कठमाडौं । नेपाल शिक्षक संघकै प्रस्तावमा शिक्षक महासंघको अध्यक्षमा बाबुराम थापाले निरन्तरता पाएको खुलासा भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले संघका अध्यक्ष राजेन्द्रराज पौडेलकै प्रस्तावमा बाबुराम थापालाई महासंघमा निरन्तरता दिने प्रस्ताव तयार भएको दावी गरेका हुन् ।

‘संघकै अध्यक्ष पौडेलले थापालाई निरन्तरता दिने प्रस्ताव ल्याएपछि म संगठनको अध्यक्ष भएको नाताले केही बोल्न मिलेन’, शर्माले भने, ‘यसको प्रमाण हामीसँग छ ।’

‘अवकाश भएपनि अध्यक्षमा थापालाई निरन्तरता दिउँ, नत्र शिक्षक युनियनमा जस्तै समस्या आउँछ’, भन्ने संघका अध्यक्ष पौडेलले गरेको प्रस्ताव स्मरण गर्दै शर्माले शुरुमा थापाले अवकाश भएपनि कार्यकाल पुरा गर्ने प्रस्ताव निर्विवाद रुपमा परिषद्मा पेश भएको बताए ।

लेकतन्त्रका लागि शिक्षा अभियान नेपालले आयोजना गरेको ‘नेपालको संविधानमा ट्रेड युनियन अधिकार र शिक्षकको पेशागत आन्दोलन’ विषयक भर्चुअल अन्तक्र्रियामा आफ्नो विचार व्यक्त गर्दै संगठनका अध्यक्ष शर्माले महासंघको परिषद्को समापन भव्यरुपमा भएको, पत्रकार सम्मेलनमासमेत संघका अध्यक्ष पौडेलको सहभागिता रहेको र त्यसको अडियो भिडियो प्रमाण पनि आफुहरुसँग अझै सुरक्षित रहेको जिकिर गरे ।

अहिले आएर शुरुको आफ्नै प्रस्ताव, परिषद्को निर्णय भुलेर शिक्षक संघले महासंघ अध्यक्ष थापाको विरोध गर्नु अशोभनीय हर्कत भएको शर्माको भनाइ थियो । परिषदको ३–४ महिनापछि मात्रै संघले नोट अफ डिसेन्ट लेखेको र त्यसले सामान्य शैद्धान्तिक विमति मात्रै जनाउने उनले स्पष्ट पारे ।

संघले महासंघमा ११ जना प्रतिनिधि पठाउनुपर्नेमा हालसम्म पनि एक जना प्रतिनिधि नपठाएको भन्दै शर्माले राष्ट्रिय परिषद्को सर्वसम्मतिले विधान संशोधन गरेको बताए । अब समस्याको समाधान विधान भित्रैबाट खोजिनुपर्ने शर्माको भनाइ थियो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष तिलक कुँवरले पनि महासंघको अध्यक्षमा थापालाई निरन्तरता दिने प्रस्ताव शुरुमा शिक्षक संघकै भएको कुरा दोहोर्याए । अहिलेको विषम परिस्थितिमा शिक्षा ऐन जारी गर्नुपर्ने भएकाले विधान संशोधन गरेर भएपनि बाबुराम थापालाई अध्यक्षमा निरन्तरता दिनुपर्ने र थापा जस्तो नेतृत्व अहिलेको आवश्यकता भएको भन्ने प्रस्ताव शुरुमा संघका अध्यक्ष पौडेले नै राखेको कुँवरले दावी गरे ।

महासंघको कार्यकाल ३ वर्षबाट ४ वर्ष बनाउने र अध्यक्षमा अवकाश पाएपनि थापालाई नै निरन्तरता दिने प्रस्ताव पौडेलले नै शुरुमा राखेपछि मात्रै त्यो परिषद् भेलाको एजेण्डा बनेको खुलासा गर्दै कुँवरले शुरुमा आफुहरुको शैद्धानितक विमति रहेपनि पौडेलकै आग्रहमा त्यो प्रस्तावलाई एजेण्डाको रुपमा स्वीकार गरिएको जिकिर गरे ।

