काठमाडौँ । सरकारले अन्तिम समयमा आएर माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । हिजोसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै हालतमा एसईई परीक्षा नसर्ने दाबी गरेको थियो ।

तर, बुधवार परीक्षाको एकदिन अगाडि एसईई परीक्षा स्थगित स्थगित भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको जानकारी दिए ।

यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

पहाडी र हिमाली क्षेत्रमा विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेका थिए । भने प्रश्नपत्र पनि जिल्लाहरुमा पुगिसकेको थियो । भोलि विहानको परीक्षाका लागि सम्पूर्ण तयारी भइसकेको थियो ।

तर, एक्कासी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

समितिले २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न निर्देशन दिएको छ ।

यो सँगै एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।

चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने एसईईमा प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको थियो । बिहीबार अर्थात् चैत ६ गतेदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका निम्ति स्थगित भएको हो । एसईई परीक्षाका लागि देशभर १९९५ केन्द्र तोकिएको थियो ।

२०७६ चैत्र ५ गते १८:४४मा प्रकाशित

प्रतिकृया दिनुहोस्