वि.सं. २०७३ माघ ७ गते शुक्रबारको घमाइलो दिन । श्री महावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरीको प्राङ्गण । सदासर्वदा उपस्थित हुने विद्यार्थीहरू बाहेक यदाकदा आउने र एस.एल.सी. दिइसकेका विद्यार्थीहरू समेत उपस्थित भई विद्यालय परिसर भरिभराउ पारेका ।
सदा भेट हुनासाथ ‘गुड मोर्निङ’ भनेर अभिवादन गर्ने ती विद्यार्थीहरू त्यसबेला भिन्न मुद्रामा उभिएर हात जोडी भिन्न स्वरमा भन्न थाले– ‘नमस्कार सर !’, ‘प्रणाम सर !’ ‘हमरा सभके छोडिक नई जाऊ, सर !’, ‘निक सरके जाइलै नई देबै ।’ आदित्यादी ।
उनीहरूको हाउभाउ, आदरभाव र क्रियाकलापले म अत्यन्तै भावविभोर भएको थिएँ । त्यस बखत मसँग उनीहरूलाई सम्झाउने शब्द नै थिएनन् । यद्यपि बुझ्नेका लागि मिलाईजुलाई भन्नै पथ्र्यो । भनिदिएँ– “म भौतिक रूपमा टाढिए पनि तिमीहरूकै साथमा हुन्छु । तिमीहरूकै असल सोच र कार्यकलापमा हुन्छु । तिमीहरूकै समस्या हल गर्न सदा प्रयत्नशील रहिरहने छु ।
शिक्षक भनेको विद्यार्थीको बाधा–अडकाउ फुकाउने व्यक्ति हो । स्वविवेक र स्वप्रयत्नले आफ्नो अध्ययन, मनन र चिन्तनको क्रमलाई अघि बढाउँदै जाओ र गाह्रा लागेका समस्या टिप्दै जाओ । म टाढा पुगेको छैन । पाक्षिक रूपमा आएर म तिमीहरूको समस्या हल गरी अघि बढ्ने बाटो प्रशस्त गर्ने छु ।
प्यारा विद्यार्थी भाइ–बहिनीहरू ! म मेरो इच्छा र सुविस्थाले तिमीहरूबाट टाढिएको हैन । शिक्षा क्षेत्रको सरकारी व्यवस्थानुरूप माथिल्लो पदमा पदोन्नति भएकैले जानु परेको हो । म अनिवार्य अवकासमा परेको व्यक्ति होइन । पुनः फर्केर तिमीहरूकै शैक्षिक सेवामा हाजिर हुन सक्छु । त्यसैले मन दुखाउने काम छैन । टाढा रहँदा नै माया–प्रेम, आदरभाव झ्याङ्गिन्छ, फैलन्छ । मैले नै धेरै कुरा तिमीहरूबाट सिकेको छु । सरकारी माष्टरको परिचय तिमीहरूबाटै पाएको हुँ । म तिमीहरूको सहृदयीपन, आदर–सम्मानको सदा ऋणी छु, रहिरहने छु ।”
मेरा लामा गन्थनले उनीहरूको मनोभाव बुझ्न नसकेको महसुस भइरहेको थियो । म पनि उनीहरूकै मनोविज्ञान अध्ययनमा निकै बेर व्यस्त रहेँ ।
त्यसपछि शिक्षक मित्र जनार्दन साहले विदाई समारोहलाई औपचारिक दिशा प्रदान गर्न आसन ग्रहणको कार्यक्रम सञ्चालन गर्नुभयो । सदा उद्घोषण/व्यवस्थापनको भूमिका निर्वाह गर्दै आएको मलाई त्यस बखत विशिष्ट अतिथिको आसन ग्रहण गराइयो । आफ्नै कर्मथलोबाट म बिदा हुनुपर्दै थियो । मन एकतमासको भइरहेको थियो ।
मेरै बारेमा बोल्ने पालो वक्ताहरूको आयो । सर्वप्रथम वि.सं. २०७३ फाल्गुन १ गते उमेर हदका कारण अनिवार्य अवकासमा पर्न गइरहनुभएका ज्येष्ठ शिक्षक वंशीलाल यादव मञ्चमा डाकिनुभयो । उहाँले मन्तव्यका क्रममा भन्नुभयो– “नन्दलाल सर विद्यालयमा आउँदा विद्यालयको ज्यान आएको महसुस भएको थियो । उहाँको दुई वर्षे शिक्षणकाल अति नै सफल रह्यो । उहाँ प्रगति गरेर र सम्मान लिएर मात्र गइरहनुभएको छैन, प्रगति गर्ने र सम्मान पाउने तौरतरिका समेत अरूलाई सिकाएर गइरहनुभएको छ ।”
