काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ ले शिक्षामा प्रविधिको प्रयोगका लागि भौतिक परिवेश तयार पारेको बताएका छन् ।

सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित ‘कोभिड–१९ ले शिक्षा र शिक्षक कर्मचारीहरुमा पारेको असर’ विषयक अन्तर्राष्ट्रिय अन्तक्र्रियामा बोल्दै प्रचण्डले कोभिड–१९ ले निम्त्याएको बहुआयमिक चुनौतीलाई अवसरमा बदल्न शिक्षकहरुले प्रयास गर्नुपर्ने बताएका छन् ।

विश्वका विभिन्न देशका शिक्षक नेताहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो हाम्रा लागि अवसर पनि हो, शिक्षालाई प्रविधिमैत्री र प्रयोगात्मक बनाउन यस्ता चुनौतीले सम्भावना पनि सँगै बोकेर आएका हुन्छ, हामीले यसलाई अवसरमा बदल्न सक्नुपर्छ । यसले हाम्रो सोच्ने तरिका, प्रणाली र व्यवस्थापनका क्षेत्रमा पनि नयाँपनको ढोका खोलेको छ । त्यसका लागि हामी सबै तयार होऔं र मिलेर चुनौतीको सामना गरौं ।’

भर्चुअल अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कोभिड–१९ को महामारी हाम्रा लागि चुनौती त हो नै। तर, यो चुनौती मात्र नभएर अवसर पनि हो। हामीले चुनौतीकै बिचबाट नयाँ सोच, प्रणाली र व्यवस्थाको विकास गर्न सक्छौं । कोभिड–१९ पनि त्यस्तै एउटा चुनौती हो, जसलाई अवसरमा बदल्न हामी सबैले कोशिस गर्नुपर्दछ ।’

नेपालमा समाजवादउन्मुख संविधान निर्माण भएको जानकारी दिँदै प्रचण्डले भने, ‘हामीले लामो संघर्षपछि नयाँ संविधान निर्माण गरेका छौं । हाम्रो संविधान समाजवादउन्मुख छ । हामीले शिक्षा, स्वास्थ्य लगायत नागरिकका आधारभूत आवश्यकतालाई संवैधानिक हकका रुपमा सुरक्षित गरेका छौं । राज्यले शिक्षाको सम्पूर्ण दायित्व लिने गरी हामीले तयारी गरिरहेका छौं । यस दिशामा हामी सफल हुनेछौं ।’

प्रचण्डले कोभिड–१९ विश्व पुँजीवादी व्यवस्थाको बिकल्पका रुपमा अगाडि आएको बताए । उनले भने, ‘कोभिड–१९ एउटा महामारी मात्र होइन, यो पुँजीवादी व्यवस्थाको असफलता हो । यो पुँजीवादी विश्वले आजका चुनौतीको सामना गर्न सक्दैन भन्ने कुराको प्रमाण हो । नयाँ विश्व व्यवस्थाले मात्र आजका चुनौतीहरुको सम्वोधन र व्यवस्थापन गर्ने सामथ्र्य राख्दछ । यसका लागि विश्वभरिका शिक्षक बुद्धिजीवीको ऐक्यवद्वता जरुरी छ ।’

प्रतिकृया दिनुहोस्