काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ‘पुल्चोक नमुना राष्ट्र सङ्घ’ (मोडेल युनाइडेड नेसन्स) कार्यक्रम आयोजना हुने भएको छ । इन्जिनियरिङ विथआउट बोर्डर्स पुल्चोकको सहकार्यमा मङ्सिर १६ देखि १८ गतेसम्म नमुना राष्ट्र सङ्घ कार्यक्रम आयोजना हुन लागेको हो ।
स्नातक तहका विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएर उक्त कार्यक्रममा पुल्चोक क्याम्पसका मात्र नभई अन्य क्याम्पसका विद्यार्थीले समेत भाग लिने पाउनेछन् । कार्यक्रममा भाग लिने सहभागीहरूले विभिन्न देशको प्रतिनिधिको रूपमा प्रस्तुत हुनुपर्नेछ । त्यसमा उनीहरूले राष्ट्र सङ्घका गरिने छलफलमा झैँ विभिन्न विषयमा छलफल गर्नुका साथै अन्तर्राष्ट्रिय भूराजनीतिका विषयमा समेत सिक्ने अवसर पाउनेछन् ।
पुल्चोक नमुना राष्ट्र सङ्घ कार्यक्रमलाई पुल्चोक क्याम्पसले आधिकारिक मान्यता दिएको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रम अहिले दोस्रो संस्करण हो ।
कार्यक्रममा डीआईएसईसी (डिसरमामेन्ट एन्ड इन्टरनेशनल सेक्युरिटि कमिटी), यूनेस्को, आईएईए (इन्टरनेशनल अटोमिक इनर्जी एजेन्सी), यूएनसीएसटीडी (यूए कमिशन अन साइन्स एन्ड टेक्नोलोजी फर डेभलपमेन्ट) र इन्टरनेशनल प्रेस (आईपी) गरी ५ वटा समिति (कमिटी) हुने छन् ।
कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीहरुले दुई हजार रुपैयाँ शुल्कमा नमूना राष्ट्र संघीय अभ्यासमा भाग लिन पाउने छन् । कार्यक्रम अवधिभरको खाजा र खाना खर्च सहित स्टेशनरीका सामानहरू यही शुल्कमा पाउने छन् ।