अर्का बयोवृद्ध विज्ञान–गणित शिक्षक बाल्मीकि प्रसाद सिंहले मन्तव्यका क्रममा गहभरि अश्रु बनाएर भन्नुभयो– “आचार्यजीलाई मैले आफ्नै आत्मीय भाइका रूपमा हेरेको थिएँ । उहाँको पढाउने शैली र विद्यार्थीप्रतिको जवाफदेहितातथा लगनशीलताको म प्रशंसक हुँ । उहाँले सधैँ सत्य बोल्ने र इमान्दार बन्ने बाटोमा लागेर सबैको दिल जित्नुभएको छ । उहाँको अझ प्रगति होस् भनी म माँ सरस्वती भगवती समक्ष प्रार्थना गर्दछु ।”
शिक्षक मित्र जिवछ प्रसाद यादवको कथन थियो– “म पनि पश्चिमी नेपालबाट पूर्वी नेपालमा आएको हुँ । आउनु र जानु प्रकृतिको नियम नै हो । आचार्यजीले असल मात्र हैन एक सक्षम शिक्षकको परिचय छाडेर जानुभएको छ ।”
अर्का शिक्षक मित्र गोपाल प्रसाद मण्डलले आफ्नो अनुभूति यसरी पोख्नुभयोे– “नन्दलाल त्यस्तो शिक्षक हुनुहुन्छ जसलाई मैले आफ्नो मनमस्तिष्कमा मात्र सजाएको छैन, मेरो मोवाइल भरि उहाँ छरिनुभएको छ । भ्रममा नपर्नुहोला । उहाँको फोटोले मेरो मोवाइल भरिएको छैन । उहाँका अक्षरले भरिएको छ । म जुन कक्षामा पुग्थेँ, कालो÷सेतो पाटी भरि उहाँका सुन्दर अक्षर देख्थेँ । एक दिन होइन, दुई दिन होइन, प्रत्येक दिन देख्दा म आफैँ उहाँको प्रशंसाको गायक नै बनेको थिएँ । फोटो खिचेर ती अक्षरलाई मोवाइलमाकैद गर्न थालेँ । घरमा छोरीले समेत पढ्थिन् र केही सिकेको अनुभूत गर्थिन् । म पनि नेपाली लेखनकला र भाषिक परिष्कारमा मद्दत लिइरहन्थेँ ।”
त्यस अवसरमा औसत चौध घण्टा मसँगै विताउने घनिष्ट मित्र मनोजकुमार यादवले भन्नुभएको थियो – “हामी अरूमा गुण देख्छाँै । उम्केको माछोलाई ठूलो महसुस गर्छौँ । समयमै आफूमा असल कुराहरू बसाउन भने भुल्दछौँ । जे होस् आचार्य सर एक अमिट छाप छाड्न सफल शिक्षक हुनुहुन्छ । उहाँ आफूलाई विद्यार्थीको सेवामा रहने शैक्षिक सेवक ठान्नुहुन्छ । र, सोही अनुरूप व्यवहार पनि गर्नुहुन्छ । उहाँभित्रको गुण पक्षलाई आत्मसात् गर्नसके सच्चा सम्मान गरेको ठहर्छ भन्ने लाग्छ ।”
कक्षा– ९ की प्रथम छात्रा रम्भा यादवले भनिन्– “कक्षा–७ देखि ९ सम्म हामीलाई सम्झाई बुझाई राम्ररी नेपाली विषय पढाउने नन्दलाल सरलाई म नमस्कार गर्दछु ।”
मन्तव्य व्यक्त गर्ने पालो लिँदै जनार्दन साहले भन्नुभयो– “मान्छेलाई समयले कहाँ–कहाँ पु¥याउँदो रहेछ । हामीले नसोचेकै बखत आचार्य सर आउनुभयो र सँगै काम गर्दागर्दै नसोचेकै अवस्थामा बिदावारी हुनुभयो । यो सुखद र दुःखदको संयोगको क्षण मेरो जीवनमै अविष्मरणीय रहने छ ।”
शिक्षक मित्र मनिन्द्र प्रसाद साहको कथन थियो– “मान्छेका कामले गर्दा उसको मूल्याङ्कन हुन्छ । आचार्यजीले उच्च कार्य गर्नुभयो र उच्च मूल्याङ्कन पाउनुभयो । उहाँ हर्दम शिक्षणीय कार्यमा व्यस्त रहनुहुन्थ्यो । सधैँ स्वस्थ रहनुस् र शिक्षणकर्ममा व्यस्त रहनुस् । यही चाहना र यही कामना !”
