विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ आयोजना हुँदै

उत्कृष्ट आइडिया प्रस्तुत गर्ने विद्यार्थीलाई साढे तीन लाख रुपैयाँ पुरस्कार

Avatar photo

Byएजुकेशन पाटी

८ फाल्गुन २०७८, आईतवार


काठमाडौं। विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले कार्यक्रम आयोजना गर्न लागेको हो ।

आइतबार शिक्षा पत्रकार समूह र गैर आवासीय नेपाली सङ्घ अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको घोषणा गरिएको हो । यसमा स्नातक तह अध्ययनरत अमेरिका र नेपाल दुबै देशका विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रमका संयोजक एवं साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीका अध्यक्ष डा. माधव पाण्डेले नेपाल र अमेरिकामा रहेका विद्यार्थीहरुलाई समूहगत प्रतिस्पर्धा गराइने जानकारी दिए । विद्यार्थीहरुमा ‘क्रिटिकल थिङ्किङ’को विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको डा. पाण्डेले बताए । प्रतिस्पर्धामा समूहकार्यबाट सिकाइ आदानप्रदान हुने, एकअअर्कामा सांस्कृतिक ज्ञान र अन्तरघुलन हुने, सिकाइ सीप सिक्ने अवसर पाउने अपेक्षा राखिएको उनको भनाई थियो ।

दुबै देशमा अध्ययनरत विद्यार्थीलाई संयुक्त रुपमा प्रतिस्पर्धा गराएर प्रथमलाई तीन हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार अमेरिकी डलर प्रदान गर्ने सङ्घका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । यसअघिको च्यालेन्जमा अमेरिकामा विद्यालयतहमा अध्ययनरत विद्यार्थी मात्रै सहभागी गराइएको थियो । यसपटक भने स्नातक तहका र नेपालका विद्यार्थीलाई पनि सहभागी गराउन लागिएको हो ।


प्रतिस्पर्धामा एक मिलियन डलर पाएमा त्यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भनेर विद्यार्थीहरुले आफ्नो योजना र अवधारणा प्रस्तुत गर्नुपर्ने जनाइएको छ । जसमा विद्यार्थीहरु समूहमा बसेर काम गर्ने र समूहमै ‘आइडिया’ प्रस्तुत गर्ने डा. पाण्डेले जानकारी दिए ।

यस प्रतिस्पर्धामा सहभागी हुन स्नातक तहमा जुनसुकै संकायमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो नाम, ठेगाना, कलेजको नामसहित मचभबmदष्न२लचलगकब।यचन मा इमेलमार्फत् आउँदो मार्च २० भित्र आवेदनदिन सक्नेछन् । त्यसपछि दुईसय शब्दमा प्रतिस्पर्धामा सहभागी हुनुपर्नाको कारण, आफ्नो योजना र आइडियासहितको लेखन दुई हप्ताभित्र पठाउनुपर्नेछ । सोही लेखनका आधारमा आवेदकमध्येबाट १०० विद्यार्थी छनोट गरिनेछ । यसरी छानिएका दुबै देशका विद्यार्थीहरुलाई २५ समूहमा राखी प्रतिस्पर्धा गराइनेछ । छानिएका विद्यार्थीलाई विज्ञबाट प्रशिक्षित गराइनेछ । अप्रिल ३० भित्र आफ्नो योजनालाई लिखित रुपमा बुझाउनुपर्नेछ । अन्त्यमा मे २८ र २९ मा समूहका प्रत्येक सदस्यलाई जुममार्फत् योजना प्रस्तुत गर्न लगाई विजेता घोषणा गरिने जनाइएको छ ।

सीप क्षमता आदानप्रदान गर्ने र स्रोत प्रदान गरेर त्यसको परिचालनका विषयमा प्रस्तुत गरेका प्रस्तावका आधारमा राम्रो प्रस्तुतिलाई पुरस्कृत गरिने डा. पाण्डेले जानकारी दिए ।

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका प्रवक्ता तोया दाहालले अमेरिकामा कार्यक्रमभन्दा पनि मान्छेका अवधारणा र योजना विनिमय हुने हुँदा दुबै देशका विद्यार्थी मिलेर समूहगत रुपमा आपसी योजना बनाउने संलग्नताले सकारात्मक परिणाम मिल्ने विश्वास व्यक्त गरे ।

यस खालको प्रतिस्पर्धाले दुई देशका समकक्षी विद्यार्थीलाई समूह बनाई आपसी सद्भाव, विश्वास, सम्बन्ध प्रगाढलगायतका सीप आदानप्रदान गर्न सघाऊ पुग्ने संघका अध्यक्ष सुवेदीले जानकारी दिए । यसको प्रभावकारितालाई हेरेर यसलाई बिस्तार गर्न सकिने उनको भनाइ थियो ।

शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ले प्रतिस्पर्धाले विद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउने, समूह कार्य र दुई देशका विद्यार्थीहरुको ज्ञान आदानप्रदान हुने विश्वास व्यक्त गरे । गैर आवासीय नेपाली सङ्घ युएसए र शिक्षा पत्रकार समूहबीचको अर्थपूर्ण सहकार्यको शुरुवातले नेपालको शिक्षा विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्