पर्वत । पर्वतका विद्यालय पनि केही दिनयता धमाधम खुल्न थालेका छन् । स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालनमा आउन थालेका हुन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड, भौतिक दूरी, स्वास्थ्य परीक्षणलगायत प्रक्रिया पुर्‍याउनुपर्ने भनिए पनि गत चैतअघि जसरी नै सामुदायिक विद्यालय सामान्य अवस्थामै खुलेको पाइएका छन् ।

पर्वतका सातवटै स्थानीय तहका सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् । कतिपय विद्यालयले पूर्ववत् रूपमा १० देखि ४ बजेसम्म नै कक्षा सञ्चालन गरेका छन् । पूर्ण रूपमा खुलेका कतिपय विद्यालयले भने अहिलेसम्म विद्यार्थीलाई आलोपालो गर्दै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गरेको बताएका छन् । कतिपय विद्यालयले भने अब वार्षिक परीक्षाको मिति नजिकिएको र शैक्षिक सत्र गाभ्न नमिल्ने भएपछि कोर्ष सर्क्नकै लागि सबै विद्यार्थी बोलाउनुपरेको बताएका छन् ।

कोभिडका बिरामी समुदायस्तरमै देखिइरहेको अवस्थामा विद्यालय खुल्नाले जोखिम अझै बढ्ने भन्दै अगुवाले चिन्ता व्यक्त गरेका छन् । ‘स्वास्थ्यकर्मी र कुश्माकै समुदायका व्यक्तिमा संक्रमण देखिन छाडेको छैन,’ पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले भने, ‘तिनै समुदायका विद्यार्थी विद्यालयमा जाँदा संक्रमणको जोखिम अझै बढ्छ । विद्यालय खोल्न हतार नगरेको भए हुन्थ्यो ।’

स्वास्थ्य मापदण्डको ख्याल नगरी विद्यालय खोल्न नहुने पर्वत अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिशिर देवकोटाले बताए । शिक्षा मन्त्रालयले कोरोना संक्रमणको अवस्था मूल्यांकन गरेर आआफ्नो क्षेत्रभित्रका विद्यालय सञ्चालनको निर्णय लिन स्थानीय तहलाई जिम्मेवारी सारेपछि शैक्षिक संस्थाहरू क्रमिक खुलेका हुन् । शिक्षकहरूले अब नियमित कक्षा सञ्चालन गर्नुको विकल्प नभएको बताएका छन् ।

अगन्धर तिवारीले कान्तिपुरमा खबर लेखेका छन् ।

 

प्रतिकृया दिनुहोस्