काठमाडौं । आफ्नो तलब सुविधा बढाइदिन माग गर्दै देशभरका इसिडि शिक्षक तथा विद्यालय कर्मचारीहरुले प्रधानमन्त्रीदेखि शिक्षामन्त्रीका मोवाइलमा एसएमएस पठाएका छन् । डिजिटल आन्दोलन अन्तर्गत उनीहरुले शुक्रवार साँझ ७ देखि ८ बजेसम्म देशभरबाट ४० हजार बढी एसएमएस पठाएका हुन् ।

स्थायी शिक्षक हकहित मञ्चको आयोजनामा शुरु भएको यस डिजिटल आन्दोलनमा देशभरका इसिडि शिक्षक र विद्यालय कर्मचारी बाहेक अन्य शिक्षकहरुसमेत सहभागी बनेका थिए ।

उनीहरुले एकसाथ प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडा, रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल तथा प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगनथापाको मोवाइलमा आफ्ना ५ बुंदे माग सहितको एसएमएस पठाएका थिए ।

शिक्षा बजेटले इसिडि शिक्षक र विद्यालय कर्मचारीको सुविधा बढाउने माग सम्बोधन नगरेपछि डिजिटल आन्दोलन शुरु गरिएको स्थायी शिक्षक हकहित मञ्चका संयोजक रमेशबाबु भट्टराईले जानकारी दिए ।

उनले शुक्रवार साँझ ७ देखि ८ बजेभित्र देशभरबाट प्रधानमन्त्री देखि गगन थापासम्मका मोवाइलमा ४० हजार एसएमएस पठाइएको जानकारी दिए ।

उनका अनुसार देशभरबाट इसिडि शिक्षक र विद्यालय कर्मचारीलाई श्रमऐनले तोके बमोजिमको न्यूनतम तलब सुविधा दिनुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षकको मर्यादाक्रम तोकिनुपर्ने, शिक्षक अस्पतालको व्यवस्था हुनुपर्ने, स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया खारेज हुनुपर्ने तथा सामुदायिक विद्यालयलाई सम्मान गर्नुपर्नेलगायतका माग समेटिएको एसएमएस पठाइएको थियो ।

लकडाउनको समयमा अन्य सडक आन्दोलनको सम्भावना नरहेकाले मोवाइलमार्फत् डिजिटल आन्दोलन शुरु गरिएको संयोजक भट्टराईले जाननकारी दिए ।

डिजिटल आन्दोलनका क्रममा मोवाइलमा एसएमएस बाहेक हजारौं इमेल र म्यासेन्जरहरुबाट समेत सन्देश पठाइएको थियो । तर आफुहरुको आन्दोलन एसएमएसमा केन्द्रित रहेको र मञ्चले नै उच्च पदस्थ व्यक्तित्वहरुको मोवाइल नम्बर र मागसहितको सन्दैश तयार पारी देशभर पठाएको भट्टराईले जानकारी दिए ।

आफ्ना मागहरु अझै सम्बोधन नभए फरक फरक तरिकाका आन्दोलन गर्दै जाने मञ्चले स्पष्ट पारेको छ । स्थायी शिक्षक हकहित मञ्च २०७५ सालमा स्थापना भएको थियो ।

२०७७ जेष्ठ १७ गते ११:४९मा प्रकाशित

प्रतिकृया दिनुहोस्