काठमाडौँ । शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरका शाखा अधिकृत खुलानाथ गौतम, भक्तपुर चाँगुनारायण–८ स्थित ठूली ब्रह्मायणी आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबहादुर राउत र शिक्षक रामराजा बुढाथोकीको मिलेमतोमा कागजात किर्ते गरी अनिवार्य अवकाशपछि पनि शिक्षकले तलब सुविधा लिएको पाइएको छ ।

२०७७ साउन ४ मै अनिवार्य अवकाश भएका शिक्षक बुढाथोकीले शिक्षा कार्यालयसम्म कागजात किर्ते गरी तलबसहित सुविधा लिँदै आएको पाइएको हो । उनले स्थानीय तहको शिक्षा शाखा, शिक्षा एकाइ र शिक्षक किताबखानालाई समेत गुमराहमा राखी एक वर्षभन्दा बढीको तलब सुविधा लिएर २०७८ साउन १६ को अवकाशपत्र बनाएका हुन् । अवकाशपछि पनि तलब सुविधा लिन प्रअ राउत र शिक्षा एकाइका अधिकृत गौतमले बुढाथोकीलाई सघाएका थिए ।

राउतले २०७७ साउनमै उमेर हदका कारण अनिवार्य अवकाश पाएका बुढाथोकीले २०७८ भदौसम्म पठनपाठन गराएको विवरण शिक्षा शाखा र एकाइमा पठाएका छन् । विवरणअनुसार अवकाशपछि पनि बुढाथोकीले राज्यबाट साढे ४ लाखभन्दा बढी तलब लिएको देखिन्छ । सेवा अवधि एक वर्ष थपिँदा गत वर्ष बढेको तलबसमेत जोडिएर पेन्सन वृद्धि हुन्छ । जबकि उनले बढी तलब लिएको अवधिमा कोरोना महामारीका कारण अधिकांश समय विद्यालय बन्द थियो ।

शिक्षक संकेत नम्बर १६३१० रहेका प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक बुढाथोकीले २०७७ चैतमा एकाइबाट २०७७ साउन ४ देखि अनिवार्य अवकाश पाएको पत्र बनाएका थिए । उक्त पत्र लिएर उनी किताबखाना पुग्दा चैतसम्म आठ महिनाको बढी तलब लिएकाले असुलउपर गर्नुपर्ने देखिएको थियो । बुढाथोकीले साउनमै अनिवार्य अवकाश पाए पनि प्रअ राउतले चैतसम्म तलब खुवाउन स्थानीय तहमा माग फाराम पठाएको खुलेको छ । त्यही आधारमा स्थानीय तहले बुढाथोकीलाई अवकाशपछि पनि तलब उपलब्ध गराउँदै आएको थियो । उनको नागरिकता, सिटरोल र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति २०१७ साउन ४ छ । त्यस हिसाबले शिक्षक नियमावलीअनुसार उनले अवकाश पाउने २०७७ साउन ४ मै हो ।

चैतसम्मको बढी लिएको रकम फिर्ता गर्नुको सट्टा २०७८ भदौ १६ सम्म उनले तलबसुविधा लिँदै आएको शिक्षा एकाइले जनाएको छ । अवकाशपछि लिएको तलब फिर्ता गर्नुपर्ने भएपछि एकाइका अधिकृत गौतमको मिलेमतोमा बुढाथोकीले अवकाश पाउने मिति परिवर्तन गरी २०७८ साउन १६ कायम गरेको पाइएको छ । एकाइले चैतमा शिक्षकलाई अवकाश पत्र दिएर स्थानीय तहको शिक्षा शाखालाई समेत बोधार्थ पठाएको थियो तर शाखाले शिक्षकको अवकाशको ख्याल नगरी प्रअले माग फाराम बुझाएकै आधारमा तलब निकासा दिएको हो । नगरपालिकाको शिक्षा शाखाले प्रअले सदर गरेको माग फाराम र एकाइले पठाएको अवकाश पत्रलाई रुजु नगरी लापरबाहीपूर्ण तरिकाले तलब निकासा गरेको देखिन्छ । एकाइ प्रमुख रमेशप्रसाद मैनालीले किर्ते गरी शाखा अधिकृतले जारी गरेको अवकाशपत्र रद्द गरिएको जानकारी दिए । ‘के कसरी यस्तो हुन गयो, छानबिनकै क्रममा छौं,’ उनले भने ।

मन्त्रालयका अनुसार शिक्षा सचिव रामप्रसाद थपलियाले कागजात किर्ते गर्ने अधिकृत, प्रअ र शिक्षकलाई विभागीय कारबाहीको प्रक्रिया थाल्न एकाइलाई निर्देशन दिएका छन् । चाँगुनारायण शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले भूलवश अवकाशपछि पनि तलब–सुविधा गएको भए असुलउपर गरिने जनाए । ‘कहिलेकाहीँ अवकाशको पत्र आइनपुग्दा भूलवश कमीकमजोरी भएको हुन सक्छ,’ उनले भने, ‘प्रअले पठाएको माग फारामको आधारमा हामीले तबलसुविधा निकासा दिने हो, ६ महिनाअघि नै अवकाश हुने शिक्षकको बारेमा विद्यालयलाई जानकारी गराइएको हुन्छ, प्रअले त्यसपछि माग फाराम भरेर पठाउनु हुँदैन ।’

शिक्षक बुढाथोकीले भने नागरिकता, सिटरोल र शैक्षिक प्रमाणपत्रमा फरक/फरक जन्ममिति भएकाले दुईवटा पत्र बनाउनुपर्ने बाध्यता आएको जनाए । तर, एकाइका अधिकृत गौतमले जारी गरेको दुवै पत्रमा नागरिकता, सिटरोल र शैक्षिक प्रमाणपत्रमा शिक्षक बुढाथोकीको जन्ममिति एउटै रहेको उल्लेख छ । ‘मेरो अवकाश मिति २०७७ साउन नै हुने भयो, २०७८ भदौसम्म लिएको तलब फिर्ता गर्नुपर्ने कुरा आएको छ,’ उनले भने । अधिकृत गौतमले एकाइ प्रमुख कार्यालयमा उपस्थिति भएकै दिन निमित्त प्रमुखको हैसियतले गैरकानुनी रूपमा अवकाशको पत्र बनाएको एक कर्मचारीले बताए । गैरकानुनी कार्य गरेको भेटिएपछि अधिकृत गौतमसँग रहेको एकाइको छाप शुक्रबार जफत गरिएको छ ।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन्।

प्रतिकृया दिनुहोस्