सुर्खेत । ‘कोभिड–१९ को परिचयसहित यसको प्रभाव ग्रामीण वा सहरी कुन क्षेत्रमा बढी छ, प्रभाव कम गर्न तपाईं के सुझाव दिनुहुन्छ ?’ घरमै बसेर परीक्षा दिइरहेका गणेशबहादुर ओलीलाई सुरुमा त लाग्यो– यति सजिलो पनि प्रश्न ! जब जवाफ खोज्नतिर लागे तब उनलाई महसुस भयो– उत्तर लेख्न त एउटा पिरियड पढेजस्तो हुँदो रहेछ ।

‘सेलेबसमा कोभिड–१९ बारे च्याप्टर नभए पनि समसामयिक विषय भएकाले मौलिक प्रश्न बनेर आएछ,’ उनले भने, ‘इन्टरनेटको माध्यमबाट विषयवस्तु खोजेर मैले प्रश्नको जवाफ राम्रै दिएँ, त्योभन्दा खुसीको कुरा परीक्षा दिँदै कोरोनाबारे पढ्ने अवसर पनि पाएँ ।’

ओली मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा ‘ग्रामीण विकास’ का पाँचौं सेमेस्टरका विद्यार्थी हुन् । उनले एक साताअघि अनलाइनबाटै त्रैमासिक परीक्षा दिएका थिए । अन्य विश्वविद्यालयहरू परीक्षा र पढाइ सञ्चालनबारे अन्योलमै रहेका बेला एमयूमा करिब ६ हजार विद्यार्थीले परीक्षा दिइसकेका छन् । ‘टर्मिनल परीक्षाबाट हामी निकै उत्साही भएका छौं, त्यसैले फाइनल परीक्षाको तयारी भइसकेको छ,’ विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले भने, ‘हाम्रो शैक्षिक क्यालेन्डर रोकिएको छैन, बरु अझ गतिशील बनेको छ ।’

उपकुलपति सिंहका अनुसार लकडाउनको सुरुको केही समय पढाइ प्रभावित भए पनि पछिल्लो समय भर्चुअल माध्यमबाट अध्यापन भएको थियो । विश्वविद्यालयको केन्द्रीय क्याम्पस र १० वटा आंगिक क्याम्पसमा समेत गरी करिब ७ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । तीमध्ये झन्डै ८० प्रतिशत एक साताअघि सकिएको त्रैमासिक परीक्षामा सामेल भएको उनको भनाइ छ । लकडाउन सुरु भएयता मात्र परीक्षा व्यवस्थापन कार्यालयले ४९ वटा परीक्षाको नतिजा प्रकाशन गरेको उपकुलपति सिंहले बताए ।

असोज १७ देखि अन्तिम परीक्षा

एमयूले त्रैमासिक परीक्षा सकिएको एक सातामै अन्तिम परीक्षाको तालिका प्रकाशनको तयारी गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा. आनन्दप्रसाद सुवेदीका अनुसार पहिलो चरणमा असोज १७ देखि कात्तिक ६ गतेसम्म स्तातक तह सातौं सेमेस्टर, स्नातकोत्तर तह तेस्रो सेमेस्टर र व्यवस्थापनतर्फ स्नातकोत्तर तह चौथो सेमेस्टरको फाइनल परीक्षा हुनेछ । लिखित परीक्षा सकिएपछि मंसिर ८ देखि डेढ सातासम्म ‘प्रोजेक्ट वर्क’ र व्यावहारिक सीप परीक्षणको लागि समय दिइने उनको भनाइ छ । दोस्रो चरणमा स्नातक तह पहिलो, तेस्रो र पाँचौं सेमेस्टर तथा स्नातकोत्तर तह पहिलो सेमेस्टरको परीक्षा सञ्चालन गरिने उनले बताए । ‘हामीले स्नातक तह सातौं र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा तत्कालै सञ्चालन गर्न सकेनौं भने विद्यार्थीको एकेडेमिक इयर नै प्रभावित हुन्छ,’ उनले भने, ‘त्यसैले अनलाइनबाट अध्ययन गरेको आधारमा अनलाइन माध्यमबाटै परीक्षा लिन लागेका हौं ।’ यी सबैमा गरेर करिब एक हजार जना परीक्षार्थी सहभागी हुने उनले बताए ।

त्रैमासिक परीक्षामा विद्यार्थीले कम्प्युटरमा लेखेर इमेल गरेका थिए । फाइनल परीक्षा भने त्योभन्दा फरक शैलीमा हुनेछ । बिहान ८ बजे इमेलबाट परीक्षार्थीलाई प्रश्न पठाइनेछ । सोही दिन साँझ ४ बजेसम्म प्रश्नको जवाफ लेखेर दिइसक्नुपर्नेछ । यसका लागि आइतबारदेखि १० दिन विद्यार्थीले परीक्षा फारम भर्नेछन् । फारममा मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ । इमेल नभएका विद्यार्थीले पनि १० दिनभित्र आफ्नो ‘एकाउन्ट’ खोलिसक्नुपर्ने उपकुलपति सिंहले बताए । ‘सबै प्रक्रिया पूरा भएपछि परीक्षार्थीले ‘ए–फोर’ साइजको कागजमा उत्तर लेखेर ‘पीडीएफ’ फाइल बनाई इमेल गर्नुपर्नेछ,’ उपकुलपति सिंहले भने, ‘कम्प्युटरमा टाइप गरेर पठाउँदा एउटैले कपी गर्ने सम्भावना टार्न यस्तो गर्न खोजिएको हो ।’ कर्णालीको भौगोलिक विकटतालाई ख्याल गर्दै ८ घण्टाको समय तोकिएको उनले बताए ।

