कोरोना भाइरसको त्रासले महामारीको रुप लिइरहेकै बेला हुम्लामा दुई महिनापछि स्थानीय एफएम रेडियोबाट एसईई तयारी कक्षा सुरु भएको छ । अहिले विद्यार्थीहरु रेडियो सुन्दै परीक्षाको तयारीमा जुटेका हुन् ।

लामो समयसम्म पठनपाठनबाट टाढा रहेका विद्यार्थीलाई पुनः सिकाइसँग जोड्न भन्दै रेडियो कक्षा शुरु गरिएको हो । रेडियोबाट कक्षा सञ्चालन गरिँदा विद्यार्थीहरुलाई पुनः पठनपाठनमा फर्किन सहज हुन थालेको छ ।

दुर्गममा अन्य भर्चुअल विधिहरु उपयुक्त नदेखिँदा जिल्लामा भएका तीन वटा एफएम रेडियोबाट एक साथ कक्षाहरु सञ्चालन गरिएको हो । पहिलो चरणमा एसईई परीक्षा लक्षित गर्दै कक्षा दशका विद्यार्थीहरुका लागि कक्षा सञ्चालन भएको छ ।

एसईई परीक्षा हुने नहुने अन्योलका बीच राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयले एसईई परीक्षा सञ्चालन हुने सुनिश्चित गरेपछि जिल्लामा पनि एसईई परीक्षा तयारी शुरु भएको हो । शिक्षा मन्त्रालयका अधिकारीहरुले सञ्चारमाध्यमबाट परीक्षा हुने र तयारीमै बस्न विद्यार्थीहरुले भनेका थिए ।

एसईई परीक्षाको तयारी गरिरहेकी छात्रा सविता शाहीले रेडियोबाट कक्षा सञ्चालन भएपछि  आफुहरुलाई परीक्षा तयारी गर्न सहज भएको बताइन् । कहिले परीक्षा हुने र नहुने खबरहरुले अन्योलमा परेपनि अहिले एकचित्तका साथ परीक्षा तयारीमा जुटेको उनको भनाइ थियो ।

करिव दुई महिनादेखि विद्यार्थीमा खासै अध्ययनमा रुचि नरहेको बेला रेडियोबाट सुरु भएको कक्षाले फेरी विद्यार्थीलाई परीक्षाको तयारीमा जुट्न सहज भएको छ  । आफुसँग मोबाइल नभएकी शाहीले आमाको मोबाइलबाट बिहान र बेलुका सञ्चालन हुने कक्षामा सहभागिता जनाउन थालेको बताइन् । विद्यार्थी मोबाइल काखमा राख्ने, कापी र डड्पेन समातेर रेडियोबाट पठन–पाठन भएका महत्वपुर्ण कुराहरु टिप्ने गर्न थालेका छन् ।

परीक्षाकै तयारीमा जुटेकी अर्का विद्यार्थी हिक्मत भण्डारीले पनि नियमित रुपमा रेडियो कक्षामार्फत् एसईई तयारीमा जुटेकी छन् ।  लामो समय पठन–पाठन हुन नसकेका बेला रेडियोबाट सिक्दा कक्षाकोठामै अध्ययन गरेको जस्तो महशुस हुन थालेको उनले बताइन् ।

बुवाको मोबाइलबाट भण्डारी पठन–पाठन भएको कुरा सुन्ने गर्छिन । उनले आफु मात्र होइन आफ्नो समूहका  सबै साथीहरुलाई खबर गरेर रेडियोबाट सञ्चालन भइरहेका कक्षा सुन्न पनि आग्रह गर्दे आएकी छन् ।

भण्डारी सहित अन्य दुई जना साथीहरु एकै ठाउँमा बसेर रेडियो कक्षा लिने गर्छन् । पढ्ने बानी हराउन थालेको बेला रेडियोबाट कक्षा सञ्चालन हुँदा विद्यार्थीहरुलाई पढाइ निरन्तरता दिन सहज हुने देखेर रेडियो कक्षा सञ्चालन गर्न सहयोग गरेको आधार विकासका शिक्षा क्षेत्र हेर्ने अधिकृत कुन्जोक लामाले बताए ।

अहिले जिल्लामा सुरु भएको एफएम रेडियोबाटका कक्षालाई प्रभावकारी बनाउन सबै पक्षलाई आग्रह गर्दै शिक्षा विकास तथा समन्वय एकाई प्रमुख विष्णुबहादुर शाहीले आगामी दिनमा आउने सुझाबका आधारमा अगाडि बढ्न सकिने बताए  ।

विद्यार्थीलाई  पठन–पाठनमा सहभागी गराउने वातावरण सुरु भएको र यसमा बढी भन्दा बढी विद्यार्र्थीहरुको सहभागिता जुटाउनेतर्फ लाग्न सबैलाई प्रमुख शाहीले आग्रह गरे ।

हालसम्म कुनैपनि  गाउँपालिका र अन्य सरोकारवाला पक्षबाट पहल नभएको बेला आधार विकासले एक हजार ३५ जना एसईईको तयारी गरि रहेका परीक्षार्थी र नयाँ शैक्षिक सत्रबाट कक्षा दशमा पुगेका विद्यार्थीहरुका लागि  कक्षा सञ्चालन गरेको हो ।

आधारले उत्तरी हुम्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल हुम्लाको सदरमुकाम सिमकोटमा दुईवटा र अदानचुली गाउँ पालिकामा एक वटा गरि तीन वटा एफएम रेडियोबाट कक्षा सञ्चालन भइरहेका छन् ।

हाललाई अनिवार्य अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयहरुको बिहान बेलुकाको समयमा  कक्षा सुरु गरिएको छ । हाल भइरहेको पठन–पाठनको मूल्याङ्कनका आधारमा पठन–पाठनलाई अझै प्रभावकारी बनाउने लामाले बताए ।

रेडियो सुन्ने पहुँच हुम्लाका सबै गाउँपालिकामा अहिले पनि नभएको कारण अझै केही विद्यालयका विद्यार्थीहरु भने अहिलेको पठन–पाठनबाट छुट्ने छन् ।

प्रतिकृया दिनुहोस्