मगरभाषाको पढाइ ठप्प

Avatar photo

Byएजुकेशन पाटी

४ पुष २०७८, आईतवार

सल्यान । छत्रेश्वरी र कालीमाटी गाउँपालिकाका २ विद्यालयमा मातृभाषा संरक्षणका लागि सञ्चालन गरिएको मगर भाषाको पढाइ बन्द भएको छ । आर्थिक समस्याका कारण सामुदायिक विद्यालयहरूमा मगर भाषाको कक्षा बन्द भएको हो ।

छत्रेश्वरी गाउँपालिका–५ स्थित पृथ्वी आधारभूत विद्यालय र कालिमाटी गाउँपालिका–५ दम्दवालीको जनता माध्यमिक विद्यालयमा २०६७ देखि मगर भाषाको कक्षा सञ्चालन गरिएको थियो । माविले १ देखि कक्षा ५ सम्मका बालबालिकालाई र पृथ्वी आधारभूत विद्यालयले १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई खाम भाषा पढाउँदै आएको थियो । मातृभाषाको कक्षा बन्द भएपछि विद्यालयमा अध्ययनरत ५ सय बढी बालबालिका प्रभावित भएका छन् । ‘आफ्नै भाषामा पढाइ भए मातृभाषाको संरक्षण पनि हुन्थ्यो,’ स्थानीय अभिभावक बेलबहादुर घर्तीले भने, ‘कक्षा सञ्चालन हुँदा बालबालिकाले घरमा र साथीहरूसँग आफ्नै मातृभाषामा कुराकानी गर्थे, अब उनीहरूले मातृभाषा बिर्सिने भए ।’

तत्कालीन जिल्ला विकास समितिले मगरभाषामा कक्षा सञ्चालनका लागि विद्यालयहरूलाई वार्षिक ५० हजार रुपैयाँ अनुदान दिन्थ्यो । त्यसैबाट विद्यालयहरूले १/१ जना शिक्षक भर्ना गरी मगरभाषामा कक्षा सञ्चालन गरेका थिए । स्थानीय तहले बजेट नदिएपछि पठनपाठन बन्द गर्नुपरेको जनता मावि दम्दवालीका शिक्षक सुरेशकुमार गाहामगरले बताए । उनका अनुसार कक्षा बन्द भएपछि पाठ्यक्रम विकास केन्द्रबाट किनेर ल्याएका पाठ्यपुस्तक त्यत्तिकै खेर गएका छन् । दम्दावालीका मगर समुदायले पनि भाषा संरक्षणमा खासै चासो नदेखाएको उनको गुनासो छ । कालीमाटी गाउँपालिका–५ दम्दवालीका १ सय ७५ घरमध्ये ८५ घर मगर समुदायका छन् ।

लोप हुँदै गएको मगर भाषाको संरक्षणका लागि कक्षा सञ्चालन गरे पनि निरन्तरता दिन नसकेको पृथ्वी आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर बुढाले बताए । उनले कक्षा सञ्चालनका लागि छुट्टै निर्माण गरेको भवनसमेत जीर्ण बनेको जानकारी दिए । उनका अनुसार विद्यालयमा ५७ विद्यार्थी छन् । त्यसमध्ये झन्डै ९० प्रतिशत विद्यार्थी मगर बालबालिका छन् । ‘स्थानीय तहले मातृभाषा संरक्षणमा वास्तै गरेन,’ उनले भने, ‘विभिन्न निकायमा बारम्बार बजेट विनियोजन गर्न आग्रह गरिए पनि बेवास्ता भयो, शिक्षकलाई तलब खुवाउन नसक्दा अहिले कक्षा नै बन्द गर्नुपरेको छ ।’

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्