एमयूले यसरी परीक्षा सञ्चालन गर्न प्रश्नको शैली भने परिवर्तन गर्नेछ । १५ अंकभारका दुईवटा सिर्जनात्मक तथा समस्या समाधानमूलक प्रश्न, ५ अंकभारका ४ वटा विषयगत प्रश्न र १ अंकभारका १० वटा वस्तुगत प्रश्न राखिने परीक्षा व्यवस्थापक डा. सुवेदीले बताए । ‘यसो गर्दा परीक्षार्थीले अगाडि किताब राखिदिए पनि हुबहु लेख्न सक्दैनन्,’ उनले भने, ‘परीक्षार्थीले पाठ्यक्रमबाट निर्धारित विषयवस्तुका साथै आफ्नो मौलिकताको पनि प्रयोग गर्नेछन् ।’

पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक भानुभक्त अधिकारी पनि अनलाइन माध्यमबाट लिइएको परीक्षामा विद्यार्थीको सीप तथा ज्ञान परीक्षणमा खासै फरक नपर्ने बताउँछन् । ‘सेमी–टेक्निकल’ (६० प्रतिशत व्यावहारिक र ४० प्रतिशत सैद्धान्तिक) विषयको हकमा यस्तो परीक्षाशैलीले थप सहजता गराएको उनको भनाइ छ । ‘परीक्षामा सैद्धान्तिक भार बढी भएका (सामान्य विषय) का लागि भने प्रश्नपत्र निर्माणदेखि परीक्षणसम्म ध्यान पुर्‍याउनैपर्छ,’ उनले भने, ‘यसका साथै परीक्षाको मर्यादा र मापदण्डलाई पनि कायम गर्नुपर्छ ।’

शिक्षाविद् विद्यानाथ कोइराला पनि कोरोना संकटलाई देखाएर अलमलमा पर्नुभन्दा पढाइ र परीक्षाको वैकल्पिक उपायतिर लाग्नु उत्तम हुने बताउँछन् । ‘विद्यार्थीलाई कि तिमीहरूको शैक्षिक वर्ष खेर गयो भने भन्नुपर्‍यो, नभए परीक्षा सञ्चालन गर्नुको विकल्प छैन,’ उनले भने, ‘एमयूले थालेको काम अरूले पनि सिकुन्, बरु यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे सोच्नुपर्छ ।’ विद्यार्थीले घरमै बसेर अभिभावकसँग सोधेर, पुस्तकका पाना पल्टाएर वा अन्य कुनै माध्यमबाट ज्ञान खोजेर सही जवाफ दिन्छ भने त्यसलाई अन्यथा मान्न नहुने उनले बताए । बरु समान र हुबहु जवाफ आएको खण्डमा ती उत्तरको नम्बर काट्ने मापदण्ड राख्नुपर्ने उनले सुझाव दिए ।

६ महिनाको सर्भे हुँदै

विश्वविद्यालयले पछिल्लो ६ महिना अवधिको अध्यापन र परीक्षासम्बन्धी सर्वेक्षण पनि थालेको छ । अनलाइनबाट पढाइ भएको र परीक्षा पनि अनलाइनबाटै भएकाले त्यसको प्रभावकारिता, सकारात्मक तथा नकारात्मक पक्षबारे अध्ययन गर्न सर्वेक्षण थालिएको उपकुलपति सिंहले बताए । ‘सर्भे रिपोर्टले हामीलाई तत्कालै हुन लागेको परीक्षामा सुधारको मौका दिनुका साथै तत्कालीन र दीर्घकालीन शैक्षिक रणनीति बनाउन पनि सघाउ पुर्‍याउने अपेक्षा गरेका छौं,’ उपकुलपति सिंहले भने, ‘हामी कोरोनाले निम्त्याएको संकटमा चुप लागेर बस्नुभन्दा प्रतिकूलतालाई चिर्दै नयाँ रणनीतिका साथ अघि बढ्न खोजिरहेका छौं ।’

उपकुलपतिले समेत पढाउने

एमयू कार्यकारी परिषद्ले पदाधिकारीले अनिवार्य रूपमा पढाउनुपर्ने निर्णय पनि गरेको छ । ६ महिनाअघि उपकुलपति भएर आएका सिंहले ओभरटाइम खाने प्रवृत्तिको अन्त्य गर्न र पदाधिकारीको जिम्मेवारीमा रहेका प्राध्यापकलाई प्राध्यापन पेसासँग जोडिराख्न यस्तो निर्णय गरिएको बताए ।

उपकुलपति र रजिस्ट्रारले महिनामा २ कक्षा, डिन, कार्यकारी निर्देशक वा सोसरहका पदाधिकारीले महिनामा ४ कक्षा, सहायक डिनले महिनामा ६ कक्षा, क्याम्पस प्रमुखले महिनामा ८ कक्षा र सहायक क्याम्पस प्रमुखले नियमितसरह कक्षा लिनुपर्ने निर्णय गरिएको छ । विश्वविद्यालयका प्रवक्ता डिल्लीबहादुर सिंहका अनुसार विश्वविद्यालयमा स्थायी, करार वा आंशिक शिक्षकका रूपमा नियुक्ति गर्दा एमयूबाटै गोल्ड मेडलिस्ट, विशिष्ट श्रेणी वा प्रथम श्रेणी हासिल गरेकालाई प्राथमिकता दिने निर्णयसमेत गरिएको छ । सिंहले साढे २ वर्षभित्र सम्पन्न गर्ने गरी भौतिक पूर्वाधार विकासको योजना पनि तयार गरेका छन् । विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने गरी तयार कार्ययोजना पूरा भए एमयू अन्तर्राष्ट्रिय स्तरकै नमुना बन्ने उनको भनाइ छ ।

कलेन्द्र सेजुवालले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्