अर्का शिक्षक कपिलदेव यादवले भन्नुभयो –“आचार्य सरको अनुपस्थितिले महावीरको शैक्षिक कार्यकलापमा अभाव खट्किइरहने छ ।” शिक्षक सुचिता देवको कथन भने यस्तो थियो –“महावीर माविको इतिहासमा सबैभन्दा बढी शिक्षक अभाव रहेको समयमा नन्दलाल सर आउनुभयो र खडेरीमा पानीको थोपाको झैँ महत्व देखाउनुभएको थियो । शिक्षक भनेर बिदा दिइएको हैन, पद बढेकाले मात्र पर्तिर सर्न दिइएको हो । आफ्नै घर सम्झेर महावीर माविमा फर्केर आउनुहोला ।”
शिक्षक ज्योति कुमार यादवले शैक्षिक क्षेत्रका असली गुरुको संज्ञा दिँदै भन्नुभएको थियो– “आचार्य सर विद्यार्थीहरूलाई सही दिशानिर्देश गर्ने सक्षम शैक्षिक हस्ताक्षर हुनुहुन्छ ।” बालविकास शिक्षक रामकुमारी यादवले गीतमा भाका दिनुभएको थियो–
गाम छोडके नही जाइयो, ऐसा घरनही मिलेगा
इस स्कूल छोडिके नही जाइयो, स्कूल नही मिलेगा ।
दिल तोडके नही जाइयो, हम जैसा आपको साथी नही मिलेगा ।
गीति भाकासँगै उहाँले मेरो उपस्थिति सुकेको रूखमा हरियो पात पलाएझैँ भएको भन्ने विचार जाहेर गर्नुभएको थियो ।
कक्षा– ९ र १० का छात्रछात्राले सामुहिक रूपमा भाका दिँदै भनेका थिए– ‘सम्झना छ छोडी जानेलाई, याद आउँछ पढाइ बेलामा ।’ कार्यालय सहयोगी विनोद यादवले सुखदुःखको यात्रीसँगको विछोड सहन गाह्रो परेझैँ गाह्रो परेको अनुभूतका साथ भन्नुभएको थियो – “नन्दलाल सरसँग पहिलो जम्काभेट गर्ने व्यक्ति नै मै थिएँ । उहाँलाई जान दिने मन पटक्कै छैन । नियमलाई मिच्न नपाइने हुनाले रवाना दिन वाध्य छौँ । राम्रा र हाम्रा दुबै गुण भएका तपाईंजस्ता शिक्षक पाउनै गाह्रो छ । सप्तरी आउँदा विषहरियालाई नभुल्नुहोला ।”
बालविकास शिक्षक रेखाकुमारी ठाकुरको कथन थियो– “सर ! जब कर्जन्हाबाट छुट्टी मिल्छ, यहाँ आएर विद्यार्थीहरूको पीरमार्का सम्बोधन गर्दिनुहोला । हामीले सधैँ तपाईंको छत्रछहारी पाइरहौँ ।” कक्षा–७ की छात्रा नीति देवले भनिन्– “राम्रो मान्छे हुन अरूलाई गुण लगाउन सक्नुपर्छ । आचार्य सरले हाम्रो ज्ञानक्षेत्र फराकिलो पार्न अतुलनीय योगदान दिनुभयो । उहाँको दिनानुदिन प्रगति हुँदै जाओस् । भगवान् समक्ष यही प्रार्थना गर्दछु ।” कक्षा– ८ का सनोज ठाकुरले दुखेसो पोखे–“सरको मार्गनिर्देशमा ठूलो प्रगति गर्ने मेरो धोको अधुरै रहने भयो ।” कक्षा–१० का महेश कुमार रामले भनेका थिए– “सर अचानक जाँदा मर्माहत भएको छु । यद्यपि उहाँको आशीर्वाद पाइरहने कुरामा ढुक्क छु ।”
विदाई समारोहका सभाध्यक्ष समेत रहनुभएका विद्यालयका प्रधानाध्यापक अशोक कुमार यादवको कथन यस्तो थियो – “नन्दलाल आचार्य सरलाई मैले आफ्नो दाहिने हात सम्झेको थिएँ । उहाँले विद्यालयको शैक्षिक समृद्धिमा अनुकरणीय कार्य गर्नुभएको छ । हरबखत विद्यार्थी बीचमै रमाउन चाहने उहाँको शैक्षिक चिन्तन र दृष्टिकोण हाम्रा लागि मात्र नभई शैक्षिक जगत्कै लागि अनुकरणीय हुनसक्छ । विद्यालयको अतिरिक्त क्रियाकलापको पाटोलाई व्यवस्थित र संस्थागत विकास गर्न खेलेको भूमिका प्रशंसनीय छ । यो उहाँको पहिलो सरकारी विद्यालय हो र अन्तिम विद्यालय पनि बनोस् । यिनै शुभेच्छाका शब्दसहित प्रगति पथमा अघि बढिरहनुस् शुभकामना छ ।”
