सिमकोट । हुम्लामा कोरोना भाइरसको महामारीका कारण लामो समय शिक्षण शिक्षक अवरुद्ध भएपछि विद्यार्थीको पढ्ने बानी सुधार गर्न सिकाइ सहजीकरण कक्षा शुरु गरिएको छ । विद्यार्थीहरुले बिर्सदै गएको पठन संस्कृति लाई पुनर्ताजगी गराउँदै पुनः पढ्ने बानी बसाल्न यस्तो कक्षा शुरु गरिएको हो ।

कोरोना कहरले लामो समय विद्यालयमा पठन–पाठन कार्य बन्द हुँदा विद्यार्थीले अध्ययन गर्ने नबिर्सिउन भन्नका लागि यस्तो कक्षा सञ्चालन गरिएको जनाइएको छ ।

चंखेली गाउँपालिका वडा नम्बर–४ का गोपाल शाहीले साना नानीले लेख्न र पढ्न बिर्सिएको बेला यो कक्षा सुरु भएपछि विद्यार्थीलाई सहज भएको बताए । कक्षा दुईमा अध्ययन गर्ने नानीहरुले लेख्न बिर्सिएका र अहिले ढिलो गरि लेख्न थालेको बताउदै अबको सिकाइ सहजीकरण कक्षाले त्यो समस्या समधान गर्ने उनले बताए ।

साना–साना नानीले लामो समय पठन–पाठन गर्न नपाएर बिर्सिन सक्ने समस्या आउन सक्ने देखिएपछि यो कक्षा अभ्यासकै लागि सञ्चालनमा ल्याइएको हो । कोरोनाले गर्दा सबै तहको विद्यार्थीहरुलाई सिकाइमा बाधा पुर्याएपछि विकल्पका रुपमा सिकाइ सहजीकरण कक्षा हुम्लामा पहिलो पटक सञ्चालनमा आएको छ ।

गुड नेवर्स इन्टरनेस्नलका जिल्ला संयोजक वीरेन्द्र चौधरीले पहिलो पटक नमूनाको रुपमा आठ स्थानमा एक साथ यो कक्षा सुरु गरिएको बताए । हाललाई यी कक्षा प्राथमिक तहको विद्यार्थीलाई केन्द्रित गरेर सञ्चालन गरिएको छ ।

एउटा कक्षामा बीस जना विद्यार्थीलाई दुई मिटरको दुरीमा राखेर कक्षामा सहभागिता गराउने व्यवस्था गरिएको छ । विद्यार्थीलाई सिसाकलम, इरेजर, कटर र रजिस्टर दिएर लेख्ने मनमा लागेको कुरा लेख्न लगाईदै आएको छ । यसका लागि प्रतिकक्षा एक जना सहजकर्ता पनि परिचालन गरिएको छ ।

चंखेली, सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिकामा यी कक्षा सञ्चालनमा आएका छन् । यो कार्यक्रम प्रभावकारी भएपछि यसलाई आवश्यकताका आधारमा विस्तार पनि गरिएको छ । यसको सञ्चालन कार्य विधि पनि तयार गरिएको छ । विद्यार्थी, अभिभावक र सहजकर्तासँग समन्वय गर्ने कक्षाको व्यवस्था गर्ने काम स्थानीय गैर सरकारी संख्या किडार्क नेपालले गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्