काठमाडौं । नेपाल शिक्षक संघका संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्यायले शिक्षक र शिक्षक संगठन स्वतन्त्र बन्नुपर्ने बताए । लोकतन्त्र बलियो बनाउन पनि शिक्षक राजनीतिक कार्यकर्ता बन्न नहुनेमा उनको जोड थियो ।

लोकतन्त्रका लागि शिक्षा अभियान नेपालले आयोजना गरेको ‘राजनीतिमा शिक्षकको संलग्नता’ विषयक भर्चुअल अन्तक्र्रियामा बोल्दै उपाध्यायले शिक्षक, पार्टीको मान्छे र शिक्षक बन्नै नसक्ने भन्दै शिक्षकले राजनीति र पेशामध्ये एक रोज्नुपर्ने बताए ।

२०४७ आन्दोलनपछिको चुनावमा आफूलाई स्वं गिरिजाप्रसाद कोइरालाले चुनावमा उठ्न आग्रह गरेको भएपनि आफुले शिक्षण पेशा छाड्न नमानेको स्मरण गर्दै उपाध्यायले शिक्षकले राजनीतिज्ञलाई सल्लाहसुझाब दिनुपर्ने तर आफै राजनीतिमा होमिन नहुने बताए ।

विशिष्ट अतिथि एवं शिक्षक संघ र शिक्षक युनियनका पूर्व अध्यक्ष केशवप्रसाद भट्टराईले सबै सार्वजनिक सरोकारका विषय राजनीति भएकाले शिक्षकले दलिय राजनीति नगरेपनि सार्वजनिक हितकारी राजनीति भने गर्न छाड्न नहुने बताए ।

लोकतन्त्र चाहिन्छ, सबैले शिक्षा पाउनुपर्छ, मानव अधिकार चाहिन्छ, सबैलाई स्वास्थ्य सुरक्षा हुनुपर्छ भन्नुपनि राजनीति भएको भन्दै शिक्षक राजनीति बाट अलग हुन नसक्ने भन्दै शिक्षकले दलिय राजनीति मात्रै गर्न नहुने बताए ।

विशिष्ट अतिथि एवं नेपाल शिक्षक संघ र सार्कशिक्षक महासंघका पूर्व अध्यक्ष मोहन ज्ञवालीले शिक्षकले गर्ने राजनीति शिक्षा सुधारमा केन्द्रित हुनुपर्ने बताए । ‘शिक्षक राजनीति न दललाई हस्तक्षेप गर्ने खालको भयो, नत शिक्षा सुधारको लागि केन्द्रित भयो’, ज्ञवालीले भने, ‘अब शिक्षकको राजनीति र आन्दोलनको मोडल परिवर्तन नभइ हुँदैन ।’

विशिष्ट अतिथि एंव नेपाल शिक्षक संघ तथा शिक्षक महासंघका पूर्व अध्यक्ष केशव निरौलाले राजनीतिक परिस्थितिले शिक्षकको राजनीतिक भुमिका तय गर्ने बताए । हिजोको परिस्थितिमा शिक्षकले राजनीति गर्न सही भएपछि अबको परिस्थितिमा शिक्षकहरु दलिय राजनीतिबाट टाढा रहनुपर्नेमा उनको जोड थियो । शिक्षकको अधिकार र शिक्षाको सुधारका लागि भने शिक्षक निरन्तर राजनीतिमा रहनुपर्ने उनको भनाइ थियो ।

नेपाल शिक्षक संघ प्रदेश नम्बर १ का अध्यक्ष पूर्णप्रसाद गौतमले शिक्षकले राजनीति गर्न हुन्छ कि हुँदैन भन्ने विषयमा व्यापक छलफल र अन्तक्र्रिया हुन आवश्यक रहेको बताए । शिक्षक राजनीतिमा डुब्ने कि राजनीतिज्ञलाई खबरदारी गर्ने हो यसमा प्रष्ट हुन आवश्यक रहेकोमा उनको जोड थियो ।

नेपाल शिक्षक संघ चितवनका अध्यक्ष डा. हरिप्रसाद कँडेलले शिक्षकले पेशागत मर्यादा र पेशाको निष्ठा बिर्गार्ने गरी राजनीतिमा होमिन नहुने बताए । शिक्षकको राजनीति शिक्षा सुधारमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका अध्यक्ष एवं लोकतन्त्रका लागि शिक्षा अभियानका संयोजक गोकर्ण बानियाले अभियानले निरन्तर शिक्षासँग सम्बन्धीत मुद्दा उठाउँदै अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा देशभरका एकहजार बढी शिक्षक, कर्मचारी, अभिभावकलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्