सबै शिक्षक र विद्यार्थीका शुभेच्छाका शब्द, फूल र अविरले पुरिँदा शारीरिक रूपमा असहज अनुभूत भए पनि मप्रतिको विश्वास र आदर भावले म श्री महावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरीको सदा ऋणी भएँ । मेरो बुझाइमा मैले आफूसँग भएको थोरै महावीरलाई दिएँ । धेरै दिन सकिनँ । कारण, म भाषिक रूपले अल्पज्ञ थिएँ । नाजुक शैक्षिक वातावरणको सिकार थिएँ । अन्य सामाजिक परिपाटीले त्रस्त थिएँ । जे गरेँ कक्षामा उपस्थित विद्यार्थीको होस् फर्काउन गरेँ । परीक्षामा मात्र उपस्थित हुने र उत्तीर्णको मात्र अभिलाषा राख्ने बहुसङ्ख्यक विद्यार्थीको हकमा कुनै काम गर्न सकिनँ ।
अब म सिरहा स्थित श्री जनसेवा उच्च मावि, कर्जन्हा–४ मा नेपाली विषय शिक्षक बनेर पाइलो टेक्दै छु । प्रारम्भिक अनौपचारिक बातचित÷भलाकुसारीमा प्रधानाध्यापक लक्ष्मी हाई र अन्य शिक्षक गणले दर्शाउनुभएको आत्मीयपनबाट असाध्यै प्रभावित छु । साथै विद्यालयका विद्यार्थीहरूको जिज्ञासुपन, स्वच्छ कार्यकलाप र अनुशासन नियाल्दा शैक्षिक समृद्धिमा ठोस योगदान दिन सकिएला भन्ने लागेको छ ।
अन्तमा, सप्तरीलाई कार्यथलो बनाएर पत्रकारितामा राष्ट्रिय पहिचान बनाइरहेका जुझारु पत्रकार श्यामसुन्दर यादवको फेसबुके विचारलाई नेपालीकरण गर्दै लेख अन्त गर्दछु । उहाँकोे कथन थियो–
उदयपुर जिल्ला घर भएका साहित्यकार नन्दलाल आचार्य विगत अढाई दशकदेखि सप्तरीलाई अध्ययन र शिक्षणको कर्मथलो बनाएर रहनुभएको थियो । मूलतः मैथिली र नेपाली भाषमा कलम चलाउँदै आउनुभएका आचार्य हालै सिरहा स्थित श्री जनसेवा उच्च मावि, कर्जन्हा–४ मा नेपाली विषय शिक्षक बनेर स्थानान्तरण हुनुभएको छ । प्रगतिशील साहित्य फाँटका समेत एक हस्ताक्षर नन्दलालजी सिरहा जाने कुराले मेरो आँखाभरि आँसु भएको छ । यही जिल्लाको हावापानीमा बढे, पलेर आफ्नो विद्वताले साहित्यमा महत्वपूर्ण देन दिनुभएको छ । उहाँको योगदानको म पनि ऋणी छु । यस ठाउँका दलित, गरिव र निमुखा परिवार÷वस्तीका पीडालाई उहाँले साहित्यले रंगाउनुभएको छ । बालविवाह, दहेजप्रथा, सामन्ती शोषण–दमन विरूद्ध उहाँले कविता, गजल, गीत, नाटक, निबन्ध, समसामयिक लेख रचना गर्नुभएको छ । उहाँको साहित्यिक योगदान मेरो जीवनमा पनि सञ्जीवनीतुल्य छ ।
राजा ज्ञानेन्द्रको कु एवं जनयुद्ध कालमा तत्कालीन नेपाली सेनाको चरम दमनको बाबजुत साहित्यलाई अगाडि बढाउने नन्दलालजीको अभाव सप्तरीले महसुस गरिरहने छ । उहाँलाई सप्तरीले भुल्न मिल्दैन । यहाँका बालबालिकाहरूको मनमस्थिष्कमा उहाँ सदा स्मरणीय हुनुहुने छ । मनले त मानी रहेको छैन तथापि उहाँ सप्तरी छाडेर सिरहा गइरहनुभएको छ । सिरहावासीले पनि साहित्यिक र विद्वताको प्रतिमूर्ति हिरालाई अवश्य पहिचान गर्ने छ भन्ने मैले विश्वास लिएको छु । कारण नन्दलालजी सप्तरीको दिनाभद्री भूमिबाट सिरहाको सलहेश भूमिमा गइरहनुभएको छ । त्यस ठाउँको साहित्य क्षेत्र अरू जगमगिने छ भन्ने विश्वास छ । सप्तरीलाई श्रद्धाले याद राखीराख्न नन्दलालजीसँग विन्ती छ । – शिक्षक, श्री जनसेवा उच्च मावि, कर्जन्हा–४, सिरहा ।