परिषद्को मुखमा संघका केही साथीहरुले कार्यकाल बढाउने विषयमा असहमति जाहेर गरेपनि अध्यक्षमा थापाको निरन्तरताको विषय परिषद्सम्म पनि विवादमा नआएको कुँवरले स्पष्ट पारे । परिषदको पहिलो दिन संघका केही साथीहरुले उपस्थिति नजनाएको पनि अध्यक्षको निरन्तरताको विषय नभइ कार्यकाल थप्ने विषयको विमतिको कारणले भएको उनको भनाइ थियो । विधानले अध्यक्ष स्वीकारिसकेपछि अमूक संगठनले मान्ने नमान्ने विषयले कुनै अर्थ नराख्ने उनको भनाइ थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले १७ थरीका शिक्षकको समस्या समाधान गर्न बालुवाटारमा ९ रेक्टरको भूकम्प जानेगरी शिक्षक आन्दोलनको आँधीवेहरी सिर्जनागर्ने बेला आएको बताए । महासंघको सन्दर्भमा सहमति, सहकार्य र सम्झौताको विकल्प रहेको उनको भनाइ थियो ।

नेपाल शिक्षक महासंघका संस्थापक एवं निवर्तमान अध्यक्ष केशव निरौलाले शिक्षक नरहेको व्यक्ति शिक्षक महासंघको अध्यक्ष बन्नु अवैधानिक र असान्दर्भिक कदम भएको टीप्पणी गरे । यसअघि शिक्षक युनियनमा यस्तै अभ्यास रहेकोसमेत उनले स्मरण गराए । कृष्णप्रसाद ढकाल र दिलबहादुर जोशी शिक्षक नभएकै कारण युनियनको अध्यक्षबाट विदा भएको उदाहरण दिँदै निरौलाले यो विषय प्रक्रिया भन्दापनि आचारण, व्यवहार र निष्ठाको विषय भएकोजिकिर गरे ।

महासंघको उपाध्यक्ष कुँवर र संगठनका अध्यक्ष शर्माले सार्वजनिक कार्यक्रममै थापाको निरनतरताको प्रस्ताव संघका अध्यक्ष पौडेलको हो भनिसकेको अवस्थामा यसो गरिएको हो भने यो सबै भन्दा ठूलो अपराध भएको निरौलाले बताए । महासंघको बैठकमा एउटा कुरा गर्ने र संघको फोरममा आएर हुँदैन भन्ने कुरा गरेर संघका अध्यक्ष पौडेलले शिक्षक वर्ग र पेशागत आन्दोलनमाथि नै बेइमानी गरेको निरौलाको भनाइ थियो ।

यस विषयमा शिक्षक संघभित्र गम्भीर छलफल हुन जरुरी रहेको र महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले पनि प्रष्ट कुरा राख्नुपर्ने उनको आग्रह थियो ।

शिक्षक संघका निवर्तमान उपाध्यक्ष गोकर्ण बानियाले महासंघको विवादका सन्दर्भमा शिक्षक संघको अडान उपर्युक्त रहेको बताए ।

कार्यक्रममा प्रमुख आतिथ्य नेपाली कांग्रेसका केन्द्रिय श्रम तथा ट्रेड युनियन विभागका प्रमुख एवं पूर्व सांसद शिवप्रसाद हुमागाई, संघका संघीय उपाध्यक्षहरु अम्मर बहादुर खड्का, तिलक कटुवाल, उपमहासचिवहरु, धनकला भण्डारी, परशुराम यादव, प्रदेश १ का प्रमुख पूर्णप्रसाद गौतम, सुदूरपश्चिम प्रदेश प्रमुख विर्ख मल्ललगायत संघका विभिन्न जिल्लाका अध्यक्षहरुले बोलेका थिए भने कार्यक्रमको अध्यक्षता गोकर्ण बानिया र सहजकर्ता श्रम तथा ट्रेड युनियन विभागका सदस्य पदमराज अधिकारीले गरेका थिए ।

कार्यक्रमको भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्