काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ ।
शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।
गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् । यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी हुन् ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पन्त मन्त्रिपरिषद्को बरियताक्रमको आठौँ नम्बरमा अटाएका छन् । शिक्षामन्त्री पन्त भन्दा पछि नवौँ नम्बरमा खानेपानीमन्त्री प्रदीप यादव, १० औँ नम्बरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी र एघारौ नम्बरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेका छन् ।