काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो ।

शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, २१०६ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ ।चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम उपलब्ध ग गराइनेछ ।

नयाँ प्राविधिक शिक्षालयका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई जम्मा ७० करोड ५९ लाख ६ हजार, प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ ।साथै, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयका लागि ३३ करोड ६० लाख रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताए । ‘देशभरका विद्यालयको भौतिक संरचना, आईसीटी व्यवस्थापन गर्ने अभियानमा छौं’ मन्त्री पौडेलले भने, ‘निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई सम्बोधन गछौं ।’

देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा ७ हजार ९८६ विद्यालयले भवन निर्माण, ४२३५ विद्यालयले आईसीटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए ।

प्रदेश एकमा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत वितरणको विवरण अनुसार प्रदेश १ मा १९८ विद्यालयमा ४ कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, ३४९ विद्यालयमा आईसीटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ७ विद्यालय छनोट भएका छन् ।यस्तै, लुम्बिनी प्रदेशमा १९५ विद्यालयमा ४ कोठे भवन, १३७ विद्यालयलमा दुई कोठे भवन, आईसीटी ल्याब व्यवस्थापनमा २८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापना तीन विद्यालय छनोट भएका हुन् ।

मधेश प्रदेशमा १८० विद्यालयमा ४ कोठे भवन, १९७ विद्यालयमा २ कोठे भवन, २३५ विद्यालयमा आईसीटी ल्याब व्यवस्थापन, पाँच विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा चार वटा विद्यालय छनोट भएका छन् ।सुदूरपश्चिम प्रदेशमा १४१ विद्यालयमा चार कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, २७० विद्यालयमा आईसीटी व्यवस्थापन, ८ विद्यालयमा प्ा्राविधिक ल्याब र विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् ।

भूकम्पबाट प्रभावित बागमती प्रदेशका जिल्लाहरूमा १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेलले जानकारी दिए ।चितवनबाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भुम्पबाट नबनेका विद्यालयमा ४ कोठे भवन २२ वटा, दुई कोठे भवन १२, आईसीटी ल्याब ४९१, प्राविधिक ल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापना ४ छनोट भएका छन् ।

यस्तै, गण्डकीमा १३० विद्यालयमा ४ कोठे भवन, १२५ दुई कोठे भवन, २५५ आईसीटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् ।कर्णालीमा ११० विद्यालयमा ४ कोठे भवन, १३८ मा दुई कोठे भवन, २२५ विद्यालयमा आईसीटी ल्याब, प्राविधिक ल्याब दई र नयाँ प्राविधिक विद्यालय स्थापना दुई विद्यालय छनोट भएका छन् ।

छनोट भएका विद्यालयका नामावली

प्रतिकृया दिनुहोस्