तमानखोलामा कक्षा नियमित

Avatar photo

Byएजुकेशन पाटी

२३ कार्तिक २०७७, आईतवार

बागलुङ । मुस्कान सिर्पाली दैनिक विद्यालय जान थालेको तीन महिना पुग्यो । ९ कक्षामा पढ्ने सिर्पालीकी साथी मनिषा घर्ती मगर पनि मास्क लगाएर विद्यालय पुग्छिन् ।

तमानखोला गाउँपालिका–६ का उनीहरू पढ्ने शान्ति मावि खुंखानीमा मास्क, सेनिटाइजर र साबुनपानीले हात धुने व्यवस्था छ । विद्यार्थीहरू विद्यालय प्रवेश गर्दा र घर फर्कंदा मिची–मिची हात धुन्छन् । सक्रिय संक्रमित नभएकाले यहाँका सबै विद्यालयमा दुई चरणमा पढाइ सञ्चालन गरिएको छ ।

गाउँपालिकाले हरेक विद्यार्थीलाई मासिक मास्क वितरण गर्छ । ‘हात धोएर, मास्क लगाएर कक्षामा प्रवेश गर्छौं, फर्कने बेला पनि हात धोएर जान्छौं,’ विष्णु आधारभूत विद्यालय नर्जाखानीमा कक्षा ५ मा पढ्ने पविना सिर्पालीले भनिन्, ‘खाना खानुअघि साबुनपानीले हात धुने, कक्षामा प्रवेश गर्दा र निस्कँदा सेनिटाइजर लगाउने गर्छौं ।’ साना र ठूला कक्षाका विद्यार्थी र शिक्षकले नियम पालना गरेर वैकल्पिक शिक्षण सिकाइमार्फत नियमित पठनपाठन भइरहेको प्रधानाध्यापक ओमप्रकाश छन्त्यालले बताए । तमानखोलाका ८ माविसहित सबै विद्यालयमा पढाइ भइरहेको छ ।

कक्षा ११ को परीक्षा पनि सञ्चालनमा छ । ‘सामाजिक दूरी कायम गरेर पढाउने र परीक्षा लिने काम पनि गरियो,’ जनजागृति माविका प्रअ वेदबहादुर छन्त्यालले भने, ‘शैक्षिक सत्र नै ठप्प पारेर

भएन १’ विद्यालयलाई तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर वैकल्पिक शिक्षण सिकाइ र परीक्षा लिन स्वीकृति दिइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘प्राथमिक विद्यालयमा थोरै बालबालिका छन्, उनीहरूलाई दूरी कायम गरेर पढाइएको छ,’ बुढाले भने, ‘आधारभूत र मावि तहमा दैनिक दुई चरणमा कक्षा चलाइन्छ ।’ बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म र त्यसपछि अपरान्ह ४ बजेसम्मको गरी दुई चरणका कक्षा चलाउन अनुमति दिइएको उनले बताए ।

प्रकाश बरालले कान्न्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्