शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल)ले सिन्धुपाल्चोकमा हर्क तामाङको संयोजकत्वमा जिल्ला समन्वय समिति गठन गरेको छ ।

सिन्धुपाल्चोकमा शिक्षा तथा बालबालिकाका लागि क्रियाशील संघ–संस्थाहरुको आज २५ असोजमा भएको भर्चुअल भेला जिल्ला साधारणसभामा परिणत भई सो सभाले ९ सदस्यीय समन्वय समिति गठन गरेको हो । संस्था नै सदस्य रहने प्रावधानअनुसार गठित समितिमा संयोजक तामाङले ग्रामीण महिला सिर्जनशील परिवार (जिएमएफपि)का तर्फबाट प्रतिनिधित्व गरेका हुन् ।

यसैगरी, समितिको सह–संयोजकमा पेम्बातेम्बा लामा (केटाकेटी संस्था), सचिवमा सरु गिरी (हेलम्बु एजुकेसन एण्ड लाइभ्लीहुड पार्टनरसिप–हेल्प) र कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली (टुकी संघ सुनकोशी) चयन भएका छन् । यस्तै, सदस्यहरुमा गोविन्द सापकोटा (सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च–सिडिइसिएफ), डोल्मा तामाङ महिला आत्मनिर्भरता केन्द्र–मा), रोशनी अधिकारी लामा (हेलम्बु महिला सञ्जाल सशक्तिकरण), छिरिङ लामा (नेपाल शिक्षा अभियान संस्था–एनइआइओ) र गणेश सिग्देल (विकासका लागि हामी–डब्लुएफडिओ) हुनुहुन्छ । अध्यक्षदेखि सदस्यसम्मका सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।

साधारणसभाले दुईजना केन्द्रीय प्रतिनिधि पनि छानेको छ । जसमा छिरिङ लामा र रोशनी अधिकारी लामालाई रहेकाछन् ।

देशभर साढे तीन सयभन्दा बढी संघ–संस्थाहरुको सञ्जालका रुपमा क्रियाशील एनसिई नेपाल मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै प्रदेश र जिल्ला तहमा बिस्तार हुँदै आएको छ । सातवटै प्रदेश समन्वय समिति रहेको एनसिई नेपालको अहिलेसम्म २८ जिल्लामा समन्वय समिति गठन भइसकेको छ ।

जिल्ला समन्वय समिति गठन गर्ने क्रममा भेलाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै एनसिई नेपालका केन्द्रीय अध्यक्ष डिल्लीराम सुवेदीले संवैधानिक रुपमै प्राप्त शिक्षा अधिकार व्यवहारतः कार्यान्वयन गर्नका निम्ति एनसिई नेपालको सञ्जाल देशब्यापी बनाउने र सोही बलमा सार्वजनिक शिक्षाको पक्षमा अभियानले सार्थकता पाउन सक्ने बताए । उनले सिन्धुपाल्चोकका शिक्षामा काम गरिरहेका संस्थाबीच समन्वय र सञ्जालीकरण गर्ने काम समन्वय समितिमार्फत् सम्भव बनाउनु पर्छ भने ।

एनसिई नेपालका महासचिव लालबहादुर ओलीले जिल्लाको शिक्षा विकासमा लामो समयदेखि अनुभव सम्हालेका र उल्लेखनीय योगदान दिइरहेका संस्थाहरुको उपस्थितिले एनसिईले लिएको अभियान सफल बन्नेमा विश्वास व्यक्त गरे ।

समाज कल्याण परिषद्की सदस्य एवं ग्रामीण महिला सिर्जनशील परिवारकी कार्यकारी निर्देशक नानीमाया थापाले एनसिई नेपालले स्थापनाकालदेखि नै थालेको अभियानप्रति आफू जानकार रहेको भन्दै यसको सदस्यका रुपमा संस्थाहरु आबद्ध हुनपाउनु खुशीको विषय हो भने ।

एनसिई बागमति प्रदेश संयोजक प्रकाश खतिवडाले निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा संवैधानिक रुपमै उल्लेख भएको र यसलाई यथार्थमा परिणत गर्न अभियानकर्मीहरु लाग्न आह्वान गरे । संयोजक खतिवडाको अध्यक्षतामा सम्पन्न सो जिल्ला साधारणसभाको सहजीकरण एनसिई केन्द्रीय सचिव सुदर्शन सिग्देलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्