तनहुँ । लामो समयपछि झोला बोकेर विद्यालय जान पाएकोमा व्यास नगरपालिका–१ तालघारेकी सिवानी परियार खुशी देखिन्थिन् । कोरोना कहरका कारण मध्य वैशाखमा बन्द भएका विद्यालय करिब ४ महिनापछि खुल्दा उनी झोलामा कितावकापी बोकेर विहान ९ बजे नै विद्यालयतर्फ हिडेकी थिइन् । आधा घण्टाको पैदल यात्रामा विद्यालय पुगिन् । उनका साथीहरू पनि विद्यालय जान पाएकोमा प्रफुल्ल देखिन्थे ।

भादगाउँस्थित जलदेवि माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत सिवानी अनलाइन कक्षामा सहभागी हुन सकेकी थिइनन् । ‘विद्यालयले अनलाइनमा पढाए पनि मसँग मोबाइल थिएन,’ उनले भनिन, ‘आफन्तको मोबाइल मागेर डाटा प्रयोग गरी मुस्किलले एक साता अनलाइन कक्षमा सहभागी भएको थिए । त्यसरी पढेको भन्दा विद्यालयमै पढ्न पाउदा खुसी लागेको छ ।’ अनलाइन कक्षामा शिक्षकले पढाएको बुझ्न निकै सकस अनुभव गरेको उनले सुनाइन् । ‘कक्षामा त नबुझेका र नजानेका कुरा सोध्न सजिलो भएको छ,’ उनले भनिन् ।

कोरोना संक्रमण त्रासका बिच विद्यालय आउन डर लागेको दमौली मोडल एकेडेमीकी १० कक्षाकी छात्रा स्वेच्छा मजकोटीले बताइन् । उनले भनिन्, ‘सधै कोरोना कोरोना भनेर बस्न पनि भएन, आफ्नो भविष्य पनि हेर्नुपर्‍यो । त्यसैले स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर भौतिक रुपमै विद्यालयमा उपस्थित भएका छौं ।’ विद्यालयले अनलाइन कक्षा चलाए पनि डाटा प्रयोग गरी सधै अनलाइनमा सहभागी हुन मुस्किल भएको उनले बताइन् । एक्लै कोठामा बसेर पढ्नुभन्दा साथीहरूसंग बसेर पढ्दा पढाइमा पनि मन लाग्ने उनको अनुभव छ ।

जलदेवी माविमा ३ कक्षाकी विद्यार्थी ८ वर्षीया करिस्मा लौडारी पनि भौतिक दूरी कायम गरी कक्षा कोठामै बसेर पढिरहेकी छिन् । ‘घरमा भन्दा स्कुलमै पढ्न रमाइलो लाग्छ,’ उनले भनिन्, ‘पहिले एउटा बेञ्चमा ४ जना बस्थ्यौं, अहिले २ जना मात्र बस्छौं । मिसले मास्क नखोल र टाढाटाढा बस भन्नुभएको छ ।’ विद्यार्थीलाई अनलाइनमा सहभागी गराउन निकै मुस्किल भएको जलदेवीकी शिक्षिका रिमा आले रानाले बताइन् । उनले भनिन्, ‘साना विद्यार्थीका अभिभावकले जुम खोलेर विद्यार्थीलाई अगाडि राखिदिने र आफु अन्य काममा व्यस्त हुने हुँदा सिकाई प्रक्रिया प्रभावकारी हुन सकेको थिएन ।’ अनलाइनबाट पठनपाठन गराउँदा जम्मा ३५ देखि ४० प्रतिशत विद्यार्थी सहभागी गराउन सकिएको विद्यालयले जनाएको छ ।

विद्यार्थी संख्या कम भएको र सबै विद्यार्थीमा अनलाइन कक्षाको पहुँचमा नपुग्दा आवश्यक स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरिएको दमौली मोडल एकेडमीका प्रिन्सिपल प्रकाश खड्काले बताए । उनले भने, ‘अनलाइनमा सहभागी भएका विद्यार्थी पढे पनि अन्य विद्यार्थी सिकाइबाट वञ्चित हुनुपरेको थियो, त्यसैले नगरपालिकाको निर्देशन अनुसार विद्यालय सञ्चालनमा ल्याएका हौं ।’

जिल्लाका १० वटौ स्थानीय तहले स्मार्ट लकडाउनको अवधारणलाई पालना गरी अहिले प्रत्यक्ष रुपमा विद्यालय खोल्न थालेका छन् । वैकल्पिक माध्यमबाट पठनपाठन गराउने भनिए पनि त्यो प्रभावकारी नहुँदा स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा कडाइका साथ मापदण्ड पालना गरी भौतिक रुपमै विद्यालय खोली पढाइ थालिएको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘एउटा कक्षा कोठामा २५ जनाभन्दा बढी नरहने गरी विभिन्न समुह वा जोरबिजोर, आलोपालो गरी बढीमा ४ घण्टा कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ ।’ विद्यालय खुलेदेखि प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखसहितको टोलीले अनुगमन समेत गरिरहेको उनले बताए ।

स्थानीय तहले स्वास्थ्य सुरक्षाका सामाग्रीको प्रयोग तथा मापदण्ड पालना गरी विद्यालय खोल्दै लगेका छन् । तर स्थानीय प्रशासनले भने कोरोना संक्रमण जेखिम कायमै रहेकाले तत्काल भौतिक रुपमा विद्यार्थी सहभागी गराई पठनपाठन नगराउन भन्दै आएको छ ।

कान्तिपुरमा खबर छ।

प्रतिकृया दिनुहोस्