछ ।’

शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखाका वैदेशिक अध्ययन शाखाप्रमुख दिलनाथ पुरीले समेत विदेश अध्ययनका लागि स्वीकृतपत्र लिएर एनओसी लिन आउने विद्यार्थीको चाप दैनिक बढिरहेको बताए । ‘मेरो शाखा र मन्त्रालयका उच्चपदाधिकारीहरूसँग समेत अभिभावक तथा विद्यार्थीले दिनहुँ सम्पर्क गरेर एनओसी नखुलाए विद्यार्थीको भविष्य नै अन्योलमा पर्ने गुनासो गर्नुहुन्छ,’ शाखाप्रमुख पुरीले  भने, ‘नेता, कर्मचारी, डाक्टर, इन्जिनियर, व्यापारीलगायत सबै वर्गको एउटै चाहना छ, बच्चाहरूको विदेश अध्ययनका लागि बाटो खुलाउन एनओसी जारी हुनुपर्छ । एनओसी दिनासाथ विदेश गइहाल्ने होइन नि,’ उनले थपे, ‘एनओसी जारी भए कम्तीमा विद्यार्थी विदेशी विश्वविद्यालयमा भर्ना हुने र सिट निश्चित गरी नेपालमै बसेर अनलाइन कक्षामा सहभागिता जनाउन सक्ने विद्यार्थी तथा अभिभावकको भनाइ छ ।’ त्यही भएर एनओसी शाखाले समेत मन्त्रालयमा एनओसी जारी गर्न प्रस्ताव गरेको उनले जनाए ।

उनले कोरोना महामारीका कारण सरकारले एनओसी रोक्दा ३५ हजार विद्यार्थीको शैक्षिक गतिविधि नै रोकिएको स्विकारेका छन् । उनले फागुन २९ गते मन्त्रिपरिषद् निर्णयले नै एनओसी रोकिदिएकाले मन्त्रालयले जारी नगरेको जनाए । पुरीका अनुसार आव २०७५/७६ मा अस्ट्रेलिया, अमेरिका, बेलायत, युरोप, जापान, साउथ कोरिया, भारतलगायत देशमा अध्ययनका लागि कुल ६३ हजार विद्यार्थीले एनओसी लिएका थिए भने २०७६/७७ मा ३२ हजारले लिएका थिए ।

सरकारले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीको हकमा नोअब्जेक्सन (एनओसी ) लेटर जारी नगर्दा हजारौं विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने बाटो रोकिएको छ । बेलायत, अमेरिका, जापन, जर्मनी, नेदरल्यान्डलगायत थुप्रै देशका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्न विद्यार्थीले अफर लेटर प्राप्त गरिसकेको भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एनओसी जारी नगर्दा विद्यार्थीहरू विदेशमा उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका छन् ।

रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्