मकवानपुर। हेटौँडा उपमहानगरपालिकाले एसईई ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क कक्षा चलाउने भएको छ । उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले निशुल्क कक्षा सञ्चालन गर्ने भएको हो ।

महाशाखाले मंगलबार सूचना जारी गर्दै हेटौंडा उपमहानगरअन्तर्गतका विद्यालयबाट माध्यमिक शिक्षा परीक्षामा एनजी ल्याएका विद्यार्थीका लागि साउन २ देखि २० गतेसम्म निःशुल्क कक्षा सञ्चालन हुने जनाएको छ ।

विद्यार्थीलाई लक्षित गर्दै उपमहानगरपालिकाले मौका परीक्षाको तयारीका लागि ५ वटा सामुदायिक विद्यालयमा बिहान ६ देखि १२ बजेसम्म अनिवार्य विषयको कक्षा सञ्चालन गर्नेछ । हेटौंडा–३ को महेन्द्रकिरण माध्यमिक विद्यालय, हेटौंडा–४ को भूटनदेवी माध्यमिक विद्यालय, हेटौंडा–९ को प्रगति माध्यमिक विद्यालय, हेटौंडा–१३ को महेन्द्र माध्यमिक विद्यालय र हेटौंडा–१६ को जनप्रिय माध्यमिक विद्यालयमा कक्षा सञ्चालन हुनेछन् ।

उपमहानगरको भूगोल मिलाएर ५ वटा स्कुलमा नि:शुल्क कक्षा संचालन गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ । निःशुल्क कक्षामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले ५ वटा विद्यालयमध्ये एउटामा रोजेर सहभागी हुन पाउनेछन् ।

हेटौंडा उपमहानगरपालिकामा करिब एक हजार ५ सय जना विद्यार्थीको नतिजा एनजी आएको थियो । ग्रेडवृद्धि परीक्षा साउन २३ गतेबाट सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस्